• ११ पुस २०८१, बिहिबार

मन्त्री मोदी र कोरियाली परराष्ट्रमन्त्रीका दूतबीच भेट

blog

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र दक्षिण कोरियाका परराष्ट्रमन्त्री पार्क जिनका दूत ली हुन वुक ।

काठमाडौं, असार २२ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी र दक्षिण कोरियाका परराष्ट्रमन्त्री पार्क जिनका दूत ली हुन वुकबीच भेटवार्ता भएको छ । कोरियाको बुसान सहरमा भएको द्विपक्षीय भेटका क्रममा दुई देशका जनस्तरको सम्बन्धलाई अझ प्रागाढ बनाउँदै लैजाने सन्दर्भमा कुराकानी भएको छ ।

मन्त्री मोदीले कोरिया र नेपालबीचको कूटनीतिक सम्बन्ध स्थापित भएको ४९ औँ वर्ष पूरा भई ५० औँ वर्षगाँठमा प्रवेश गरेकोमा बधाई ज्ञापन गर्नुभयो । नेपाल र कोरियाबीचको जनस्तरको सम्बन्धलाई थप परिष्कृत बनाउँदै लैजानुपर्ने उहाँको भनाइ छ ।

मन्त्री मोदीले नेपालको सङ्घीयता कार्यान्वयनको चरणमा रहेकाले सङ्घीयताको प्रभावकारी कार्यान्वयन र सबलीकरणका सन्दर्भमा रचनात्मक र सकारात्मक सहयोगका लागि अपिल समेत गर्नुभयो ।


यसैगरी, कोरियाका परराष्ट्रमन्त्रीका दूत वुकले कोरिया सरकारमार्फत नेपालको विकासका लागि गर्न सक्ने सहयोग गर्न आफूहरु तयार रहेको बताउनुभयो ।

“नेपाल र कोरियाबीच जनस्तरको सम्बन्ध स्थापित छ” परराष्ट्रमन्त्री पार्क जिनको सन्देश सुनाउनुहुँदै उहाँले भन्नुभयो, “यो सम्बन्धलाई अझ प्रागाढ बनाउँदै नेपालको समग्र विकासका क्षेत्रमा साथ र सहयोग गर्न कोरिया सरकार तयार छ ।”