भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुई कार्यकालको सफलताले विश्वमै भारत नयाँ उचाइमा पुगेको छ। उहाँले यो अवधिमा बनाउनुभएको लोकतान्त्रिक छविले उहाँप्रतिको आकर्षण बढेको हो। गुजरातको मुख्यमन्त्री बन्दा भएको हिन्दु–मुस्लिम दङ्गा रोक्न प्रभावकारी कदम नचालेको आरोप लागेका मोदीलाई १० वर्षसम्म अमेरिकाले भिसा दिएन।
यस प्रकरणले उहाँ अनुदारवादी नेता हो कि भन्ने धेरैलाई लागेको थियो तर प्रधानमन्त्री बनेयता उहाँले आफूलाई बहुप्रतिभाशाली र उदारवादी नेताका रूपमा स्थापित गर्न सफल हुनुभयो। उहाँको सफलतासँगै भारतलाई ठुलो लाभ मिलेको छ। भिसा रोक्ने अमेरिकाले अहिले उहाँलाई रातो कार्पेट बिछ्याएर भव्य स्वागत मात्र होइन, उहाँको खुलेर प्रशंसासमेत गरेको छ। अमेरिकाको भ्रमणपछि उहाँलाई फ्रान्सले स्वागत गर्दै छ।
प्रधानमन्त्री मोदी भोलि (जुलाई १४) फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा राजधानी पेरिसमा आयोजना हुने विशेष समारोहमा सहभागी हुनुहुने भएको छ। समारोहमा उहाँले विशेष अतिथिका रूपमा भाग लिनुहुने छ। भारतका तीन वटा राफेल लडाकु विमान पनि सोही अवसरमा आयोजना हुने सैन्य परेडमा सहभागी हुने छन्। ती लडाकु विमान अन्य फ्रान्सेली विमानसँगै परेडमा उड्ने छन्।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री मोदीको यो भ्रमण फ्रान्स र भारतबिचको रणनीतिक साझेदारीको २५ औँ वार्षिकोत्सवका बेला हुन लागेको हो। भारतले यसअधि सन् २००९ मा परेडमा भाग लिएको थियो। त्यस बेला तत्कालीन प्रधानमन्त्री मनमोहन सिंह भारतीय सैन्य दलसँगै सहभागी हुनुभएको थियो।
यस पटक प्रधानमन्त्री मोदीको फ्रान्स भ्रमणबाट भारत र फ्रान्सबिच रणनीतिक, सांस्कृतिक, वैज्ञानिक, शैक्षिक र आर्थिक सहयोगका लागि नयाँ एवं महìवाकाङ्क्षी लक्ष्य निर्धारण गरेर द्विदेशीय रणनीतिक साझेदारी अर्को चरणमा प्रवेश गर्ने अपेक्षा गरिएको छ। उहाँको भ्रमणले जलवायु परिवर्तन, जैविक विविधता संरक्षण तथा दिगो विकासका लक्ष्य हासिल गर्नेलगायत वर्तमान विश्वका चुनौतीको सामना गर्नका लागि साझा प्रयास प्रारम्भ गर्न अवसर जुटाउने विश्वास फ्रान्सले गरेको छ। मोदीको भ्रमणलाई फ्रान्सले निकै महत्व दिएको छ। उसले उदीयमान शक्ति भारतसँग थप सहकार्य गर्न चाहेको छ।
अमेरिका भ्रमणको न्यानो र तातो बहस सेलाउन नपाउँदै मोदीको हुने यो फ्रान्स भ्रमणको विशेष महत्व छ। मोदीले अमेरिकाको राजकीय भ्रमण गरेर ठुलो विश्वास आर्जन गर्नुभयो। अमेरिकाका राष्ट्रपति जोए बाइडेनको मैत्रीपूर्ण निमन्त्रणामा मोदीले अमेरिकाको भ्रमण गर्नुभएको हो। उहाँलाई ह्वाइट हाउसमा रातो कार्पेट बिछ्याएर भव्य स्वागत गरियो। उहाँको भ्रमण भारत र अमेरिकाबिचको सम्बन्धमा कोसेढुङ्गा स्थापित भएको छ।
भ्रमणको कार्यसूचीमा रक्षा सम्बन्ध, प्रविधिमा साझेदारी र इन्डो–प्यासिफिक रणनीतिमा भारतको भूमिका आदिले उच्च प्राथमिकता पाए। यी विषयमा गहन छलफल भयो। मोदीले राष्ट्रपति बाइडेनसँग प्रत्यक्ष वार्ता गर्नुभयो। मोदीको सम्मानमा बाइडेनले राजकीय रात्रिभोज आयोजना गर्नुभयो। मोदीले अमेरिकी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुभयो। मोदी र बाइडेनले विश्वका दुई ठुला प्रजातन्त्रका साझा हित र आकाङ्क्षाबारे खुलेर प्रशंसा गर्नुभयो।
बाइडेन र मोदीबिचको औपचारिक वार्तापछि संयुक्त पत्रकार सम्मेलनमा बाइडेनले पारस्परिक साझेदारी इतिहासमा कुनै पनि समयभन्दा बलियो, नजिक र अधिक गतिशील रहेको बताउनुभयो। मोदीले दुई देशबिच रणनीतिक साझेदारीको नयाँ अध्याय सुरु भएकोमा जोड दिनुभयो। भ्रमणका क्रममा रक्षा, उच्च प्रविधि, स्वास्थ्य, वातावरण, अन्तरिक्ष, ऊर्जा र भिसालगायतका क्षेत्रमा भएका सम्झौताले अझ बलियो साझेदारीको ढाँचा उपलब्ध गराएको छ।
यी औपचारिक सम्झौताका अतिरिक्त मोदीको अमेरिका भ्रमण गराउनुको मूल उद्देश्यचाहिँ रुस र चीनसित घनीभूत बन्दै गएको भारतको सम्बन्धलाई आफूतिर आकर्षित गर्नु थियो। यस मामिलामा मोदीले चलाखीपूर्ण तरिकाले सम्बोधन गर्दै रुस र चीनसितको सम्बन्ध नबिगारिकन अमेरिकासित पनि निकट सम्बन्ध बढाउने रणनीति अख्तियार गर्नुभयो। उहाँको यो कदमले अमेरिकालाई पनि निराश बनाएन। बाइडेनले मात्र होइन, यसअघिका राष्ट्रपति जर्ज डब्लु बुस र बाराक ओबामाको समयमा पनि अमेरिकाले एसियामा चीनलाई रोक्न भारतको शक्ति निर्माण गर्न मद्दत पु-याउनेतर्फ ध्यान केन्द्रित गर्नुभएको थियो।
पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका पालामा अमेरिका–चीन सम्बन्ध बिग्रियो। ट्रम्पले पनि यस अवधिमा चीनलाई पछि पार्दै भारतलाई अगाडि बढाउने प्रयास गर्नुभएको थियो। उहाँले भारतलाई अझ ठुलो सैन्य भूमिकातर्फ लैजाने अपेक्षासाथ सहयोग गर्नुभयो। अमेरिकी सहयोग र चासोलाई निराशामा परिणत नगरिकन सम्बन्ध सुधार गर्न मोदी कूटनीतिक हिसाबले निकै सफल देखिनुभयो। उहाँले रुस, चीन र अमेरिकासित समदुरीको सम्बन्ध राखेर तीनै मुलुकबाट भारतलाई लाभ हुने काम गर्नुभएको छ।
यस पटक मोदीको अमेरिका भ्रमणमा अमेरिकाले भारतलाई असन्तुष्ट बनाउन चाहेन। मोदी सरकार र उहाँका पार्टी भारतीय जनता पार्टी मुस्लिम अल्पसङ्ख्यकप्रति अनुदार बनेको, प्रेस तथा राजनीतिक प्रतिपक्षमाथि सम्मानपूर्ण व्यवहार नगरेको जस्ता अमेरिकी चासो र चिन्तालाई वासिङ्टनले एकातिर पन्छाएर नयाँ दिल्लीसँगको रणनीतिक सहयोगलाई महत्व दियो।
चीन र रुससँग जस्तै भारतको अमेरिकासँग पनि व्यापार र लगानी बढेको छ। गत वर्ष भारत र अमेरिकाबिच १९० अर्ब डलरको व्यापार भएको थियो। अमेरिका अहिले भारतको ठुलो व्यापार साझेदार पनि हो। दुई देशका कम्पनीहरूले एकअर्कामा महत्वपूर्ण लगानी गरेका छन्। भारतका लागि अमेरिका उन्नत प्रविधि, शिक्षा र लगानीको आकर्षक स्रोत हो।
हुन त भारतको अमेरिकासँग काम गर्ने इच्छा परिस्थितिबाट जन्मेको हो, विश्वासबाट होइन। स्वतन्त्र रूपमा अप्ठेरो सामना गर्न र आफ्नै राष्ट्रिय क्षमता निर्माण गर्न अमेरिकी सहयोग प्राप्त गर्नु भारतको प्राथमिकतामा परेको छ। भारतीय नेताहरूले लामो समयदेखि विदेश नीति स्वतन्त्रतालाई विश्वमा भारतको दृष्टिकोणको केन्द्रीय विशेषताका रूपमा प्राथमिकता दिएका छन्। यो दृष्टिकोण अनुसार दक्षिण एसिया र अन्य क्षेत्रमा चीनको राजनीतिक र आर्थिक प्रगतिले भारतको हितलाई कमजोर बनाउँछ कि भनी चिन्ता पनि व्यक्त नभएको होइन तर भारत कुनै पनि महाशक्तिको कनिष्ठ साझेदार बन्नबाट जोगिन चाहन्छ।
बहुध्रुवीय विश्वमा आफैँमा एक ध्रुव बन्न चाहने नयाँ दिल्लीले विदेश नीतिमा आफ्नो महत्वपूर्ण रणनीतिक स्वायत्ततालाई कमजोर पार्ने सम्भावना देखिँदैन। भारतको स्वतन्त्र विदेश नीति सफल बन्दै गएको छ। रुस र युक्रेनबिच जारी युद्धमा भारत तटस्थ बस्यो। पुरानो मित्र रुससँग यो अवधिमा भारतले इन्धन व्यापार गरी मनग्गे डलर कमायो। विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको विश्वकै ठुलो प्रजातान्त्रिक मुलुक भारतलाई अहिले सबैले आफ्नो बनाउन चाहेका छन्। चीन र रुससँग भारतको सम्बन्ध आफ्नो ठाउँमा छ।
अहिले जापान, दक्षिण कोरिया, इजरायल, अस्ट्रेलिया, बेलायत, फ्रान्स, दक्षिण अफ्रिका, ब्राजिल, अमेरिका, क्यानडालगायतले भारतसँग सहकार्यलाई अरू फराकिलो बनाउन चाहेका छन्। भारतका लागि यो सुनौलो अवसर हो। मोदीले यस अवसरलाई उपयोग गर्न चाहनुभएको छ। लामो समय गुजरातको मुख्यमन्त्रीमा ख्याति कमाएपछि सन् २०१४ देखि भारतको प्रधानमन्त्री बन्नुभएका मोदीको दुई कार्यकालमा उल्लेख्य काम भएको छ। त्यही भएर आगामी वर्ष तेस्रो कार्यकालका लागि उहाँलाई नै अघि सार्ने तयारी भारतीय जनता पार्टीले गरेको छ।
दुई कार्यकालको प्रधानमन्त्रीको सफलता गुजरातसित जोडिएकाले उहाँले भारत भ्रमण गर्ने विदेशी नेतालाई गुजरात लगेर त्यहाँ भएको उन्नति र प्रगति देखाउने गर्नु हुन्छ। मोरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथ, बेलायतका तत्कालीन प्रधानमन्त्री बोरिस जोन्सन, अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प, जापानका तत्कालीन प्रधानमन्त्री सिन्जो आबे, चीनका राष्ट्रपति सी चिनफिङ, डेनमार्कका प्रधानमन्त्री म्याट फ्रेडरिकसनलगायत भारत भ्रमणका क्रममा गुजरात पुग्नुभएको छ।
परिवारवादबाट मुक्त, त्याग र निःस्वार्थपूर्ण सेवाका कारण मोदीको लोकप्रियता चुलिएको हो। अहिले उहाँको आलोचनाभन्दा प्रशंसा गर्नेहरू बढेका छन्। इमानदार र त्यागी नेताले देशलाई राजनीतिक स्थिरताका साथ अगाडि बढाउन महत्वपूर्ण योगदान पु-याउन सक्छ भन्ने कुरा मोदीले प्रमाणित गर्नुभएको छ। भ्रष्टाचार नियन्त्रणमा मोदीको शून्य सहनशीलताले ठुलो काम गरेको छ।
एक समय अपराध, भ्रष्टाचार र अनियमितता सबैभन्दा ठुलो चुनौती बनेको भारतमा अहिले भ्रष्टाचार र अनियमितताविरुद्ध अभियान नै चलाइएको छ। भ्रष्टाचार र अनियमितता नियन्त्रण गरी सुशासन दिने मोदीको यो नीति सफल हुँदै गएको छ। नेता स्वयंले भ्रष्टाचार नगरे भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ र नियन्त्रण हुन्छ भन्ने कुरा मोदीले प्रमाणित गर्नुभएको छ।
लेखक गोरखापत्रमा नायब कार्यकारी सम्पादक हुनुहुन्छ।