• १३ पुस २०८१, शनिबार

आर्थिक सबलीकरणका लागि उद्योग र कृषिमा लाग्न मन्त्री न्यौपानेको आग्रह

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री गोविन्द न्यौपाने ।

धर्बेन्द्र झा 

धनुषा, साउन २ गते। मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री गोविन्द न्यौपानेले हरुवाचरुवाले दासत्व जीवनबाट मुक्ति पाएपछि आफूलाई रूपान्तरण गरेर आर्थिक सबलीकरणका लागि उद्योगधन्दा र कृषि कर्ममा लाग्नुपर्ने बताउनुभएको छ। 

राष्ट्रिय हरुवाचरुवा अधिकार मञ्चले प्रथम हरुवाचरुवा मुक्ति दिवसको अवसरमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। 

उहाँले भन्नुभयो, ‘‘हरुवाचरुवाले मुक्तिका लागि आन्दोलन गर्‍यो र मुक्ति पनि पायो। अब के गर्ने। हिजो गरेकै कार्यक्रम गर्ने कि कार्यक्रममा परिवर्तन गरेर अगाडि बढ्ने ?’’

उहाँले संविधानले दिएको अधिकारको कार्यान्वयन गराउनका लागि हरुवाचरुवाले अबका दिनमा कार्यक्रम निर्माण गर्नुपर्ने बताउनुभयो। उहाँले हरुवाचरुवा दलित र सुकुम्वासीको लागि मन्त्रालयले ८० लाख बजेट छुट्याइएको भन्दै हरुवाचरुवाले सहकारीमार्फत तरकारी खेती, पशुपालन जस्ता काम गरेको खण्डमा मन्त्रालयले विशेष सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का प्रदेश सभा सदस्य रतनेश्वर गोइतले हरुवाचरुवाले अबका दिनमा आफ्नो अधिकार प्राप्तिका लागि सबल ढङ्गले अघि बढ्नुपर्ने बताउनुभयो। 

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य माला कर्णले मधेश प्रदेशमा हरुवा चरुवाको वास्तविक अवस्थाको बारेमा जानकारी लिनका लागि प्रदेश सरकारले अगामी दिनमा लगत सङ्कलन गर्नुपर्ने बताउनुभयो। 

कार्यक्रममा नीति आयोग मधेश प्रदेशका उपाध्यक्ष नथुप्रसाद चौधरीले प्रदेश सरकारको नीति तथा कार्यक्रममा हरुवाचरुवालाई पहिचान गरी परिचयपत्र दिने कुरा उल्लेख भएको भन्दै अगामी दिनमा मधेश प्रदेश सरकारले हरुवाचरुवाका लागि थप कार्यक्रम ल्याउने बताउनुभयो। 

राष्ट्रिय हरुवाचरुवा अधिकार मञ्चका अध्यक्ष दर्शन मण्डलको अध्यक्षतामा भएको सो कार्यक्रममा सहभागी भएका एक दर्जन वक्ताले स्थानीय पालिकाले हरुवाचरुवाको समग्र विकासका लागि बजेट विनियोजन गर्नुपर्ने धारणा राखेका थिए।