• २४ वैशाख २०८१, सोमबार

ठेकेदार सम्पर्कविहीन भएपछि सडक निर्माण अलपत्र

blog

अलपत्र रहेको विजयनगर पहुँच मार्ग । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, साउन ४ गते । ‘सडक निर्माणको अवधि सकिएको वर्ष दिन हुन लागेको छ । सडकको मुख्य भागमा गिट्टी र ढुङ्गाको थुप्रो छ । स्थानीयलाई सडकमा सास्ती खेप्नुपरेको छ । ठेकेदार सम्पर्कविहीन भएको स्थानीयको गुनासो छ ।

गाउँ पालिकाको दर्जनौँ बस्ती जोड्ने पहुँच मार्ग अलपत्र अवस्थामा रहेको  गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताउनुभयो । ठेकेदार सम्पर्कविहीन भएपछि कपिलवस्तुको विजयनगर पहुँच मार्ग निर्माणको काम अलपत्र परेको हो ।

लुम्बिनी प्रदेश सरकारले निर्माण गरेको मार्ग म्याद सकिएको वर्ष दिन पुगे पनि निर्माण अधुरै  छ । कुल ६.२ किलोमिटर लम्बाइ रहेको सडक कालोपत्रे हुनेगरी ठेक्का भएको थियो । २०७७ साल मङ्सिरमा जलजला निर्माण सेवा प्रालि घोराही दाङले ७ करोड ४३ लाख २ हजार ९ सय ४१ रुपियाँमा ठेक्का लिएको थियो । २०७९ जेठ १० गते सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

निर्माण व्यवसायी पहुँच मार्गको कामलाई अलपत्र छोडेर सम्पर्कविहीन भएका छन् । गाउँपालिकासँग जोडिएको यो मूख्य बाटो भएकाले समयमा काम सम्पन्न नहुँदा विजयनगरका नागरिकलाई सास्ती खेप्नुपरेको छ । सो मार्गले आरटीओ सडकको फरेनी चौकदेखि बद्धौर, उज्ज्वलपुर, छुटपाटी, डालपुर, नयाँबस्ती, कटुवाचोक हुँदै हुलाकी मार्ग जोड्ने गरी निर्माण सुरु गरिएको थियो । 

स्थानीय उमानाथ भट्टराईले विजयनगरको महत्वाकांक्षी पहुँच मार्ग भएकाले सडक अलपत्र हुँदा सास्ती खेप्नुपरेको गुनासो गर्नुभयो । अहिले वर्षामा बाटो हिलोले आवतजावतमा कठिनाइ भएको उहाँले बताउनुभयो । सडकमा जताततै मिस्कट, गिट्टी खसालिएकाले, सवारी साधन र पैदल हिंड्न समस्या भएको बताउनुभयो ।

सडक निर्माण कार्यमा ठेकेदारले लापरवाही गरेको स्थानीयले गुनासो गरेका छन् । लामो समयसम्म सडक निर्माणाधीन अवस्थामा हुँदा स्थानीयको दैनिक पैदल यात्रा, सवारी साधन चलाउनलगायतको काममा नागरिकले सास्ती खेप्नुपरेको बताएका छन् ।