• २० असोज २०८१, आइतबार

तमोर नदीमा दुई बेपत्ता

blog

तमोर नदी । तस्बिर : कोकिला भण्डारी

कोकिला भण्डारी

धनकुटा, असार २१ गते । तमोर नदीमा खसेर दुई जना बेपत्ता हुनुभएको छ । तमोर करिडोर सडक निर्माणका क्रममा बुधबार साँझ करिब ५ बजे धनकुटाको चौबिसे गाउँपालिका –५ मुर्कुटेस्थित तमोर नदीमा खस्दा उहाँहरु बेपत्ता हुनुभएको हो ।

नदीमा खसेर बेपत्ता हुनेहरुमा मकवानपुर मनोहरीका ३२ बर्षीय राज तामाङ र १८ बर्षीय डुवा मोक्तान रहनुभएको छ । नदीमा खसेर बेपत्ता भएकाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख कृष्ण कोइरालाले जानकारी दिनुभयो ।  

धनकुटाको मुलघाट र पाँचथर जोड्ने तमोर करिडोर सडक निर्माणको काम भइरहेको छ । उहाँहरु सोही सडकमा काम गर्दै आउनुभएको थियो । सडक निर्माणको काम गरिरहेका बेला चिप्लिएर नदीमा खस्दा दुवै जनालाई नदीले बगाएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र कुँवरले जानकारी दिनुभयो । 

यसैगरी गत असार ८ गते पनि तमोर नदीले मोरङको बेलवारी घर भएका इन्जिनियर २३ बर्षीय सिद्धार्थकुमार खत्रीलाई बगाएको थियो । साँगुरीगढी –९ स्थित दिलुङटारमा मोटरेबल पुल निर्माणका लागि नापजाँच गर्नेक्रममा चिप्लिएर नदीमा खसेर बेपत्ता भएका खत्रीको अवस्था अझै अज्ञात छ ।