सोक्रेटसको कथन छ, “सजिलोसँग आर्जन गर्न नसकिने सम्पत्ति भनेको विचार र विवेक हो।” अतीतबाट सिकेर पुर्खाले गरेका भुल दोहोरिन नदिने र विवेकशील बनेर अघि बढ्नेहरू सफल हुन्छन्, यसका लागि सदविचार तथा विवेकको बाटो मात्रै सफलतामा पुग्ने उपाय बन्न सक्छ।
सबैतिरबाट आएका असल विचार मन्थन हुने ठाउँ नै संसद् हो भनिएको छ, ऋग्वेदमा। सन् ९३० मा पार्लियामेन्ट सुरु भएको कुरा युरोपको इतिहासमा पाइन्छ। पूर्वीय गोलार्धमा पाँच हजार वर्ष पहिले नै सभ्य र सज्जन बसेर संसद्मा छलफल गर्थे भनिएको छ। ऋग्वेदमा वर्णित संसद्, सभा, सभासद जस्ता शब्द साक्षी र प्रमाण छन्, हाम्रा पुर्खाहरू सामूहिक समस्याका बारेमा संसद्मा गम्भीर विमर्श र मीमांसा गर्दा रहेछन्।
इराकमा सन् २०१९ मा भेटिएको भगवान् रामको भित्तेचित्रबारे वैज्ञानिकले गहिरो गवेषणा गरे। त्यो २८ हजार ४५० वर्ष पुरानो रहेछ। यसको अर्थ हो, सनातन धर्म मेसोपोटामियाभन्दा टाढासम्म विस्तीर्ण थियो। कम्बोडियाको प्राचीन सनातन मन्दिर, बाली टापुको सभ्यता र देशदेशान्तरमा व्याप्त धर्मसंस्कृति प्रमाण छन्, त्यो सबै विवेक र विचारको उपज थियो। हजारौँ वर्षपछि पनि उपयोगी हुन सक्ने बाटो यही हो भनेर हाम्रा पुर्खाले सिकाएका थिए। कालान्तरमा हामीले ती सबै बिर्सेर भौतिक सुखमा अल्मलिँदा सही बाटोबाट विमुख बन्दै गयौँ।
श्रुति र स्मृतिमा आधारित प्राचीन ग्रन्थका बारेमा युवापुस्तालाई पर्याप्त ज्ञान दिइएन। गुजारामुखी शिक्षालाई मात्रै महत्व दिने काम भयो। शिक्षित त लाखौँ पैदा भए तर मानवीय मूल्यमान्यता बुझेका विद्वान् विदुषी दुर्लभ बन्न थाले। सबै प्रतिस्पर्धामा लागे, मार्गदर्शक थोरै भए। हार्बर्ड र अक्सफोर्ड जस्ता विश्वविद्यालयमा पूर्वीय दर्शन पढाइन्छ। हामीले त्यसको अनुशीलन गरेनौँ। फलतः अध्यात्म र धर्मको मीमांसा गर्नेहरू घट्दै गए। स्कन्दपुराणमा हिमवत्खण्डको चर्चा छ। ‘नेपाल महात्म्य’ मा नेपाललाई सत्ययुगमा सत्यवती, द्वापरयुगमा मुक्तिसोपान, त्रेतायुगमा तपोवन र कलियुगमा नेपाल भनिएको उल्लेख छ। विचार र सत्यको मार्गमा हिँड्ने हाम्रा पूर्वजले देखाएको मार्ग बिर्सेर हामीले युगान्तकारी वा युगानुकूल हुने रहरमा अमूल्य र अतुल्य अतीत बिर्सनु भुल ठहरिने छ।
दार्शनिकहरू भन्छन्, “हरेक मानिस अद्वितीय (युनिक) हुन्छन्। कामै नलाग्ने त कोही हुँदैन।” उदाहरणका लागि, एउटा चरित्रहीनलाई लिऊँ। पुरुष वा महिला जो भए पनि उसलाई सही मार्गमा ल्याउने हो भने समाजका लागि उपयोगी हुन सक्छ।
चाणक्य भन्छन्, “दोषरहित मित्र खोज्ने मानिस मित्रविहीन बन्छ।” हुन पनि हो, निर्दोष र सर्वगुणसम्पन्न कति जना हुन्छन् ? तसर्थ जात, दल, गुट जस्ता भेदभावबाट मुक्त बनेर सबैलाई राष्ट्रनिर्माणका काममा सक्रिय गराउन किन कन्जुस्याइँ गर्ने ? किन नेपाली सबै एउटा परिवारका सदस्य हुन् भनेर उदार नहुने ? किन विभिन्न दायित्व सुम्पिदा प्रियजन नै चाहिने ? योग्यता, सिप, इमानदारी र देशभक्तिको भावना छ भने किन जिम्मेवारी नदिने ?
विचार उदात्त र फराकिलो छ भने समस्या छैन। सडकको पहिरो पन्छाउने काममा पनि आफ्नो मान्छे खोजिरहने हो र! नदीमा डुबेकाहरूको उद्धार गर्न निपुण गोताखोर चाहिन्छ तर ‘आफ्नो मान्छे’ नै खोज्दा डुब्नेहरू मरिसक्छन्।
चीनमा जापानले सन् १९३७ मा नानजिङ (नानकिङ) तिरबाट भीषण हमला गरेपछि त्यहाँको कम्युनिस्ट पार्टीका नेताहरू र कोमिन्ताङ नामक राष्ट्रवादी पार्टीका नेताहरू राष्ट्र बचाउन ऐक्यबद्ध भए च्याङकाइसेक र माओ मिलेर जापानी आक्रमणको सामना गरे। यस्ता उदाहरण अरू देशमा पनि छन्। जब हिटलरले मस्कोमा हमला गरे, त्यसबखत कम्युनिस्ट नेताहरूले ब्रिटेनका नेताहरूलाई पत्र लेखेर अनुरोध गरे, “पिटर द ग्रेटले ठुलो योगदान गरेर बचाएको भूमिको रक्षाका लागि मद्दत गर्नुहोस्।”
राष्ट्र सर्वोच्च, सर्वोपरि र शिरोमणि हुन्छ भन्ने हेक्का राख्ने हो भने कुनै समस्या छैन। दलहरू घरका कोठा हुन् र राष्ट्र हाम्रो साझा घर हो भनेर हृदयङ्गम गरेको खण्डमा कुनै राजनीतिक विचारले राष्ट्र कमजोर हुन सक्दैन।
राष्ट्र सबैलाई प्रिय लाग्छ। परदेशबाट घर फर्किन, शिर उठाएर बाँच्न र रमाएर हाँस्न स्वदेशभन्दा उपयुक्त ठाउँ कतै हुँदैन। विदेशमा प्रशस्त धन कमाएर बसेका मेरा एक मित्रले भने, “सानो कुरामा ठाकठुक परेपछि मेरै विदेशी पत्नीले भनिन्, “यो तिम्रो देश हो र!” त्यो बेला मलाई मेरो गाउँको सानो घर, परिवार र माया गर्नेहरूको याद आयो। वास्तवमा नेपाल भनेको नेपाल हो, हाम्रो साझा घर। जहाँ मन रमाउँछ, घर र स्वदेश त्यही हो।
उनी भावुक भए। करोडौँको सम्पत्तिका मालिक हुन् उनी। क्यान्सरबाट विदेशी पत्नी बितेपछि अचेल नेपालमै बस्छन्। छोराछोरीले वास्ता गर्दैनन् भन्दै थिए।
भौतिक सुखमा मात्रै रमाउन सिकिरहेका कतिपय सुविधाभोगी कालान्तरमा ‘आखिर श्रीकृष्ण रहेछ एक’ भन्ने अवस्थामा पुग्छन्। हाम्रो संस्कार, सभ्यता र संस्कृतिले त्यही सिकाएको छ। जस्तोसुकै विपत् परे पनि नआतिनु र जस्तोसुकै सुखमा पनि नमातिनु भन्ने सिकाएका छन्, हाम्रा पुर्खाले। यस कारण, अरूलाई सम्मान गर्नेहरू स्वतः सम्मानित हुन्छन्। समाजसेवा र राष्ट्रसेवा गर्न पद नै चाहिँदैन। योग्यता अनुसार दायित्व दिनु भन्ने शास्त्रीय वचन छ।
उपदेशशतकम् ग्रन्थमा भनिएको छ, योग्यं योग्याय दातव्यम् अर्थात् योग्यता अनुसार दिनू। यदाकदा अयोग्य मानिसले गहन जिम्मेवारी पाउन सक्छ, त्यसबाट राष्ट्रलाई क्षति हुन्छ। समाजमा निराशा फैलिने सम्भावना हुन्छ। तसर्थ, जनताले प्रतिनिधि चयन गर्दा इमानदार, सज्जन, कर्मठ र सदाचारी मात्रै छान्ने हो भने राष्ट्रघात र भ्रष्टाचार भयो भनेर चिन्ता गरिरहनै पर्दैन।
राष्ट्र सुदृढ, स्वावलम्बी र समुन्नत बनोस् भनेर सबैले चिन्ता गरेको पाइन्छ। पचपन्न राष्ट्र सामेल भएको अफ्रिकन युनियनका राष्ट्रमध्ये धेरैजसो दरिद्र छन्। सयौँ वर्ष उपनिवेशको सिकार थिए उनीहरू। इथियोपिया मात्रै पराधीन थिएन, सो क्षेत्रमा। अहिले स्वतन्त्र भनिए पनि कूटनीतिक दबाब, आर्थिक सङ्कट र अनेक कारणले धेरै अफ्रिकी राष्ट्र परावलम्बी छन्। यसको अर्थ, आत्मनिर्भर नभएसम्म बाहिरी दबाब भइरहन्छ भन्ने नै हो।
विवेकले संसार चलेको छ। घर र समाजमा त्यसको छुट्टै महत्व छ। पछिल्ला वर्षमा दक्षिण एसिया बहुध्रुवीय चासोको केन्द्र बनिरहेको हुँदा हामीले अस्तित्व रक्षाका लागि धेरै सतर्क हुनुपर्ने अवस्था छ। यसमा विवेक मात्रै पर्याप्त हुँदैन, स्पष्ट चिन्तन, दर्शन र सन्तुलित कूटनीति आवश्यक छ।
कतिपय राष्ट्रले क्षणिक स्वार्थमा वशीभूत भएर अस्तित्व गुमाए। भनिन्छ, बुद्धिमानले अरूको असफलता र पतनबाट शिक्षा लिन्छ तर मूर्खले केही नसिक्दा खाल्डोमा पर्छ। सुरुमा, हजारौँ साल पहिले संसारमा १७ वटा मात्रै राष्ट्र हुँदा हामी स्वतन्त्र राष्ट्र थियौँ। नेपाल एकीकरण भएको आठ वर्षपछि ब्रिटेनबाट स्वतन्त्र बनेको अमेरिका र प्रथम महायुद्ध (सन् १९१४–१९१८) पछि बलिया बनेका केही राष्ट्रको इतिहास साक्षी छ, राष्ट्रिय हितका सवालमा जबसम्म साझा रणनीति र समान धारणा हुँदैन, तबसम्म राष्ट्र धर्मराइरहन्छ।
लेखक गोरखापत्रका पूर्वप्रधान सम्पादक हुनुहुन्छ।