• १६ चैत २०८०, शुक्रबार

कृशभ ‘जुनियर सांस्कृतिक सद्भावदूत’

blog

काठमाडौँ, असार २४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अफिसियल फेसबुक पेजमा अत्यधिक मनपराइएको र हेरिएको एउटा भिडियो देख्न सकिन्छ । त्यो भिडियो प्रधानमन्त्री दाहालको कुनै राजनीतिक गफ वा भाषणको होइन । बरु एक बालकले  निडर र आत्मविश्वासी शैलीमा प्रधानमन्त्रीसँगको संवादको हो । 

ती बालक हुनुहुन्छ एलआरआई स्कुलमा कक्षा ९ मा अध्ययनरत कृशभ पन्त । भिडियोमा  कृशभले आफू प्रधानमन्त्रीले गरेको भाषणबाट अत्यन्तै प्रभावित भएर देशका लागि र अवसर पाउन नसकेका हजारौँ बालबालिकाका लागि केही गर्न चाहेको अभिव्यक्ति दिनुभएको देखिन्छ । 

उहाँ भन्नुहुन्छ, “प्रधानमन्त्रीले देशका बालबालिका सम्बन्धित परिवारको मात्र भविष्य होइन उनीहरू त देशकै भविष्य हुन् भन्ने वाक्यांशले मलाई धेरै अभिप्रेरित ग-यो । त्यसपछि म नेपालको छविलाई अन्तर्राष्ट्रिय जगत्मा उच्च बनाउने प्रतिज्ञाका साथ अगाडि बढिरहेको छु ।” प्रधानमन्त्रीसँगको प्रत्यक्ष भेटमा पनि उहाँले आफूले पाएको अन्तर्राष्ट्रिय अवार्ड देखाउँदै यस्तै अभिव्यक्ति दिनुभएको छ । जुन भिडियोले अधिक लाइक र भिवर पाएको छ ।  

अहिले कृशभ नेपालको तर्फबाट चीनका लागि जुनियर सांस्कृतिक सद्भावदूतका रूपमा चयन हुनुभएको छ । विश्वका ४२ देशका ५०० सय विद्यार्थीबिच भएको प्रतिस्पर्धा भाग लिएर उहाँ सद्भावना दूतका रूपमा छनोट हुनुभएको हो । विद्यालयमा कक्षा चारदेखि नै चिनियाँ भाषा अध्ययन गर्दै आउनुभएका कृशभले चाइना सोङ छिङलिङ फाउन्डेसनले आयोजना गरेको विश्वव्यापी प्रतियोगिताका लागि चिनियाँ भाषाको यात्रा र चिनियाँ संस्कृतिले आफूमा पारेको प्रभावका सम्बन्धमा बनाउनुभएको पाँच मिनेटको भिडियो उत्कृष्ट साबित भयो । 

३० वटा उत्कृष्ट साबित भिडियोमध्ये उहाँले बनाएर पठाउनुभएको भिडियोले अधिक मत पाएपछि फाउन्डेसनले उहाँलाई परिवारसहित चीनमा स्वागत गरेर पुरस्कार प्रदान गरेको थियो । साथै नेपालका लागि जुनियर सांस्कृतिक सद्भावदूत पनि बनाएको हो । उहाँ त्यही अवार्ड प्रधानमन्त्रीलाई देखाउन पुग्नुभएको थियो । कृशभको सफलता र उत्साहलाई देखेर प्रधानमन्त्री प्रचण्डले हौसला प्रदान गर्दै अगाडि बढ्न प्रेरित गर्नुभएको छ ।