• १० मंसिर २०८१, सोमबार

निकुञ्ज पर्यटन

blog

सार्वजनिक भएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० को जेठ महिनासम्ममा चितवन राष्ट्रिय निकुञ्जमा लगभग स्वदेशी तथा विदेशी गरेर दुई लाख ५० हजार भन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । यी पर्यटकमध्ये एक लाख ९८ हजार ८२६ जना नेपाली छन् भने ३५ हजार ८३६ जना सार्क मुलुकका छन् । अन्य मुलुकका २९ हजार ५७६ जना छन् । यी पर्यटकले प्रवेशबापत तिरेको राजस्व करिब १७ करोड ३० लाख रुपियाँ रहेको छ । 

हुन त कोरोना महामारी मत्थर भएपछि नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको सङ्ख्या जसरी बढ्दै गएको देखिन्छ, त्यसरी नै आन्तरिक पर्यटकको सङ्ख्या पनि बढिरहेको छ तर चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्न आएका विदेशी पर्यटकको सङ्ख्याभन्दा आन्तरिक पर्यटकको सङ्ख्या अत्यधिक हुनुमा भौगोलिक हिसाबले यो निकुञ्ज नेपालको मध्य भागमा रहनु पनि मुख्य कारण मान्न सकिन्छ । यस्तै केही वर्षदेखि नेपाली पनि राष्ट्रिय चाडबाड र बिदामा घरमै बसेर चलचित्र हेर्ने, नातागोता र आफन्तलाई बोलाएर भोजभतेर गर्ने, जुवातास खेल्ने तथा अन्य काममा लाग्नुभन्दा देश–देशावरको भ्रमणमा निक्लने क्रम बढ्दै गएको छ । 

नेपालको आन्तरिक पयर्टन प्रवर्धनमा पनि यसले ठुलो टेवा मिलेको छ । भ्रमणबाट आफ्नो देशको जातीय विविधता, भाषिक विविधता, सांस्कृतिक विविधता, भौगोलिक विविधता प्रत्यक्ष हेर्न, देख्न र अनुभव गर्न सुनौलो अवसर पनि मिलेको छ । जे होस्, पछिल्लो समय नेपाली पनि ठुलो सङ्ख्यामा देश–विदेश घुम्ने प्रचलन बढ्दै गएको छ । 

नेपालीले आफ्नो देश भ्रमण गर्न जाँदाभन्दा विदेश जाँदा धेरै खर्च गर्ने गरेको पनि पाइन्छ । स्वदेश घुम्दा पनि विदेशी पर्यटकभन्दा नेपाली पर्यटकले धेरै खर्च गर्ने गरेका छन् । यो कुरो नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा रहेका होटल, लज, होमस्टे तथा गेस्ट हाउस सञ्चालकले बताउने गरेका छन् । यस्तो अवस्थामा पनि कतिपय पर्यटन व्यवसायी भने नेपाली पर्यटकलाई पर्यटक नै मान्दैनन् । यस्तो सुन्दा र पढ्दा साह्रै नमिठो लाग्छ । आजभन्दा केही दशक अघिसम्म सोलुखुम्बुको लुक्ला, फाक्दिङ, जोरसल्लेभन्दा माथि आन्तरिक पर्यटकले मात्रै नभएर कुनै कुनै विदेशीले समेत बास पाउन मुस्किल पथ्र्यो । 

पङ्क्तिकार पनि लामो समय ट्रेकिङ मजदुर हुँदै टे«किङ गाइडसम्म काम गरेको हुनाले प्रत्यक्ष देखेको, भोगेको, अनुभव गरेका घटना हुन् यी । साथै नेपालको पूर्वी क्षेत्रको कञ्चनजङ्घा हिमाल क्षेत्र, मकालु वरुण क्षेत्र, मेरा पिक, टासीलाप्चा, अरुणभ्याली, सोलु क्षेत्रका दुध कुण्ड, पिके, रत्नाङ्गे, जुनबेँसी, गोली गुम्बा र खुम्बु क्षेत्रका सगरमाथा आधार शिविर, कालापत्थर, गोक्यो री, रिन्जोला पास, खोङमाला पास, आइल्यान्ड पिक तथा पश्चिमका मनाङ, थोरोङ पास, अप्पर मुस्ताङ, मनास्लु, कालीगण्डकी टे«क, अप्पर डोल्पा, कागमारा पास, मुगु, जुम्ला, हुम्लासम्मको भ्रमण गरेको अनुभव र अनुभूतिहरू पनि पङ्क्तिकारका छन् । 

हुन पनि हो, हामीमध्ये जो कोही आन्तरिक पर्यटक वा विदेशी पर्यटक भएर घुम्न निक्लँदा फगतमा पैसा खर्च हुने मात्रै नभएर जहाँजहाँ जान्छौँ, जुन जुन देशमा जान्छौँ, त्यो ठाउँ वा त्यो देशको भ्रमणका क्रममा विभिन्न जातजाति, भाषाभाषी, त्यहाँको भूगोल, कला, संस्कार, संस्कृति, रहनसहन, चाडपर्व, वेशभूषा, चालचलन आदि हेर्न र देख्न पाउँछौँ । त्यस्तै गरेर आन्तरिक रूपमा आफ्नै देशको विभिन्न क्षेत्रको भ्रमणमा गर्दा विभिन्न भाषा, वेशभूषा, कला, संस्कार, संस्कृति, रहनसहन, चाडपर्व आदि हेर्न, देख्न र महसुस गर्न पाउँछौँ, जुन कुरा हामीले पैसामा जोख्न सक्दैनौँ । 

यसरी हेर्दा नेपाल पर्यटनका लागि अनेकौँ सम्भावना भएका विश्वका केही देशमध्येमा पर्छ । चाहे त्यो भौगोलिक हिसाबले होस्, चाहे त्यो जातीय विविधताको हिसाबले होस्, चाहे त्यो भाषिक विविधताको हिसाबले नै किन नहोस्, चाहे त्यो सांस्कृतिक विविधिताको हिसाबले नै किन नहोस्, चाहे त्यो जैविक विविधताको हिसाबले नै किन नहोस् । विश्वका हरेक देशसँग दाँज्न मिल्ने खालका सम्पदा र सम्भावना नेपालमा छन् । त्यसमा विश्व पर्यटन क्षेत्रमा आएको नयाँ खाले पर्यटन प्रवर्धनमा निकुञ्ज भ्रमण गर्ने विधिलाई पनि एक प्रकारको मान्दै आएको छ विश्वका कैयौँ देशले । 

त्यसैले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई नयाँपन दिने हरसम्भव प्रयास हामीले गर्नै पर्छ । अन्यथा विश्व पर्यटनमा नयाँपनको रसस्वादन गर्ने बानी पर्दै गएका सौखिन पर्यटकले रोजीछाडी आफ्नो गन्तव्य फेर्छन् । त्यसैले विश्वका पर्यटकलाई आकर्षित गर्ने एक उत्तम विकल्प निकुञ्ज पर्यटन पनि हुन सक्छ । 

नेपालका राष्ट्रिय निकुञ्जहरू प्रायः सबै ग्रामीण भेगमा नै छन् । त्यसैले ती राष्ट्रिय निकुञ्ज ग्रामीण क्षेत्रमा बस्ने नेपालीका लागि आर्थिक आधार स्तम्भका रूपमा पनि रहेका छन् । नेपालमा हाल सगरमाथा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, शिवपुरी राष्ट्रिय निकुञ्ज, रारा राष्ट्रिय निकुञ्ज, शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज, मकालु वरुण राष्ट्रिय निकुञ्ज, लाङटाङ राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, शिवपुरी राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज छन् । 

निकट भविष्यमै मेरा पिक (स्थानीयवासीको माग चाहिँ महाकुलुङ राष्ट्रिय निकुञ्ज नाम राख्नु पर्छ भन्ने छ) राष्ट्रिय निकुञ्ज पनि घोषणा हुन लागेको भन्ने सुन्नमा आएको छ । यसरी हेर्दा नेपालमा एक दर्जन राष्ट्रिय निकुञ्ज छन् तर वार्षिक आम्दानीको हिसाब अनि पर्यटकले भ्रमण गर्ने गरेको वार्षिक सङ्ख्याको हिसाबले हेर्दा चाहिँ चितवन राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, लाङटाङ राष्टिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज प्रमुख रहेका छन् । 

अबका दिनमा हामीले निकुञ्ज पर्यटनका साथै सिकार पर्यटन, चराचुरुङ्गी अवलोकन, पर्वतारोहण, बन्जी जम्पिङ, प्याराग्लाइडिङ, जलयात्रा, पदयात्रा, चट्टान आरोहण, माउन्टेन फ्लाइट, माउन्टेन बाइकिङ, हाइकिङ, मेडिटेसन, हेल्थ टुरिज्म, साहसिक पर्यटन, जङ्गल सफारी, क्यानोइङ, हट एयर बेलुनिङ, सांस्कतिक पर्यटन, अध्ययन पर्यटन, स्वस्थ्य उपचार पर्यटन, सिटी टुर, योग, ध्यान, सामाजिक अध्ययन, नेपालमा बसोबास गर्ने विभिन्न जातजातिको धर्म, वेशभूषा, रहनसहन, संस्कार, संस्कृति, भाषा अध्ययन, वन्यजन्तु अवलोकन, सफारी पर्यटन आदि प्रवर्धन गर्नेतर्पm लाग्नु पर्छ ।