• ६ वैशाख २०८२, शनिबार

‘निर्देशन मेरो आत्मामा बसेको छ’

blog

नेपाली चलचित्र क्षेत्रमा महिला निर्देशकको उपस्थिति नगण्य छ । त्यसमा पनि सक्रिय महिला निर्देशक औँलामा गन्न सकिने छन् । पुरुष वर्चस्वलाई तोड्दै करिब दुई दशकदेखि नेपाली चलचित्र क्षेत्रमा आफ्नो सशक्त उपस्थिति देखाउँदै आउनुभएकी कृषा चौलागाईं निर्देशित चलचित्र पीताम्बर यतिबेला हलहरूमा प्रदर्शनरत छ । १६ वर्षको कलिलो उमेरमा चलचित्र निर्माणमा पाइला टेक्नुभएकी कृषालाई कान्छी निर्माताको ट्याग लगाउने पनि छन् । उहाँले पहिलो पटक चलचित्र ‘इन्साफ’ र त्यसपछि ‘पलास’, ‘कसम हजुरको’ निर्माण गर्नुभयो । निर्माताबाट निर्देशनमा होमिनुभएकी उहाँ पलासलाई सिकाइको पहिलो खुड्किलो मान्नुहुन्छ भने चलचित्र ‘ऐँचो पैँचो’ लाई दर्शकसँग संवाद गर्ने वातावरण । चलचित्रको निर्माण तथा निर्देशनमा केन्द्रित रहेर कृषासँग गोरखापत्रका लागि सुकृत नेपाल ले गर्नुभएको कुराकानी :

निर्माता हुुँदाहुँदै निर्देशनमा होमिनुभयो ?

मैले सिनेमालाई केवल व्यावसायिक दृष्टिकोणले मात्र होइन, भावनात्मक रूपमा पनि लिएको छु । निर्देशनको रहर धेरै समयदेखि मनमा थियो । जब आफूले निर्माण गरेका चलचित्रका कथामा अझ केही गर्न सकिने सम्भावना देखियो तब लागियो । अब निर्देशन गरेर आफ्नै सोचलाई पर्दामा उतार्नु पर्छ ।

तपाईंले नेपालका प्रमुख कलाकार राजेश हमाल र निखिल उप्रेतीलाई लिएर ‘इन्साफ’ नामक चलचित्र बनाउनुभएको होइन ?

हो, त्यो मेरो मन परेको प्रोजेक्ट थियो । इन्साफमा मैले नेपालका प्रमुख कलाकारलाई लिएर नेपाली चलचित्रमा न्यायको आवाज उठाउने प्रयास गरेकी थिएँ । त्यो चलचित्रले मलाई यस उद्योगमा आत्मविश्वास र पहिचान दिलाएको थियो ।

त्यतिबेला चलचित्रमा लगानी गर्ने पैसा कहाँबाट जुटाउनुहुन्थ्यो ?

मैले सुरुमा आफ्नै परिवारसँग लिएर चलचित्रमा लगानी गरेँ । आफ्नै बचत र परिवारका साथबाट लगानी जुटाएको थिएँ । त्यतिबेला लगानीभन्दा पनि आत्मविश्वास ठुलो थियो । मभित्र एउटा विश्वास के थियो भने राम्रो सोच, राम्रो कथा र इमानदार प्रयासले सफलता अवश्य मिल्छ ।

निर्माता बन्दा र अहिले दुई चलचित्र निर्देशन गर्दा के फरक पाउनुभयो ?

निर्माता हुँदा व्यवस्थापन र बजेटको चिन्ता बढी हुन्थ्यो तर निर्देशन गर्दा रचनात्मक स्वतन्त्रता पाइन्छ । कलाकारसँग नजिक भएर कथा बनाउने रमाइलो अनुभव निर्देशनमा मात्र सम्भव रहेछ ।

‘पीताम्बर’ कस्तो चलचित्र हो ?

‘पीताम्बर’ मेरा लागि केवल एउटा चलचित्र मात्र होइन । यो मेरो सपना, सोच र मेरो आवाज हो । चलचित्रमा एक साधारण व्यक्तिको असाधारण सङ्घर्ष देखाइएको छ, जो अन्यायविरुद्ध लड्छ र ऊ पीताम्बर कहलाउँछ । यसमा देश, समाज, परिवारप्रतिको माया छ, अनि नायकत्वको नयाँ परिभाषा पनि छ । पीताम्बर एक यस्तो एक्सन ड्रामा हो, जसले मनोरञ्जन मात्र दिँदैन, तपाईंको सोचमा केही परिवर्तन ल्याउने प्रयास गर्छ । 

‘पीताम्बर’ ले कस्तो व्यापार गरिरहेको छ ?

पीताम्बरसम्म आइपुग्दा मैले कथा, प्राविधिक पक्ष, कलाकारको छनोट, द्वन्द्व र भावना सबैमा सन्तुलन ल्याउन सकेँ । मेहनत दर्शकले महसुस गर्नुभयो, त्यसैले यसले अपेक्षाभन्दा राम्रो व्यापार गरेको छ ।

तपाईंलाई चलचित्रको निर्माताभन्दा निर्देशक शब्द नै फाप्दो रहेछ होइन ?

निर्देशन मेरो आत्मा जस्तो लाग्छ । पर्दापछाडि बसेर आफ्नो दृष्टिकोण, भावना र सिर्जनशीलता दर्शकसामु राख्न पाइन्छ । त्यो अनुभव अविश्वसनीय हुन्छ । मलाई लाग्छ, म निर्देशनमै आफूलाई सम्पूर्ण रूपमा व्यक्त गर्न सक्छु ।