डिजिटल कूटनीति, जसलाई ई–कूटनीति वा साइबर कूटनीति पनि भनिन्छ, अहिले यो अन्तर्राष्ट्रिय सम्बन्ध विकासको क्षेत्रमा नयाँ आयामका रूपमा उदाएको छ। इन्टरनेट र यसको प्रयोगले विश्वलाई सानो गाउँमा बदलिदिएको छ भने कूटनीतिका परम्परागत रूप र शैलीहरू पनि परिवर्तन भएका छन्। यस लेखमा डिजिटल कूटनीति र अन्तर्राष्टिय सम्बन्धका बारेमा चर्चा गरिएको छ। डिजिटल कूटनीति केही दशक अघिदेखि चलनचल्तीमा आएको हो। डिजिटल कूटनीतिले कूटनीतिक सञ्चारमा टेलिग्राफ र रेडियो प्रविधिलाई पछाडि पार्दै इन्टरनेट र सोसल मिडिया प्लेटफर्म अगाडि आए। सामाजिक सञ्जालको व्यापक प्रयोगले विश्वव्यापी रूपमा संस्था र जनसमुदायको बढ्दो अन्तरसम्बन्धले सरकारहरूलाई डिजिटल युगमा प्रवेश गर्न बाध्य बनायो। डिजिटल कूटनीति अन्तर्राष्ट्रिय सम्बन्धको क्षेत्रमा कूटनीतिक प्रयासलाई सहज बनाउन डिजिटल प्रविधिको प्रयोग गर्दै डिजिटल युगलाई सार्थक बनाउन सहयोगी सिद्ध भएको छ।
अन्तर्राष्ट्रिय अभ्यास
अहिले विश्वका धेरै देशले डिजिटल कूटनीतिलाई अँगालेका छन्। आफ्ना नागरिकसँग सार्वजनिक सरोकारका विषयमा सहभागी हुन, कला संस्कृतिको आदानप्रदान गर्नुका साथै तिनीहरूलाई प्रवर्धन गर्न, एक देशको राष्ट प्रमुखले अर्को देशको राष्ट्र प्रमुखलाई बधाई तथा शुभकामना दिन, सार्वजनिक कूटनीति सञ्चालन गर्न सोसल मिडिया प्लेटफर्म प्रयोग गरेर कूटनीतिलाई अँगालेका छन्। उदाहरणमा अमेरिकाले कूटनीतिक सन्देशका लागि ट्वीटरको प्रयोग गर्ने गरेको छ।
डिजिटल र कूटनीतिमा मुख्य तीन क्षेत्रलाई लिन सकिन्छ। पहिलो, विश्वको भू–राजनीतिक र भू–आर्थिक परिवेशको परिवर्तन। दोस्रो, कूटनीतिक एजेन्डामा नयाँ नीतिगत विषयहरूको प्रवेश। र तेस्रो, कूटनीतिक अभ्यासमा नयाँ डिजिटल प्रविधि र उपकरणको प्रयोग। पहिलो, विश्वको भू–राजनीतिक र भू–आर्थिक परिवेशको परिवर्तन हुने क्षेत्र हो। डिजिटल कूटनीतिमा भूराजनीतिक र भू–आर्थिक वातावरण परिवर्तन, कूटनीतिक फाइदाका लागि नयाँ उपकरण १९९६ देखि अनुसन्धान र शिक्षणमा प्रयोग गरिएको छ। यसले डिजिटल कूटनीति अभ्यास गर्ने कूटनीतिज्ञ र शैक्षिक अनुसन्धानकर्ता दुवैका लागि निकै उपयोगी साबित भएको पनि छ।
अहिलेको चासो के भने, के कूटनीतिज्ञले यी दुवै मुद्दाको प्रतिनिधित्व र संरक्षण गर्लान्। यो विश्वमा नयाँ प्रकारको साइबर द्वन्द्वको उदय पनि हो जहाँ नयाँ प्रकारको आर्थिक र राजनीतिक शक्तिमा केन्द्रीकृत हुन्छ। उदाहरणका रूपमा चीन र अमेरिका बिचमा आर्थिक र सामरिक गतिविधिलाई लिएर धेरै विवाद भएको पाइन्छ। चीन र भारतका बिच भू–राजनीतिक र भू–आर्थिक विषयलाई लिएर बेलाबेलामा खटपट भइरहेको हुन्छ। डिजिटल उत्पादन र वितरणमा अहिले सबैको उत्तिकै चासो र चिन्ता छ। डिजिटल कूटनीतिमा सबै देश उत्तिकै सचेत र चनाखो हुनु जरुरी छ।
डिजिटल र कूटनीतिको दोस्रो क्षेत्र भनेको कूटनीतिक एजेन्डामा नयाँ नीति र विषयको प्रवेश हुनु हो। यसमा कूटनीतिज्ञले संयुक्त राष्ट्र सङ्घ जस्ता संस्थामा वार्ता र विचार अभिव्यक्त गर्न ५० भन्दा बढी डिजिटल नीति र विषय समावेश गरिएका छन्। द्विपक्षीय देशका बिचको सम्बन्धलाई विकास र विस्तार गर्न डिजिटलसम्बन्धी नयाँ ज्ञान र सिप भएका प्राविधिक विशेषज्ञ, विषयविज्ञ र शिक्षाविद्को आवश्यकता पर्छ। विभिन्न विषय जस्तै साइबर सुरक्षा, ई–कमर्स, मानव अधिकार, अनलाइन डिजिटल स्वास्थ्य आदिका बारेमा प्रायः तिनीहरूले सूचना, डाटा, समाचारलगायत कार्यसँग संवाद गर्नु पर्छ।
तेस्रो, कूटनीतिज्ञले आफ्नो दैनिक कार्यमा नयाँ डिजिटल उपकरणहरू प्रयोग गर्नु पर्छ। सबैभन्दा बढी देखिने डिजिटल उपकरण भनेको सार्वजनिक कूटनीतिका लागि सामाजिक सञ्जालको प्रयोग नै हो। सबै प्रकारका अनुसन्धान पुस्तकमा सामाजिक सञ्जाल जस्तै ट्विटर, फेसबुक र अन्य डिजिटल प्रविधिको प्रयोग भएको पाइएको छ। अनलाइन कन्फरेन्स जसले कोभिड जस्तो महामारीको बेलामा विश्वका देशलाई एक हुन सहयोग ग-यो। त्यो बेलाको डिजिटल कूटनीति नै सफल पनि भयो। अन्तर्राष्टिय स्तरमा हुने वार्ता, परियोजना प्रवर्धन, उद्घाटनमा जस्ता कार्यक्रममा कूटनीतिज्ञले ठुला डाटा प्रयोग गरिरहेका छन्। नेपालका प्रधानमन्त्रीले पनि कति पटक विदेशका प्रधानमन्त्रीसँगै परियोजनाको भर्चुअल उद्घाटन गरेको हामीले डिजिटल स्क्रिनमा देखेका छौँ।
सोसल मिडियाको प्रयोग
हालैका वर्षमा डिजिटल कूटनीतिले द्रुत गतिमा आफ्नो स्थान लिन सफल भएको छ। सरकारका दैनिक कामकाजलाई जनतासमक्ष लैजान र जनमतलाई आफ्नो पक्षमा पार्न सफल भएको छ। डिजिटल कूटनीतिमा सामाजिक सञ्जालको व्यापक प्रयोग, विश्वव्यापी रूपमा भइरहेकोले राष्ट्र र जनसमुदाय बिचको बढ्दो भाइचारा अन्तरसम्बन्धको विकासले राष्ट्रबिचको सम्बन्ध पनि बलियो र गाढा हुँदै गएको छ।
फेसबुक, ट्वीटर, इन्स्टाग्राम र लिङ्कडइन जस्ता सामाजिक सञ्जाल प्लेटफर्महरू विदेशी समकक्षसँग छलफल गर्न, आफ्ना विचार प्रस्तुत गर्न, समाचार र दृश्य साझा गर्न, र आफ्नो राष्ट्रको छविलाई उँचो राख्न कूटनीतिज्ञका लागि अपरिहार्य उपकरण बनेका छन्। यी प्लेटफर्म विश्वव्यापी रूपमा आमनागरिकलाई सूचनाको पहुँचसम्म पु¥याउन सफल भएका छन्। सामाजिक सञ्जालको प्रयोग गरेर कूटनीतिज्ञले भौगोलिक सीमा नाघेर नागरिक, नागरिक सङ्गठन र अन्य सरोकारवालासँग प्रत्यक्ष रूपमा सम्बन्ध स्थापित गर्न सकेका छन्। राज्य सञ्चालकले सोसल मिडियाको प्रयोग गरेर गोप्य रूपमा आफ्नो देशविरुद्ध भइरहेका गतिविधिका बारेमा पनि सूक्ष्म अध्ययन गर्न र त्यसता गतिविधिलाई निस्तेज पार्न सफल भएका छन्। सार्वजनिक कूटनीतिले राष्ट्रको छविलाई उँचो राख्न र विदेशमा यसको हितलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्छ। सामाजिक मिडिया प्लेटफर्महरूले सरकारका परम्परागत मिडियालाई बाइपास गर्दै, विश्वव्यापी रूपमा सरोकारवालासँग प्रत्यक्ष संलग्न हुने अवसर प्रदान गरेको छ।
साना देश
परम्परागत कूटनीतिक विधि र प्रक्रिया मिच्दै डिजिटल कूटनीतिको उदय भएको छ। व्यक्तिगत कूटनीतिमा फेस टु फेस सूक्ष्म छलफल, विश्वास निर्माण र गोप्य वार्ताका लागि भौतिक रूपमा सँगै हुन आवश्यक छ जुन डिजिटल प्लेटफर्ममार्फत गर्नु सम्भव छैन। अहिले कूटनीतिज्ञका लागि चुनौती भनेको परम्परागत र डिजिटल कूटनीतिको बिचमा सही सन्तुलन कायम गरी र कूटनीतिक उद्देश्य पूरा गर्न सक्नु हो। विगतका कूटनीतिक प्रयासमा प्रायः ठुला र अधिक प्रभावशाली राष्ट्र बढी नै हाबी थिए तर आज सामाजिक मिडिया प्लेटफर्मले गर्दा साना देशलाई आफ्नो संस्कृति प्रदर्शन गर्न, लगानी आकर्षित गर्न र अन्तर्राष्ट्रिय रूपमा साझेदारी निर्माण गर्न पहुँचयोग्य माध्यम प्राप्त भएको छ। डिजिटल कूटनीतिले गर्दा साना देशले आफ्ना आवाजलाई विश्वव्यापी दर्शकसँग प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्षम भएका छन्। साना मुलुक आर्थिक र सामाजिक रूपमा आफूलाई रूपान्तरण गर्दै अगाडि बढेका छन्। यो डिजिटल कूटनीतिको सबल र सक्षम पक्ष हो।
चुनौती
डिजिटल कूटनीतिले धेरै चुनौती र जोखिमसामना गर्नु परेको छ। कूटनीतिज्ञले उनीहरूको सन्देश सही रूपमा अनुवादित, सांस्कृतिक रूपमा संवेदनशील, र विविध श्रोतासँग सम्बन्धित छन् भनी सुनिश्चित गर्न सक्नु पर्छ। डिजिटल प्लेटफर्ममा बढ्दो निर्भरताले राष्ट्रको संवेदनशील सूचना, सुरक्षा र गोपनीयता भङ्ग हुने डर त्यत्तिकै बढेर गएको छ। सरकारले वर्गीकृत डाटा सुरक्षित गर्न र डाटामाथिको अनाधिकृत पहुँच रोक्नका लागि बलियो आइटी शासन ढाँचामा लगानी गर्नु पर्छ। राष्ट्रिय हितको रक्षा गर्न र साइबर आक्रमण रोक्न साइबर कानुन बनाई लागु गर्नु आवश्यक छ। डिजिटल कूटनीति विस्तार हुँदै जाँदा, देशले यसको अभ्यासलाई मार्गदर्शन गर्नका लागि कानुन र नीति धमाधम बनाउने प्रक्रियामा छन् त कति देश त बनाइसकेका छन्। राज्यले अनलाइन गोपनीयता, साइबर सुरक्षा, र डाटा सुरक्षा जस्ता मुद्दालाई कूटनीतिक उद्देश्यका लागि डिजिटल प्लेटफर्मको सुरक्षित र जिम्मेवार प्रयोग सुनिश्चित गर्न सावधानीपूर्वक विचार गर्न आवश्यक छ। डिजिटल कूटनीतिमा वैधता र विश्वसनीयता कायम राख्नु महत्वपूर्ण हुन्छ। नक्कली समाचार र गलत सूचनाको युगमा सरकारले सम्प्रेषण गर्ने सूचनाको वैधता प्रमाणित गर्न सक्नु पर्छ। अनलाइन दर्शकसँग विश्वास निर्माण गर्न पारदर्शिता, जवाफदेहिता, र नैतिक सञ्चार प्रतिबद्धता चाहिन्छ।
भविष्य
डिजिटल कूटनीतिको भविष्य निकै सम्भावना र चुनौतीले भरिएको छ। प्रविधिमा भएको अभूतपूर्व प्रगति र कृत्रिम बौद्धिकता (एआई) को बढ्दो प्रयोगले कूटनीतिलाई प्रभाव पर्छ नै। एआई विकसित हुँदै जाँदा, यसले कूटनीतिक प्रक्रियालाई सुव्यवस्थित गर्ने, वास्तविक समयमा अनुवादलगायत सेवा उपलब्ध गराउने र नीतिगत निर्णयलाई सूचित गर्नका लागि ठुलो मात्रामा डाटा विश्लेषण गर्ने क्षमता राख्छ। आर्टिफिसियल इन्टेलिजेन्स, भर्चुअल रियालिटी र ब्लकचेन जस्ता प्रविधिमा भएको प्रगतिले कूटनीतिक अभ्यास र प्रभावकारिता बढाएर थप सुरक्षित र मजबुत गर्छ। डिजिटल कूटनीतिले अन्तर्राष्ट्रिय सहयोग र ज्ञान आदान प्रदानलाई बढावा दिएर जलवायु परिवर्तन, साइबर सुरक्षा र आपत्कालीन सार्वजनिक स्वास्थ्य जस्ता विश्वव्यापी चुनौती सामना गर्न थप योगदान पु¥याउन सक्छ। भविष्यमा साइबर हमला र सुरक्षाका विषयमा चुनौती थपिने निश्चत छ।
अन्त्यमा, कूटनीतिको नयाँ युगमा प्रवेश गरेको छ, डिजिटल कूटनीति जहाँ प्रविधिले राष्ट्रहरू बिच प्रभावकारी सञ्चार र सहयोगका लागि एक सक्षमकर्ताको रूपमा काम गर्छ। डिजिटल कूटनीतिमा सामाजिक सञ्जालको प्रयोगले अन्तर्राष्ट्रिय सम्बन्ध विकासको परिदृश्य नै बदलिएको छ। अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ गर्न, कूटनीतिलाई प्रजातान्त्रिक र विश्वसनीय बनाउन, साइबर सुरक्षामा ध्यान दिनु जरुरी छ। सबै राष्ट्रले नयाँ प्रविधिलाई जिम्मेवारीपूर्वक आत्मसात् गरेर, परम्परागत र डिजिटल कूटनीतिको बिचमा सही सन्तुलन कायम राखी डिजिटल युगको जटिलता पहिचान गरी र अन्तर्राष्ट्रिय सम्बन्ध विकासका लागि हातेमालो गर्दै अगाडि बढ्नु आवश्यक छ।
लेखक इगभर्नेन्स र सूचना प्रविधि विज्ञ हुनुहुन्छ।