• १३ साउन २०८१, आइतबार

सामुदायिक विद्यालयको प्रवेश परीक्षामा ‘ओएमआर’ सिट

blog

काठमाडौँ, साउन ६ गते । त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयले कक्षा ११ मा नयाँ भर्नाको लागि सञ्चालन गरेको प्रवेश परीक्षामा अप्टिकल मार्क रिडर (ओएमआर) प्रविधिको प्रयोग गरेको छ । 

परीक्षार्थीको उत्तरपुस्तिका कम्प्युटरबाट परीक्षण गर्ने प्रविधि ओएमआर हो । प्रवेश परीक्षालाई स्तरीय र विश्वसनीय बनाउन उक्त प्रविधिको प्रयोग गरिएको विद्यालयले जनाएको छ । साथै सामुदायिक विद्यालयको प्रवेश परीक्षामा यो प्रविधि प्रयोग गर्ने आफूहरू नै पहिलो हुनसक्ने विद्यालयका सहायक प्रधानाध्यापक केदार दाहालले दाबी गर्नुभयो । 

यसअघि यो प्रविधि लोकसेवा आयोग, चिकित्सा शास्त्र, इन्जिनियरिङ शिक्षा लगायतका विषयमा भर्नाको लागि लिइने प्रवेश परीक्षामा प्रयोग हुँदै आएको छ । ओएमआर प्रविधि प्रयोग गरेपछि परीक्षार्थीको नतिजा कम्प्युटर प्रणालीबाट परीक्षण हुनेछ । साथै नतिजा प्रकाशनको काम पनि सहज हुनेछ । 

यो प्रविधि प्रयोग गरेर प्रवेश परीक्षा सञ्चालन गरेपछि परीक्षा उत्तीर्ण गराइदिन वा भर्ना गरिदिन अनावश्यक दबाब दिने प्रवृत्ति पनि निरुत्साहित हुनेछ । किनकि कम्प्युटर प्रणालीबाट उत्तर पुस्तिका परीक्षण हुने भएपछि परीक्षार्थीको उत्तीर्णाङकमा तलमाथि गर्ने अवस्था रहँदैन । 

उक्त स्कुलले कक्षा ११ मा भर्नाको लागि शुक्रवार प्रवेश परीक्षा सञ्चालन गरेको छ । नयाँ भर्ना हुन चाहनेको चाप अत्यधिक भएपछि तीन सत्र (सिफ्ट) मा प्रवेश परीक्षा सञ्चालन गरेको विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कक्षा ११ मा उक्त विद्यालयले सबै विषयमा गरेर कुल एक हजार दुई सय विद्यार्थी भर्ना गर्नेछ । 

जसमध्ये विज्ञान समूहमा चार सय, व्यवस्थापन समूहमा ६५०, मानविकी र कानुन समूहमा ५०-५० जनाका दरले विद्यार्थी भर्ना क्षमता रहेको विद्यालयले जनाएको छ । तर प्रवेश परीक्षामा तीन हजार विद्यार्थी सहभागी भएका छन् ।