स्याङ्जा समाचारदाता
स्याङ्जा, असार ३१ गते । बिरुवा गाउँपालिकाले योजनाबद्ध विकास तथा पालिकाको पहिचानलाई नीति तथा कार्यक्रममा पहिलो प्राथमिकतामा राखेको छ।
पालिकामा विवादका कारण गत असार ९ गते सुरु भएर दुई पटकसम्म स्थगित भएको थियो। शुक्रबारको गाउँ सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो। गाउँपालिकालाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने, स्वच्छ, सफा र सुन्दर गाउँपालिकाको पहिचान कायम राख्ने गर्ने विषयलाई नीति तथा कार्यक्रमले प्राथमिकता दिएको छ ।
पालिका अध्यक्ष सूर्य कुँवरले विभिन्न चुनौतीका बाबजुद पनि एक वर्षमा भौतिक पूर्वाधार, खानेपानी, सिँचाइ, कृषि, उद्योग, पर्यटन, सहकारी, रोजगारका क्षोत्रमा उपलब्धि हासिल गरेको नीति तथा कार्यक्रममार्फत बताउनुभयो।
गाउँपालिकाले हालसम्म ३० वटा ऐन, छ वटा नियमावली, ३९ वटा कार्यविधि, दुई वटा मापदण्ड र तीन वटा निर्देशिका तर्जुमा गरी कार्यान्वयनमा ल्याएको छ। पालिकाले उपलब्धिको आधारमा योजनाको प्राथमिकता निर्धारण गरी सोको आधारमा बजेट व्यवस्था र कार्यान्वयनको नीति लिएको छ।
गरिबलाई परिचयपत्र
गरिबीको रेखामुनि रहेको नागरिकको पहिचान गरी यसै वर्षभित्र परिचयपत्र वितरण गर्ने लक्ष्य पालिकाले लिएको छ। पालिकाले गरिबीको परिचयपत्रको आधारमा सेवा सुविधा दिने छ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत एक घर एक रोजगार कार्यक्रमलाई निरन्तरता दिँदै आगामी आवमा रोजगारीका कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनका लागि पालिकाबाट साझेदारी गर्ने नीति लिइएको छ।
परिवारको लगत सङ्कलन गरी प्राथमिकताको आधारमा खरको छाना भएका घर विस्थापित गर्ने नीतिलाई निरन्तरता दिएको छ। घर, बास नभएका परिवार पहिचान गरी आवास निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।
सिपमा आधारित पाठ्यक्रम :
पालिकाले वास्तविक जीवनसँग जोड्ने र काम सिकाउने जीवनोपयोगी सिपमा आधारित शैक्षिक पाठ्यक्रमको विकास गरेर सबै विद्यालयमा पठनपाठनको व्यवस्था मिलाउने नीति लिएको छ।
गाउँपालिकाको स्थानीय शिक्षा पाठ्यक्रममा अतिरिक्त क्रियाकलाप र विविध समुदायका जातीय तथा सांस्कृतिक पहिचानको बोध गराउन अवलोकन भ्रमण, अभ्यास कक्षा र प्रयोगात्मक शिक्षामा जोड दिने भएको छ। विद्यालयबाहिर रहेका र बिचमै विद्यालय छोड्ने बालबालिकालाई विद्यालय शिक्षा पूरा गर्न प्रोत्साहनका लागि विशेष प्याकेज सञ्चालन गर्ने नीति लिएको छ।
अभिभावक विहीन बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदानका लागि विशेष व्यवस्था गर्ने छ। सबै विद्यालयमा पुस्तकालय, विज्ञान र कम्प्युटर प्रयोगशाला स्थापनालाई पालिकाले प्राथमिकतामा राखेको छ।
निःशुल्क उपचार
पालिकाले नागरिकलाई मिर्गौला, मुटु, उच्च रक्तचाप, मधुमेह जस्ता रोगको निःशुल्क जाँच र उपचारको प्रबन्ध मिलाउने नीति तथा कार्यक्रममा समेटेको छ।
सामुदायिक विद्यालयमा विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण गर्ने कार्यक्रमलाई निरन्तरता दिने भएको छ। बर्थिङ सेन्टर र स्वास्थ्य क्लिनिकको सेवालाई स्तरोन्नति गर्दै प्रयोगशालासहितको सेवा उपलब्ध गराउने नीति लिएको छ।
महिला स्वयंसेविकाको क्षमता विकास तालिम उपलब्ध गराई सेवालाई प्रभावकारी गर्ने नीति पालिकाले लिएको छ।
निजी क्षेत्रसँग साझेदारी
पूर्वाधारका योजनाको निर्माण तथा सञ्चालनमा निजी क्षेत्रसँगको साझेदारीका लागि विभिन्न आयोजना तयार गरी कार्यान्वयन गरिने भएको छ। प्रभावकारी सम्पत्ति व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन सूचना प्रणाली तयार गरी लागु गर्ने नीति पालिकाले लिएको छ। पालिकाले ‘एक वडा–एक पार्क’ निर्माण नीतिलाई निरन्तरता दिएको छ। निर्माणाधीन गाउँपालिकाको बसपार्कलाई समयमै सम्पन्न गरी आगामी आवबाट प्रयोगमा ल्याउने विषय नीति तथा कार्यक्रममा समेटिएको छ।
रैथाने बालीको संरक्षण
पालिकाले रैथाने बालीको संरक्षणका लागि बिउ संरक्षण, खेती विस्तार र बजारीकरणका लागि विशेष प्रबन्ध मिलाउने नीति तथा कार्यक्रममा बताएको छ।
कृषि उपजको आयात प्रतिस्थापन, कृषि तथा पशुपालनलाई आधुनिक बनाउँदै व्यवसायीकरण गर्ने नीति पालिकाले लिएको हो।
पालिकाले कृषकका उत्पादनलाई बजारीकरणमा सहयोग पु-याउन बजारमा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन गर्ने भएको छ। एक वडा एक कृषि तथा पशु प्राविधिक नीति लिएको छ।
बजेट अठचालिस करोड
पालिकाको १३ औँ गाउँ सभाले ४८ करोड ८० लाख ६७ हजार छ सय रुपियाँ बराबरको अनुमानित बजेट पारित गरेको छ। बजेटमा चालुतर्फ ३३ करोड १६ लाख ६२ हजार छ सय र पुँजीगततर्फ १५ करोड ६४ लाख ४५ हजार रुपियाँ रहेको छ।
पालिकाले विकास बजेट सबैभन्दा बढी भौतिक पूर्वाधारतर्फ छुट्याएको छ। विकास बजेट भौतिक पूर्वाधारमा ४७.२३ प्रतिशत, सामाजिक २४.३८ प्रतिशत, आर्थिक तर्फ १४.९७ प्रतिशत, वन तथा वातावरणमा ७.४४ प्रतिशत र संस्थागत विकास सेवा प्रवाहमा ५.९८ प्रतिशत रहेको छ।