• २० असोज २०८१, आइतबार

चिया उद्यमीले पाए नेपाली ट्रेडमार्क

blog

उद्यमीलाई नेपाली ट्रेडमार्कको प्रमाणपत्र प्रदान गर्नुहुँदै राष्ट्रिय चिया तथा कफी बिकास बोर्डका निर्देशक डा. बिष्णु भट्टराई । तस्बिर : कविराज घिमिरे

कबिराज घिमिरे 

हिले, असार २१ गते । यो वर्ष ६ चिया उद्यमीले चियामा नेपाली ट्रेडमार्क पाएका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बिहीबार धनकुटाको हिलेमा आयोजित कार्यक्रममा इलाम, पाँचथर र भोजपुरका ६ चिया उद्यमीलाई ‘नेपाल टी क्वालिटी फाम् द हिमालयाज्’ ट्रेडमार्क प्रदान गरेको हो । 

बोर्डले एकै गुणस्तरको चिया उत्पादन गर्ने उद्देश्यले मापदण्ड पूरा गरेका नेपाली उद्यमीलाई यो ट्रेडमार्क प्रदान गर्दैआएको छ । नेपालको आफ्नै ट्रेडमार्कवाट अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने यो एक मात्र ट्रेडमार्क हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिया बिक्री गर्न  गुणस्तरमा सुनिश्चितता गर्न ट्रेडमार्क प्रदान गरिएको बोर्डका निर्देशक डा. विष्णु भट्टराईले जानकारी दिनुभयो । 

ट्रेडमार्क पाएका उद्यमीलाई चिया बिक्री गर्न समेत कुनै समस्या नहुने उहाँको भनाइ छ । त्यस्तै, उहाँले चिया बिक्री गर्न कुनै समस्या भएमा बोर्डमा समन्वय गरेमा आफूहरूले सहजीकरण गरिदिने समेत बताउनुभयो । सबै चिया उद्यमीलाई प्रक्रिया पूरागरी ट्रेडमार्क लिन उहाँको सुझाव छ । 

बोर्डले २०७७ सालबाट उद्यमीलाई नेपालकै ट्रेडमार्क प्रदान गर्न थालेको हो । अहिलेसम्म पूर्वका विभिन्न जिल्लाबाट २९ कृषकले ट्रेडमार्क पाएका छन् । जसमध्ये सबैभन्दा धेरै इलामका १८ उद्यमीले ट्रेडमार्क पाएका छन् । अहिले नेपाली उद्यमीले यही ट्रेडमार्कमार्फत विभिन्न देशमा नेपाली चिया निर्यात गर्दैआएका छन् ।