• २५ वैशाख २०८१, मङ्गलबार

बालविवाह गरेका पचासी प्रतिशत पछुताउँदै

blog

गाईघाट समाचारदाता

गाईघाट, असार ३० गते । उमेर नपुगी विवाह गरेका अधिकांश व्यक्ति अहिले शारीरिक र मानसिक पीडामा रहेका पाइएको छ। महिला सशक्तीकरण स्रोत केन्द्र र युवा महिला सञ्जाल उदयपुरले यस जिल्लाका आठ वटा स्थानीय तहमा उमेर नपुगी भएकोे विवाहपछिको जीवन भोगाइमा आधारित रहेर गरेको खोजमूलक अध्ययनमा यस्तो तथ्य फेला परेको हो। 

अध्ययनका क्रममा देखिएको अवस्था र चुनौतीलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा आयोजित यस जिल्लाका सरोकारवालासँगको अन्तर्क्रियामा सो संस्थाका कार्यकारी निर्देशक वन्दना दनुवारले तथ्याङ्क प्रस्तुत गर्दै ६५ प्रतिशतले १४ देखि १८ र ३५ प्रतिशतले १८ देखि २० वर्ष उमेरमा विवाह गरेको पाइएको जानकारी दिनुभयो। यसरी बालविवाह गरेकामध्ये ८२ प्रतिशत उमेर परिपक्व भएपछि पछुताउने गरेका पाइएको उहाँले बताउनुभयो।

तथ्याङ्क सङ्कलनका क्रममा बालविवाह गर्नेहरूले कलिलो उमेरमै विवाह गर्दा पढइ छुटेको, गृहिणी र पारिवारिक दायित्व वहन गर्नु परेको, छोराछोरीको स्याहारसुसारसँगै खेतीपातीलाई मुख्य पेसा बनाउनु परेको र आफूसँगका साथीसङ्गी विभिन्न तहमा जागिर खादै गरेका तथा व्यापार व्यवसायमा रमाइरहेका देख्दा आफूलाई पछुतो हुने गरेको बताएको दनुवारले जानकारी दिनुभयो। 

शोधमा समावेश गरिएकामध्ये ५० प्रतिशतले एकै विद्यालयमा अध्ययन गरेको, २९ प्रतिशतले गाउँ छरछिमेक तथा २१ प्रतिशतले सामाजिक सञ्जालमा भेट भएपछि विवाहमा फसेको बताएका छन्। बालविवाह गर्नेसँग लिइएको अन्तर्वार्तामा प्रेम गरेको परिवार र समाजले थाहा पाएपछि छुट्टिनुपर्ने त्रासले उमेर नै नपुगी भागेर विवाह गर्नु परेको बताएका छन्। 

त्यस्तै साथीसङ्गतीको लहड र हौसला, केटाले आत्महत्या गर्छु भन्ने गरेको, प्रेमलाई परिवारले स्वीकार नगर्र्नु, विवाहपूर्व शारीरिक सम्पर्क हुनु, प्रेमसम्बन्धबारे परिवार र छरछिमेकले थाहा पाउँदा विवाह गर्न बाध्य भएको पनि बताएका छन्। राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्क अनुसार पाँच वर्षयता तीन हजार ६८२ जनाले २० वर्ष नपुगी विवाह गरेका देखाएको कार्यकारी निर्देशक दनुवारले बताउनुभयो।