काठमाडौँ, असार २२ गते। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको जनाधार जोगाउन गम्भीर ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ। पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै डा. महतले पार्टीको ऐतिहासिक परम्परा, धर्म, संस्कृति, सभ्यता र मूल विचारमा आधारित मतदाता वर्गलाई जोगाउन नसके आगामी २०८४ को निर्वाचनमा कांग्रेस कमजोर बताउनुभयो।“हाम्रो पार्टी पुरानो हो, तर पुराना पार्टीप्रति जनता निराश हुँदै छन्। नयाँ नाममा नयाँ पार्टीहरू बनिरहेका छन्। यस्तो अवस्थामा हाम्रो परम्परागत जनाधार खस्किँदै गएकोप्रति पार्टी गम्भीर हुन जरुरी छ,” उहाँले भन्नुभयो ।
डा. महतले पार्टीले आफ्ना मूल मूल्य–मान्यता, विशेषगरी धार्मिक र सांस्कृतिक पहिचानलाई स्पष्ट र मजबुत रूपमा प्रस्तुत नगरे गम्भीर क्षति हुने बताउनुभयो।
डा. महतले सक्रिय सदस्यता अभियानको कमजोर व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै भन्नुभयो, “सक्रिय सदस्यता परम्परागत नेतृत्व सुरक्षित गर्ने नाममा घर–परिवारको सदस्य मात्र बढाइएको छ। यो प्रवृत्तिले साँचो कार्यकर्ता छुटेका छन् ।”
डा. महतले प्रदेश सरकारमा नेतृत्वको कमजोरी रहेको उल्लेख गर्दै प्रदेश संरचनाको प्रभावकारितामाथि प्रश्न उठाउनुभएको छ।
उहाँले पार्टीको साङ्गठनिक संरचना, कार्यशैली र आर्थिक अनुशासनमा व्यापक सुधार आवश्यक रहेको बताउनुभयो।