• २३ वैशाख २०८१, आइतबार

कोशी प्रदेशमा बढ्यो दुध उत्पादन

blog

शशिधर पराजुली

विराटनगर, असार २८ गते । असार, साउन र भदौ बजारमा सबैभन्दा धेरै दुध अभाव हुने महिना हुन् । चैत महिनादेखि नै दुधको उत्पादन क्रमशः घट्दै गएर असारदेखि भदौसम्म चरम अभाव हुने गर्दथ्यो । 

दुध उत्पादन गरी बजारमा आपूर्ति गर्दै आएका डेरी उद्योगले चैत महिनादेखि नै पाउडर घोलेर बजारको माग पूर्ति गर्ने गरेका थिए तर यस वर्ष कोशी प्रदेशको अवस्था ठिक विपरीत देखिएको छ । दुधको उत्पादन घट्ने अनुमानविपरीत झन्डै दोब्बरले बढेपछि किसानले उत्पादन गरेको दुध बिक्री हुन छोडेको छ । 

मोरङको कानेपोखरीमा सञ्चालित पौरखी डेरीले गत चैत महिनामा किसानबाट दैनिक चार हजार लिटरका दरले दुध सङ्कलन गरेको थियो । अघिल्ला वर्षहरूमा चैत महिनाको तुलनामा असार १५ पछि करिब ४० प्रतिशतले दुध सङ्कलन घट्ने गरेको थियो तर यस वर्ष त्यस्तो भएन । पौरखी डेरीले अहिले दैनिक आठ हजार लिटर दुध सङ्कलन गरिरहेको छ । जब कि गत वर्षहरूको अनुभवले दैनिक दुई हजार चार सय लिटर मात्र दुध सङ्कलन हुनुपर्ने थियो । 

मोरङको कानेपोखरीमा सञ्चालित मुक्ति कृषि सहकारी संस्था, दुर्गा डेरीलगायत अधिकांश डेरीमा यतिबेला दुध सङ्कलन बढी भएको छ । किसानबाट क्षमताभन्दा धेरै दुध आउन थालेपछि पाँच लिटरभन्दा कम उत्पादन गर्नेहरूसँग सहकारी र डेरीले दुध किन्नै छोडेका छन् । स्थानीय किसान भोला पोखरेलले डेरीले पाँच लिटर भन्दा कम दुध उत्पादन गर्ने किसानसँग दुध किन्न छोडेको बताउनुभयो । उहाँले भन्नुभयो, “दुर्गा डेरीले बिहानको दुध किन्छ तर साँझको भने पाँच लिटरभन्दा बढी उत्पादन गर्नेको मात्र किन्छ, सबैको किन्दैन ।” बजारमा दुध बिक्न छोडेको भन्दै सहकारी र डेरीले दुध किन्न छोडेको उहाँले बताउनुभयो । “अस्ति दुई/तीन दिन त दुध नै सङ्कलन गरेनन्, अहिले एक साँझको मात्र किनिरहेका छन् । यसले हामी किसान मर्कामा परेका छौँ,” उहाँले भन्नुभयो ।

दुध उत्पादनका दृष्टिले ‘अफ सिजन’ मानिएको यो समयमा दुधको उत्पादन अत्यधिक बढेपछि कोशी प्रदेशमा अघोषित मिल्क होलिडे चलेको छ । ४२ वटा दुग्ध उत्पादक सहकारी मिलेर बनेको सगरमाथा विशिष्टीकृत सहकारी संस्था लिमिटेडका अध्यक्ष बाबुराम दाहालले भन्नुभयो, “दुध उत्पादन यस पटक धेरै बढेको छ, जसले गर्दा यस क्षेत्रमा १५ दिनयता अघोषित रूपमा मिल्क होलिडेको अवस्था छ ।”

यो सिजनमा कोशी प्रदेशमा उत्पादन हुने एक लाख ५० हजार लिटर दुध औपचारिक क्षेत्रबाट बजारमा आउने गरेको थियो तर अहिले औपचारिक क्षेत्रमा झन्डै दुई लाख ५० हजार लिटर दुध सङ्कलन भइरहेको अध्यक्ष दाहालले जानकारी दिनुभयो । 

सुनसरीको कामधेनु डेरीका व्यवस्थापक मेघराज लुइँटेलले भन्नुभयो, “असार–साउनमा दुधको आपूर्ति सन्तुलन मिलाउन पाउडर किनेर स्टक राखेका उद्योगको पाउडरको उपभोग मिति सकिन लागेको छ । किसानबाट बढी दुध सङ्कलन हुँदा पाउडर खपत नहुने देखिएको छ ।”

दुग्ध विकास संस्थाको विराटनगरस्थित दुग्ध वितरण आयोजनामा यति बेला दुध सङ्कलन पाँच गुणाले बढेको छ । फागुन–चैत महिनामा दैनिक आठ हजार लिटर दुध सङ्कलन गर्दै आएको डिडिसी विराटनगरमा अहिले दैनिक ४५ हजार लिटर दुध सङ्कलन गरिरहेको आयोजना प्रमुख परमेश्वर चौधरीले जानकारी दिनुभयो । 

काठमाडौँमा मात्र झन्डै दुई सय टन धुलो दुध मौज्दात छ । विराटनगरमा २२ टन पाउडर मौज्दात रहेको प्रमुख चौधरीले जानकारी दिनुभयो । धुलो दुधसँगै बटरको मौज्दात पनि बढेको छ । विराटनगर आयोजनासँग बटरको मौज्दात ५० टनभन्दा बढी पुगिसकेको छ । डिडिसीसँग मात्र होइन, हरेक डेरीसँग यति बेला पाउडर र बटरको मौज्दात बढेको छ । 

झापामा भारतीय दुध आउन थाल्यो 

दुधको उत्पादन कम हुने यो सिजनमा सीमावर्ती भारतीय बजारमा नेपाली दुधको माग हुने गरेको थियो । विगतमा झापाबाट भारतीय बजार सिलिगुढीसम्म अनौपचारिक रूपमा नेपालमा उत्पादित दुध जाने गरेको थियो । विराटनगरस्थित डिडिसीले उत्पादन गरेको दुध त भारतको जोगबनी बजारका उपभोक्ताका लागि बोर्डरबाट खुला बिक्री गर्ने गरिएको थियो । अहिले जोगबनीतर्फ दुध बिक्री बन्द छ भने झापाका बजारमा भारतबाट अनौपचारिक रूपमा दुध आउने गरेको सूचना पाएको डिडिसी विराटनगरका प्रमुख चौधरीले बताउनुभयो । “खुला बोर्डरबाट झापामा भारतीय किसानले उत्पादन गरेको दुध आउने गरेको सूचना आइरहेको छ,” प्रमुख चौधरीले भन्नुभयो, “मोरङको पूर्वी क्षेत्रमा पनि भारतीय किसानले उत्पादन गरेको दुध आउने गरेको सुनिएको छ ।”

यस कारण बढ्यो दुध उत्पादन 

व्यावसायिक रूपमा पशुपालन गर्ने किसानको सङ्ख्या बढेका कारण बजारमा दुधको आपूर्ति बढेको हो । विशेष गरी झापा जिल्लामा व्यावसायिक गाईपालन उल्लेख्य रूपमा बढेको सगरमाथा विशिष्टीकृत सहकारी संस्था लि. का अध्यक्ष दाहालले बताउनुभयो । अध्यक्ष दाहालको दाबीमा दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख चौधरी पनि सहमत हुनुहुन्छ । “व्यावसायिक गाईपालन गर्ने किसान बढेकै कारण यस पटक दुध उत्पादन बढेको हो, त्यसबाहेक यस पटक दुध उत्पादन बढाउन मौसमले पनि साथ दिएको छ । लामो झरी नपरेका कारण घाँस उत्पादन राम्रो भएकाले पनि दुध बढेको हो ।” केही महिनायता भारतीय सीमाबाट लैनो गाईको आयात पनि उल्लेख्य बढेको चौधरीले जानकारी दिनुभयो । 

सरकारले दुधको मूल्य वृद्धि गरेपछि किसान गाईपालनतर्फ बढी आकर्षित भएको र उनीहरूले राम्रा जातको बढी दुध दिने लैनो गाई भारतीय बस्तीबाट किनेर ल्याउने क्रम अहिले पनि चलिरहेको उहाँले बताउनुभयो । कोशी प्रदेशमा दुध उत्पादन वृद्धि गर्न प्रदेश सरकारले प्रतिलिटर दुई रुपियाँको दरले नगद अनुदान दिने नीति लिएका कारण पनि उत्पादन बढेको व्यवसायीले बताएका छन् । 

यी कारणले गर्दा यस क्षेत्रका किसानहरू व्यावसायिक दुध उत्पादनका लागि गाई र भैँसीपालनतर्फ आकर्षित भएका हुन् । जसले गर्दा दुधको उत्पादन यो वर्ष उल्लेख्य बढेको छ । अर्कोतर्फ बजारमा आर्थिक मन्दिको असर परेपछि पशुपालन तथा दुध उत्पादन गरेर जीवन निर्वाह गर्ने प्रवृत्ति विकसित हुँदा पनि दुध उत्पादन बढेको डिडिसी विराटनगरका प्रमुख चौधरीको अनुमान छ । 

एक साताभित्र नयाँ पाउडर प्लान्ट सञ्चालनमा आउँदै 

कोशी प्रदेश सरकारले दुध उत्पादनमा आत्मनिर्भर बनाउन उत्पादनका आधारमा अनुदान दिने कार्यक्रम सञ्चालन गरेपछि दुध उत्पादन बढ्ने अनुमान गरी खपतका लागि पाउडर प्लान्ट स्थापना गर्ने कार्यक्रम अगाडि बढाएको थियो । चार वर्षअघि कोशी प्रदेश सरकारले दैनिक पाँच हजार किलो पाउडर (धुलो दुध) उत्पादन गर्ने उद्देश्यसहित सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत २० करोड रुपियाँ नगद अनुदान दिने गरी सगरमाथा विशिष्टीकृत सहकारी संस्था लिमिटेडसँग सम्झौता गरेको थियो । उक्त सम्झौताबमोजिम पाउडर प्लान्ट स्थापना गरेको सहकारीले आगामी साताबाट उत्पादन सुरु गर्ने तयारी गरेको हो । अध्यक्ष दाहालले भन्नुभयो, “अहिले मेसिन परीक्षण गर्ने काम भइरहेको छ, सायद पर्सिबाट उत्पादन सुरु हुन्छ होला ।” 

विशिष्टीकृत सहकारीले पाउडर उत्पादन गर्न थालेपछि दैनिक ५० हजार लिटर दुधको पाउडर बनाउने योजना रहेको अध्यक्ष दाहालले जानकारी दिनुभयो । “हामी दैनिक ५० हजार लिटर दुधको पाउडर उत्पादन गर्छौं, त्यसपछि बजारमा देखिएको मिल्क होलिडेको अवस्थामा निकै सुधार आउँछ,” दाहालले भन्नुभयो । 

कोशी प्रदेशमा अहिले डिडिसीले दैनिक ३५ हजार लिटर र सूर्योदय डेरी विराटनगरले दैनिक २० हजार लिटर दुधको पाउडर उत्पादन गर्दै आएका छन् । केही दिनभित्रै विशिष्टीकृत सहकारीले पाउडर उत्पादनका लागि दैनिक ५० हजार लिटर दुध खपत गर्दा एक लाख लिटरभन्दा बढी दुधको पाउडर उत्पादन हुने छ । यसले किसानलाई दुध बिक्री गर्न सहज भए पनि धुलो दुध उत्पादक उद्योगका लागि भने नयाँ चुनौती सिर्जना हुने देखिन्छ । 

सगरमाथा विशिष्टीकृत सहकारीका अध्यक्ष दाहाल सरकारले दुध र दुधजन्य वस्तु निर्यातका लागी बजार खोजिदिनुपर्ने बताउनुहुन्छ । उहाँले भारतमा दुध निर्यात गर्ने अवस्था नभएकाले भारतबाहेकका देशलाई नयाँ बजारका रूपमा खोजी गर्नुपर्ने बताउनुभयो । भदौपछि पनि दुधको उत्पादन अहिलेभन्दा धेरै भई समस्या आउन सक्नेतर्फ ध्यान दिएर नयाँ बजारको प्रबन्ध गर्नुपर्ने उहाँले बताउनुभयो ।