• १३ मंसिर २०८१, बिहिबार

लिग भलिबलको तयारी अन्तिम चरणमा

blog

फाइल तस्बिर ।

काठमाडौं, असार २१ गते । नेपाल भलिबल सङ्घको आयोजनमा शनिबारदेखि काठमाडौंमा सुरु हुने सातौँ प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग–२०८० को तयारी अन्तिम चरणमा पुगेको छ । 

लिगका लागि सहभागी टोलीले खेलाडी छनोट र प्रशिक्षण, विदेशी खेलाडी अनुबन्ध गर्ने काम गरिरहेका छन् । असार ३० गतेसम्म सञ्चालन हुने लिगको तयारी अन्तिम चरणमा पुगेको भलिबल सङ्घले जनाएको छ ।

सङ्घले वार्षिक कार्यक्रम अनुरूप नेपालको राष्ट्रिय खेल भलिबललाई बृहत् रूपमा विकास, विस्तार र प्रवर्धन तथा व्यावसायिकीकरण गर्दै लैजाने नीति अनुरूप राष्ट्रिय भलिबल क्लब लिग गर्न लागेको सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । 

लिगमा पुरुषतर्फ साविक विजेता त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ, टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब, शैलुङ्ग बागढुङ्गा स्पोर्टस् क्लब रामेछाप र दावाँली मिलन क्लब काठमाडौं गरी सात टोलीको सहभागिता रहनेछ ।

यसैगरी महिलातर्फ नेपाल पुलिस क्लब, होङ्गवाङ्गजी न्यू डायमन्ड यूथ स्पोर्टस् क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब  बुटवल र गण्डकी प्रदेश भलिबल सङ्घ गरी ६ टोलीको सहभागिता रहनेछ ।

च्याम्पियनसिपमा सहभागी पुरुष तर्फ १५ र महिला तर्फ आठ टिमको प्रतिस्पर्धाबाट लिगका लागि पुरुष तर्फ सात र महिला तर्फ ६ टिमको छनोट गरिएको जानकारी पनि चन्दले दिनुभयो । लिगमा प्रत्येक टोलीले तीन जना विदेशी खेलाडी राख्न पाउने प्रावधान राखिएको छ ।

लिगको च्याम्पियन टोलीले आगामी डिसेम्बरमा नेपालमा आयोजना हुने पुरुष क्लब च्याम्पियनसिपमा भाग लिन पाउनेछ । यस्तै विजेता टोलीले ६ लाख, उपविजेताले तीन लाख, तेस्रो हुनेले एक लाख ५० हजार र चौथो हुने टोलीले ७५ हजार रुपियाँ पुरस्कार पाउने सङ्घले जनाएको छ । 

पुरुष तथा महिलातर्फ सर्वोत्कृष्ट खेलाडीलाई जनही ३५ हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाईकर, लिवेरो र प्रशिक्षकलाई जनही १५ हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । लिगका खेलहरु राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहल कोर्टमा हुनेछ ।