• २८ मङ्सिर २०८२, आइतबार

त्रिविमा पात्रोको पालना

blog

शैक्षिक पात्रो अनुसार पढाइ, परीक्षा र नतिजा सम्पन्न गर्न नसक्दा मुलुकको उच्च शिक्षाको झन्डै ८० प्रतिशत विद्यार्थी भार बोकिरहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सार्वजनिक आलोचना खेप्दै आइरहेको छ। यस मातहत स्नातक तह दोस्रो वर्षका विद्यार्थीको पढाइ सकिएको छ महिना बितिसक्दा पनि परीक्षा तालिकासमेत सार्वजनिक भएको छैन। शैक्षिक पात्रो (क्यालेन्डर) नियमित भइदिएको भए ती विद्यार्थीले अहिले तेस्रो वर्षको पनि करिब आधा पाठ्यक्रम पढिसकेका हुन्थे। वार्षिक प्रणालीमा मात्रै होइन, सेमेस्टर प्रणालीमा सञ्चालन भइरहेका स्नातक तहकै तथा स्नातकोत्तर तहमा परीक्षा र पढाइ पनि नियमित छैन। दुई चार जना कम्प्युटर जान्ने कर्मचारीको अभावका कारण भन्दै समयमै परीक्षा र नतिजा सार्वजनिक नगरिँदा विद्यार्थीले थप अध्ययनको योजना बनाउन सकेका छैनन्। सरकारी रोजगारीमा प्रतिस्पर्धा गर्नबाट वञ्चित छन्। विद्यार्थीले हरेक वर्ष यो हैरानी खेप्दै आइरहनुपरेको छ। शैक्षिक पात्रो नियमित नभएको गुनासोलाई समाधान गर्न प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिनुभएको निर्देशनबमोजिम त्रिवि सम्बद्ध पक्ष व्यवहारमा उत्रे भने यो पाको विश्वविद्यालयको छवि चम्किन कठिन छैन। 

पाँच वर्षअघि त्रिविले सन् २०३० सम्म विश्वका उत्कृष्ट एक हजार विश्वविद्यालयमा पर्ने लक्ष्य घोषणा गरेको थियो तर त्यसको केही महिनाभित्रै विश्वविद्यालयको वर्गीकरण गर्दै आएको ब्रिटेनस्थित टाइम्स हाइयर एडुकेसनले सन् २०१९ का लागि गरेको मूल्याङ्कनमा त्रिवि पहिलो पटक विश्वका उत्कृष्ट एक हजार विश्वविद्यालयमा र एसियाका उत्कृट तीन सय विश्वविद्यालयमा परेको जनाएको भनी डङ्का पिटियो। अबको लक्ष्य उत्कृष्ट पाँच सयमा पर्ने भनियो। बाह्र वर्षे लक्ष्य बाह्र महिना पनि नबित्दै प्राप्त गर्नसक्ने कस्तो जादुगरी क्षमता र योग्यतमको प्राज्ञिक प्रदर्शन देखियो ? अचम्म लाग्नु स्वाभाविक हो। त्यसैबेला विश्व बैङ्कको ऋण लिएर चलाइएको उच्च शिक्षा सुधार परियोजनाको कार्यक्रम अनुसार तीनदेखि सात महिनाभित्र परीक्षफल प्रकाशन गरिनुपर्ने शैक्षिक कार्यक्रमको पात्रो परिपालनामा कायम अनियमितताले बेलायती त्यो संस्थाको उत्कृष्टता मापनकै विश्वसनीयतामा प्रश्न उठाइदिएको छ। 

विभिन्न सङ्काय अन्तर्गतका तीन–चार लाख विद्यार्थी पढ्ने त्रिभुवन विश्वविद्यालयसँग देशभरि एक हजारभन्दा बढी क्याम्पस आबद्ध छन्। अन्य विश्वविद्यालय नहुँदा नेपालीका सन्तानको उच्च शिक्षाका लागि त्रिविकै क्याम्पस निर्विकल्प जस्ता थिए तर त्रिविको शैक्षिक, प्राज्ञिक स्तर पनि राम्रो थियो। यसबाटै लोभलाग्दो बौद्धिक स्तरका व्यक्तित्वहरू उत्पादन भएर राष्ट्रिय आवश्यकताका क्षेत्रमा योगदान पनि दिएकै हुन्, अन्तर्राष्ट्रिय क्षेत्रमा समेत पुगेका छन् तर जसै त्रिविका पदाधिकारी, शिक्षक कर्मचारी नियुक्ति र नीति कार्यक्रममा राजनीतिक हस्तक्षेप बढ्न थाल्यो अनि सुरु भयो यसको स्खलन। शैक्षिक कार्यक्रम निर्धारित समय तालिकाबमोजिम नहुने मात्र होइन, अध्ययन अनुसन्धानका कर्म हुन छाडे, विद्यार्थीले गुरु चुट्न थाले, गुरुहरू राजनीतिक गोटी बने, उत्तरपुस्तिका जाँच्दा घुस चल्न थाल्यो। इत्यादि विकृतिले गाँजेपछि विश्व बैङ्कसँग ऋण लिएर सुधार परियोजना चलाउनु प¥यो तर फेरि पनि शैक्षिक पात्रोको पारिपालनामा उदासी देखिएकै छ। 

त्रिविको स्तरोन्नतिका लागि गरिनुपर्ने विभिन्न सुधारका लागि वैदेशिक ऋण र विदेशी नीति कार्यक्रम नक्कल नै छुमन्तर होइन। त्रिवि मातहतका प्राध्यापक शैक्षिक तथा प्राज्ञिक रूपले अब्बल क्षमता नभएका पनि होइन। फेरि ऋणका परियोजना चलाउने नै तिनै हुन्। तर विडम्बना यही हो, राजनीतिक झन्डा र डण्डाको भरमा पदप्राप्ति। त्रिविको जागिर खाए पनि कामका लागि अतिरिक्त पैसाको चाहना। अब्बल होइन, चञ्चल तर विश्वविद्यालयको मर्म नबुझेको व्यक्ति नेतृत्वमा पुगेपछि के समस्या हो र कहाँबाट सुरु गर्ने भन्ने न भेउ पाउँछ न स्वाभिमानले काम गर्न सक्छ। 

कम्तीमा जुनसुकै हालतमा शैक्षिक पात्रो अनुसार शैक्षिक गतिविधि चलाउने प्रतिबद्धतासहित चल्ने हो भने त्रिविभन्दा अन्यत्रतर्फको विद्यार्थी रुचिवेग थामिने थियो। शैक्षिक स्तर अनि प्रमाणपत्र हात पार्न लाग्ने समयको बेटुङ्गोका कारणले लाखौँ नेपाली विद्यार्थी विदेशिइरहेका छन्। तिनलाई रोकेर राष्ट्रलाई आफ्नै बौद्धिक तागतमा समृद्ध बनाउने स्तरीय जनशक्ति उत्पादक बन्नुपर्ने छ त्रिवि। गत साता विश्वविद्यालयको सभा तथा ६४ औँ वार्षिक दिवस बैठकलाई प्रधानमन्त्री एवं कुलपतिले निर्देशन दिएबमोजिम युगानुकूल शैक्षिक कार्यक्रम र पात्रो बनाई सोही अनुसार समयभित्रै पठनपाठन तथा नतिजा प्रकाशन गरिएमा पनि विद्यार्थीको समय, खर्च र भविष्यको सुरक्षामा त्रिवि गुरुस्वरूप अभिभावक ठहरिन सक्छ।