सिराज खान
नेपालगन्ज, वैशाख ८ गते । यही वैशाख २० र २१ गते नेपालगन्जमा आयोजना गरिने नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको सातौँ केन्द्रीय महाधिवेशनको उद्घाटन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने भएको छ ।
महाधिवेशनको तयारीका लागि सोमबार नेपालगन्जमा आयोजना गरिएको कार्यक्रममा सो कुराको जानकारी गराउँदै एमालेका केन्द्रीय सदस्य एवम् मुस्लिम फाँटका इन्चार्ज मोहम्मद हारुन हलवाईले महाधिवेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु हुने जनाउँदै तयारीलाई तिव्र पारिएको बताउनुभयो ।
उहाँले महाधिवेशनमा देशभरिबाट मुस्लिमहरूको सहभागिता रहने जनाउँदै यो महाधिवेशन पछाडि पारिएका मुस्लिम र मधेशी समुदायको उत्थानका लागि ऐतिहासिक हुने बताउनुभयो ।
यो महाधिवेशनबाट मुस्लिम मात्र नभई मधेशी, थारू, दलित, अल्पसङ्ख्यक, सिमान्तकृत समुदायको उत्थानका लागि नेपालगन्ज घोषणा पत्र जारी गरिने पनि एमालेका केन्द्रीय सदस्य हलवाईले बताउनुभयो ।
सो अवसरमा नेकपा एमालेका केन्द्रीय सदस्य पशुपतिदयाल मिश्रले पछिल्लो समय मरिसकेको राजतन्त्रलाई ब्युताउने खेल भइरहेकोले यो महाधिवेशनले गणतन्त्रको पक्षमा अहम निर्णय गर्ने बताउनुभयो ।
नेपाल इत्तेहाद सङ्गठनका केन्द्रीय सदस्य करिम खानले मुस्लिमका लागि आवाज उठाउने एमाले निकट नेपाल मुस्लिम इत्तेहाद सङ्गठन सबैभन्दा पुरानो र ऐतिहासिक सङ्गठन भएको जनाउँदै महाधिवेशनमा मुस्लिम समुदायको अधिकार र पहिचानको विषयमा गम्भिर छलफल र विमर्श हुने बताउनुभयो ।
सो अवसरमा एमालेका लेखा समिति सदस्य विजया धिताल, एमाले बाँकेका अध्यक्ष निरक गुरुङ, नेपाल मुस्लिम इत्तेहाद सङ्गठन सातौँ महाधिवेशन मुल समारोह संयोजक हलिम शाह, एमाले बाँकेका निवर्तमान उपाध्यक्ष डिल्ली विसी र एमाले बाँकेका उप–सचिव एवम् जनसङ्गठन विभाग इन्चार्ज किशोर थापाले महाधिवेशनलाई भव्य र ऐतिहासिक बनाउन सबैले खटिएर काम गरिरहेको बताउनुभयो ।
एमालेका स्थानीय नेता सफिक बेहनाले महाधिवेशनमा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री आउनु गर्वको कुरा भएको बताउँदै महाधिवेशनले हिन्दू–मुस्लिमको एकतालाई अझ बलियो बनाउने धारणा राखनुभयो ।