• १० मंसिर २०८१, सोमबार

जीवनको सार हो असार (कविता)

blog

हिमचुली हाँस्छन् पिरती गाँस्छन् जीवनको जुहार

असारलाई सार यही बारम्बार घामको मुहार ।

आकाशमा बादल घुम ओडी आउँछन् फूलको जवानी

जीवन र जगत् सर्वेश्वर एकसाथ मानिसको कहानी ।


ए ! बाउसे रोपार मनका आली चन्द्रमा हाँसेका

जीवन र जगत् पसिना मूल्य धरतीमा गाँसेका ।

आमाको आँसु मनमा नहोस् युगलाई भार हुन्छन्

शीतल गङ्गा हरपल बगुन नबगे जून रुन्छन् ।


अन्नका दाना अमृत खाना खेतका धान बाली

यो धरती चुम्ने सर्वलोक घुम्ने हामी नै हौँ माली ।

यही हावापानी धरती आकाश अग्निको खेल हो

असारमा खेत रोपेको रोपो जिन्दगी सफल भो ।


हामी नै हाम्रा जवानी ज्यानका आधारभूमि हौँ

बिम्झेर घाम असारे खेत्मा बिउ रोप्न लम्कौँ लौ ।

एकपल  नहोस्   निरीह जीवन नेपाल आमा हे

चेतना ज्योति बलेनन्  भने सामथ्र्य हुन्छ के । 


नयन चिम्ली जिम्दैमा जिम्ली निर्लज्ज झरेको

वीरका शिर शिखर सार हौँ छैनौँ है मरेको ।

आरती गाउने ईश्वरको आँगन असारे भाखामा

दैवका आँखा इमानको खेती पर्दैन पाखामा ।


गरेको  कर्म  धर्मको धाम सार्थक होस् असार

आखिर धरती एउटै घर हो बनेको कसार ।

छाडेर जाने जीवनको सार अमृत धारा होस्

पुर्खाको पौरख ईशको आँगन लाउनु छैन दोष ।