• १२ असोज २०८१, शनिबार

भानु कप फुटबल सुरु, उद्घाटन खेलमा सेभेन स्टार विजयी

blog

प्रतियोगिताको उद्घाटन गर्नुहुँदै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे । तस्बिर : गोरखापत्र

अमरराज नहर्की

तनहुँ, असार ३० गते । आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्तीका अवसरमा जिल्लामै सर्वाधिक धन राशिको भानुकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । 

भानु नगरपालिका १ भन्सार स्थित भानु रङ्गशालामा सञ्चालन गरिएको प्रतियोगिताको उद्घाटन खेलमा सेभेन स्टारले साबिक विजेता तनहुँ–११ लाई टाईब्रेकरमा ३–१ गोलले हरायो । 

सेभेन स्टारका गोलरक्षक रमेश श्रेष्ठ म्यान अफ द म्याच घोषित हुनुभयो । भन्सार युवा परिवार, भीमसेन युवा क्लब र सालसिस्ने युवा क्लबको संयुक्त आयोजनामा प्रतियोगिता गरिएको हो ।

प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गर्नुभयो । उद्घाटन अवसरमा पाण्डेले खेलले नै देश चिनाउने भएकोले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुभयो ।

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मस्थललाई साहित्यिक धामका रूपमा विकास गर्न प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो । 

साथै उहाँले यस्ता खेलकुद गतिविधिले भानुभक्तको योगदानलाई संरक्षण र प्रवर्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः दुई लाख २५ हजार दुई सय १०,  एक लाख १२ हजार दुई सय १०, २० हजार दुई सय १० रुपियाँका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने मूल संयोजक सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । 

प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोलकर्तालाई २५ सय १० रुपियाँ प्रदान गरिने खेलकुद संयोजक भरत बानियाले बताउनुभयो । प्रत्येक खेलमा म्यान अफ दि म्याच घोषित गरी आकर्षक पुरस्कारको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतियोगितामा अनुशासित टिम घोषित गरी पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।  प्रचार प्रसार संयोजक राजेश कार्कीका अनुसार भानु जयन्तीकै अवसरमा छेलो हान्ने र बाघचाल प्रतियोगिता गरिएको छ । 

छेलो प्रतियोगितामा प्रथम हुनेलाई पाँच हजार दुई सय १० र बाघचाल प्रतियोगितामा प्रथम हुनेलाई पाँच हजार दुई सय १० रुपियाँ प्रदान गरिने उहाँले जानकारी दिनुभयो । भानु जयन्तीका अवसरमा भानु रङ्गशालामा हरेक वर्ष फुटबलका साथै विविध प्रतियोगिताहरू हुँदै आएको छ । सोही अनुसार यस वर्ष पनि निरन्तरता दिइएको हो । 

राष्ट्रिय विभूति भानुभक्तको जन्मस्थल चुँदीरम्घालाई देश विदेशमा चिनाउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता गरिएको आयोजकले जनाएको छ । साउन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा तनहुँका अतिरिक्त कास्की, गोरखा, चितवन लगायतका जिल्लाबाट गरी ३२ टिमको सहभागिता रहेको छ । 

भानु जयन्तीका अवसरमा भानु रङ्गशालामा हरेक वर्ष फुटबलका साथै विविध प्रतियोगिताहरू हुँदै आएको छ । सोही अनुसार यस वर्ष पनि निरन्तरता दिइएको हो । राष्ट्रिय विभूति भानुभक्तको जन्मस्थल चुँदीरम्घालाई देश विदेशमा चिनाउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता गरिएको आयोजकले जनाएको छ ।