• १९ असार २०८२, बिहिबार

कसले जित्यो ? कसले हार्‍यो ?

blog

इजरायल र इरानलाई १२ दिनसम्मको आपसी संघर्षलाई त्यसभन्दा बढी चर्किन नदिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलले निर्णायक नतिजा निकाल्यो । लडाञीमा संलग्न दुवै पक्ष हानाहानको मोर्चाबाट फर्किन र युद्धविरामको सहमतिलाई लामो समयसम्म टिकाउन असार १० गते (२४ जून) सहमत भएका हुन् । सोचेअनुसार तत्कालको युद्धविराम रोकिएको हुँदा पश्चिम एसियामा दिगो शान्तिका लागि सरोकारवाला पक्षहरू सम्झौता–वार्तातर्फ अग्रसर हुने आशा गर्न सकिन्छ । लडाञीको थालनी इजरायलले इरानउपर हवाई हमला गरेपछि भएको हो, पटाक्षेप चाहिँ ट्रम्पको आदेशमा अमेरिकी हवाई सेनाका बी–२ बमवर्षक विमानले इरानका ती तीन ठाउँमा शक्तिशाली ‘बंकर–बस्टर बम’ प्रहार गरेपछि भयो जहाँ इरानले आणविक भट्टीहरू गोप्य रूपमा सञ्चालन गरेको अनुमान गरिँदै आएको थियो—फोर्डो, नताञ्ज र इस्फाहान । अमेरिकी हवाई कारबाहीबाट ती केन्द्रहरू तहसनहस भएको जानकारी स्वयं ट्रम्पले टेलिभिजनको प्रत्यक्ष प्रसारण मार्फत ‘विश्व’ लाई २२ जूनमा दिएका थिए । १२ दिनको अवधिमा इरानले प्रत्याक्रमणमा आकाशबाट सयकडौं क्षेप्यास्त्र प्रहार गर्दा इजरायलमा पनि जनधनको निकै क्षति भएको छ । यता, अमेरिकी कारबाहीको प्रत्युत्तरमा इरानले कतारमा रहेको अमेरिकी सैनिक अखडामाथि क्षेप्यास्त्र हानेको थियो तर त्यसबाट अमेरिकालाई खास क्षति भने भएन ।

अन्तर्राष्ट्रिय प्रेसमा आएका विवरण केलाउँदा इरानतर्फ सैनिक, वैज्ञानिक र सर्वसाधारणले ज्यान गुमाउनु परेको देखिन्छ । ६ सयजनाभन्दा बढी । इजरायलतर्फ करिब ३० जनाको मृत्यु भएको भनिन्छ । इजरायलको प्रेसले आफ्नोतर्फ थोरै नोक्सानीको आँकडा देखाउने गर्छ । इजरायली सैनिकहरूले आफ्नोतर्फ भत्किएका भवन एवं स्मारकहरूबारे समाचार संकलन गर्ने विदेशका माध्यमहरूलाई अवरोध गर्ने गरेका थिए । लडाञीको क्रममा इजरायलले दुई सयभन्दा बढी युद्धक विमान प्रयोग गरेको थियो भने इरानी सेनाले लामो दूरीमा मार गर्ने प्रकृतिका क्षेप्यास्त्रहरूको बाक्लो प्रयोग गरेको थियो । माथि नै भनियो, निर्णायक प्रहारमा अमेरिका नै संलग्न भयो र उसले भन्योः–अब इरानले आणविक हतियार हत्पति बनाउन सक्ने छैन ।’ यस दाबीप्रति अमेरिकाकै अखबार न्यूयोर्क टाइम्स र टेलिभिजन प्रसारण संस्था सीएनएनहरूले संशय प्रकट गरेका छन् ।

भय र आशंका

इजरायल र इरान एकापसमा भिडेका थिए, त्यसमा विश्वशक्ति अमेरिकाको प्रवेश हुनासाथ विनासकारी प्रकृतिको र वर्षौ लम्बिने ‘तेस्रो’ विश्वयुद्ध भड्कियो भन्ने अवधारणा विश्वका सबै देश तथा महादेशमा फैलिनु स्वाभाविक भयो । सन् १९३९–१९४५ को दोस्रो विश्वयुद्धले गराएको विनासको सम्झनाले सर्वत्र भय र त्रासको वातावरण झाँगिनु निराधार प्रतिक्रिया पनि होइन । दोस्रो विश्वयुद्ध सकिएपछि शीतयुद्धको चरण आएको मानिन्छ जसमा अमेरिका र तत्कालीन सोभियत संघ गरी दुई शक्तिशाली देशबीच प्रतिस्पर्धा भइरह्यो । सन् १९८९ मा बर्लिनको पर्खाल ढलेपछि पूर्व र पश्चिम जर्मनीको एकीकरण भयो, त्यसपछिको दुई वर्ष बित्दा–नबित्दै सोभियत संघ टुक्रियो र त्यो ठाउँमा रुस र अन्य १४ वटा स्वतन्त्र देशहरू जन्मिए । युक्रेन त्यसै क्रममा अस्तित्वमा आएको मुलुक हो जसमाथि सन् २०२२ को फरबरीमा रुसले आक्रमण ग¥यो । रुस–युक्रेन युद्ध जारी छ । जनधनको नोक्सानी दुवैतर्फ भइरहेको छ ।

राष्ट्रपति ट्रम्पले आफू ‘सेतो घर’ (ह्वाइट हाउस) प्रवेश गरेको चौबीस घण्टाभित्र रुस–युक्रेन युद्ध टुंगिने आश्वासन दिएका थिए, तर अहिले छैटौं महिनासम्म पनि लडाञी रोकिन सकेको छैन । उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको आफ्नो निकट सम्बन्धको उपयोग गरेर काम फत्ते गराउँछु भन्ठानेका थिए तर वातावरण तदनुरूप बन्न सकेन । र, बन्न नसक्नुको कारक ट्रम्प स्वयं हुन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई वाशिङ्टनमा डाकेर प्रेसको रोहबरमा ट्रम्पले हप्काएको दृश्य विश्वभर फैलिएको थियो । ट्रम्पले जेलेन्स्कीलाई धम्कीकै शब्द–शैलीमा प्रश्न गरेका थिए–‍के तेस्रो विश्वयुद्ध निम्त्याउन खोजेको हो ? ‘कारोबारी राष्ट्रपति’ भनेर चिनिने ट्रम्पले यस अवधिमा सम्झौताका सिलसिला पनि चलाएका हुन् तर सशस्त्र संघर्ष नरोकिएकाले ट्रम्पका बोलीको विश्वसनीयता ओह्रालो लागेको प्रष्टै छ । शीतयुद्धकालमा विश्वको एक मात्र शक्तिशाली देश थियो अमेरिका, तर अचेल समीकरणमा टड्कारो फेरबदल भइसक्यो । विश्वशक्तिको सन्दर्भमा पहिलेको सोभियत संघको स्थान जनवादी गणतन्त्र चीनले लिइसकेको छ । रुस–चीन निकट सम्बन्धलाई नियाल्दा त्यो पनि दह्रो विश्वशक्ति बनिसकेको देखिन्छ ।

हिरोशिमाको प्रसङ्ग

घटनाक्रमले देखाउँदै छन्, विश्वलाई तेस्रो महासमरको डिलमा पुर्‍याउने काम जानी–नजानी ट्रम्प आफैंले गरिरहेका छन् । युद्धविरामका लागि इजरायल र इरान राजी भएको लगत्तै पछि ट्रम्प नेदरल्याण्डस्को यात्रामा गए । त्यहाँ उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का ३२ देशको सम्मेलन हुँदै थियो । युक्रेनमा रुसको कारबाहीले झस्केका युरोपेली देशहरूले प्रतिरक्षा खर्च बढाउने विषय टुङ्गो लाग्दै थियो । त्यस्तैमा आयोजित प्रेस सम्मेलनमा ट्रम्पले भन्न पुगे– हिरोशिमा र नागासाकीका घटनाको उदाहरण दिनु त उपयुक्त नहोला तर इरानमाथिको हालैको हाम्रो कारबाही त्यसै श्रेणीको हो । यी दुई जापानी शहरमाथिको अमेरिकी कारबाहीले नै त दोस्रो विश्वयुद्ध समाप्त गरेको हो । हालै इरानमाथि खसेको बमले नै १२–दिने युद्धको अन्त्य भएको छ नि ।’ तर ट्रम्पले त्यस बखत भएको अणुबम प्रहारको घटनापछि नै अन्तर्राष्ट्रिय सुरक्षा खल्बलिन नदिन संयुक्त राष्ट्रसंघको स्थापना भएको कुरा बिर्सेजस्तो गरे, र राष्ट्रसंघबाट हुँदै आएको योगदानको उल्लेखसम्म गर्न आवश्यक ठानेनन् ।

राष्ट्रपति ट्रम्पले गरेको जापान र इरानको तुलनाप्रति जापानमा कडा प्रतिकृया पैदा भएको छ । जनस्तरको विरोधको साथसाथै इतिहासकार तथा कूटनीतिज्ञहरूले ट्रम्पको कथनउपर कडा शब्दमा आलोचना गरेका छन् । दोस्रो विश्वयुद्धको ‘वैधानिकता र नैतिकता’ बारे प्रश्न उठाएका छन् । नागासाकीका मेयर शिरो सुजुकीको भनाइ छः–अणु बम खसालेर हाम्रो शहरलाई ध्वस्त पारिएको घटनाको औचित्य साबित गर्ने प्रयास खेदजनक छ । स्मरणीय छ, सन् १९४५ को अगष्ट महिनामा अमेरिकाले यी दुई दक्षिणी नगरमा अणुबम खसाल्दा एक लाख ४० हजारभन्दा बढी मानिस मारिएका थिए । बीबीसीको एक अध्ययन अनुसार, त्यस बखत बाँचेका नर–नारीमा परेको मनोवैज्ञानिक आघात कायम छ, र आजको दिनसम्म पनि अर्बुद (क्यान्सर) रोगको उच्च जोखिम बेहोर्न यी नगरका जापानीहरू बाध्य छन् ।

यता, राष्ट्रपति ट्रम्प यसरी छोटो अवधिमा युद्ध रोक्न, रोकाउन सफल भएबापतको श्रेय आफूले पाउनुपर्ने अपेक्षा गर्दैछन् । किनभने उनी भारत–पाकिस्तान संघर्षविराम गराउन र हालै मात्र कङ्गो–रुआण्डा शान्ति सम्झौता गराउन आफू खटेको सन्दर्भको पनि श्रेय लिन चाहन्छन् । अर्को शब्दमा, विश्वशान्तिका लागि गरेका प्रयासको कदरस्वरूप आफूलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिनुपर्ने उनको अपेक्षा हो । ट्रम्पलाई बाराक ओबामाले पहिलो कार्यकालको आरम्भमै (सन् २००९) नोबेल शान्ति पुरस्कार प्राप्त गरेकोमा ईष्र्या लागेको छ । ट्रम्पको मनसाय बुझेर होला, पाकिस्तानको सरकारले नोबेल पुरस्कारका लागि उनको नाम औपचारिक हिसाबले प्रस्ताव पनि गरेको छ, परन्तु नोबेल पुरस्कार समितिका बेग्लै नियम र मापदण्ड छन्, जसका आधारमा ट्रम्प पुरस्कृत हुने सम्भावना देखिँदैन भनेर जानिफकारहरूले लेखिसकेका छन् ।

लाभ र हानि

यसक्रममा जय–पराजयका कुरा आएका छन् । अमेरिका, इजरायल र इरान सबै यस युद्धमा आफूलाई विजयी ठान्दछन् । तिनका दाबीले यसै कुरालाई इङ्गित गरेको छ । आधुनिक प्रविधिमा आधारित हात‍–हतियार उत्पादनमा लागेका उद्योगी–व्यापारीले पनि लाभ नै हासिल गरेका होलान् । थपमा, नानाथरीका युद्धक विमान र उपकरणको परीक्षण गर्ने अवसर आयो । लडाञीको अवधिमा पश्चिम एसियाका हवाईमार्गहरू अवरुद्ध हुँदा यात्रुले कठिनाइ भोग्नुपरेका समाचार पनि आइरहेका थिए । यात्राको व्यवसायमा लागेकाहरू पनि घाटापूर्तिका विकल्प खोजिरहेका होलान् तर यी तपसिलका कुरा हुने भए ।

अमेरिकी सैन्यबलको आडमा इजरायल लाभान्वित भएको प्रष्टै छ । गाजापट्टीमा निरन्तर भइरहेको नरसंहारप्रति ट्रम्पले आँखा चिम्लिदिनाले त्यस मोर्चामा पनि इजरायलले आफ्नो हात माथि परेको अनुभव गरेको छ । तर यो अल्पकालीन लाभ हो, यथार्थमा मानवीय र केही भौतिक क्षति बेहोर्नु परे तापनि समग्रमा यसपल्ट इरान बलियो प्रमाणित भएको छ । यसले न ‘बिनासर्त आत्मसमर्पण’ गर्न ट्रम्पले दिएको धम्कीको परवाह ग¥यो, न त अमेरिकी आक्रमणको जवाफमा कतारको अमेरिकी अखडामा क्षेप्यास्त्र प्रहार गर्नबाट पछि हट्यो । आणविक शक्ति विकास गर्ने इरानको क्षमतालाई ढाड भाँचिदिएका छौं भन्ने ट्रम्प–टोलीको आकलनबारे अमेरिकामै प्रश्न उठिरहेका छन् । यसैगरी, इजरायलले पनि उसले अनुमान गरेको भन्दा गतिलो जवाफी–प्रहार खेप्नु, बेहोर्नु पर्‍यो ।

इरानले हर्मुज जलडमरूमा जलमार्ग रोकिदिए धेरै देश प्रभावित हुने टड्कारो स्थिति छ । यी र यस्तै कारक र कारणका आधारमा जोड–घटाउ गर्दै जाँदा लडाञीको सर्वाधिक लाभ इरानलाई भएको देखा पर्छ । तसर्थ इरान एक ‘क्षेत्रीय शक्ति’ को रूपमा स्थापित भएको छ भन्ने विश्लेषक पी.खरेलको निचोड तर्कसम्मत मानिनु पर्छ (द राइजिङ नेपाल, १६ असार) ।

अमेरिकी चिन्तक एवं विश्लेषकहरूको प्रारम्भिक आकलन हेर्दा अमेरिका सैनिक ‘बल’ मा अगाडि नै छ, तर यसपल्टको घटनाले विश्वस्तरमा उसको एकत्रित ‘शक्ति’ भने क्षीण हुँदै गएको निष्कर्ष निस्कन्छ । विदेश नीतिका चर्चित लेखक रिचार्ड हासले सन् २०१३ तिरै लेखेका रहेछन्–अमेरिका बाहिरी मामिलामा बढी सक्रिय तर घरेलु चुनौतीको सामना गर्ने मामिलामा कम सक्रिय देखिन्छ । यस्तो शैलीले विश्वमञ्चमा अमेरिकाको उपस्थिति कायम त रहला तर विगतमा झैं प्रभावकारी नरहन सक्छ ।