• १८ मङ्सिर २०८२, बिहिबार

सिक्टा सिँचाइको काम तीव्र गतिमा

blog

डुडुवा नहरको दोस्रो प्याकेज अन्तर्गत नेपालगन्ज–२२ मा नहर निर्माण गरिँदै । तस्बिर : सिराज खान

नेपालगन्ज समाचारदाता 

नेपालगन्ज, मङ्सिर १८ गते । लामो समयदेखि अलपत्र बनेको सिक्टा सिँचाइ आयोजना अन्तर्गतको डुडुवा नहरको निर्माण कार्य पुनः सुरु भएर तीव्र गतिमा अगाडि बढेको छ । आयोजनाको मूल नहरबाट १८ क्युमेक्स (हजार लिटर प्रतिसेकेन्ड) पानी डुडुवा नहरमा खसालेर करिब ४६ किलोमिटर लामो डुडुवा शाखा नहर निर्माणका लागि आयोजनाले दुई वटा प्याकेजमा ठेक्का आह्वान गरेको थियो । 

पहिलो प्याकेजमा मूल नहरबाट डुडुवा शाखा नहरमा पानी झार्न आवश्यक पर्ने संरचनासहित जानकी गाउँपालिकाको पिप्रहवा चोक हुँदै राँझा विमानस्थलसम्म छ किलोमिटर शाखा नहरका साथै पिप्रहवा चोकबाट खजुरासम्म १० किलोमिटर र राँझा विमानस्थलदेखि मानपुरसम्म आठ किलोमिटर नहर निर्माण हुने छ । पहिलो प्योकजबाट जानकी र खजुरा क्षेत्रको सात हजार २७१ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुग्ने छ । 

आयोजनाका अनुसार दोस्रो प्याकेजमा राँझा विमानस्थलदेखि पूर्व–दक्षिणतर्फ पर्ने हिरमिनिया क्षेत्रसम्मको १८ किलोमिटर नहर निर्माण हुने छ । सो काम पूरा गरिएपछि उक्त क्षेत्रका आठ हजार ७८३ हेक्टरमा सिँचाइ सुविधा पुग्ने छ । 

दोस्रो प्याकेजको तीन वर्षे योजना अनुसार हाल सुरु गरिएको डुडुवा नहरको निर्माण कार्य रामेछाप शेर्पा कन्स्ट्रक्सन प्रालिले एक अर्ब १२ करोडभन्दा बढीको लागतमा गरिरहेको छ । सिक्टा सिँचाइ आयोजना कार्यालयका इन्जिनियर नवीन पौडेलले उक्त योजना अन्तर्गत १८ किलोमिटर नहर मर्मत तथा पुनः निर्माण गरिने बताउनुभयो । 

उहाँले वर्तमान ठेक्का ‘तीन वर्षे योजना’ अनुसार समयमै सम्पन्न गरिने जनाउँदै डुडुवा नहरको मुख्य संरचना, ढलान, बाँध, शाखा–उपशाखा सुधार हुँदै निर्माण पूरा भएपछि नियमित नहरमा पानी प्रवाह हुने बताउनुभयो । 

दुवै प्याकेजको काम पूरा भई डुडुवा नहर सञ्चालनमा आएपछि सो क्षेत्रका करिब १६ हजार हेक्टर खेतबारीमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध हुने आयोजनाले जनाएको छ । 

स्थानीय किसान नहर निर्माणपछि विशेष गरी धान, गहुँ र मकै खेतीको उत्पादन वृद्धि हुनेमा आशावादी छन् । नेपालगन्ज–२२ का वडाध्यक्ष अब्दुल गफ्फार हलवाईले लामो समयदेखि ‘पानी अभाव’ सहँदै आएका डुडुवा, खजुरा नेपालगन्ज र जानकी क्षेत्रका किसानको समस्या अब समाधान हुने विश्वास गरिएको बताउनुभयो ।  उहाँले आफ्नो वडाबाट बग्ने सो नहर निर्माणपछि बाहै्र महिना किसानले तरकारीलगायतका विभिन्न खेती गर्न पाउने हुँदा किसान उत्साहित भएको बताउनुभयो । 

डुडुवा नहर निर्माणको पहिलो ठेक्का सम्झौता २०७३ साल असार १२ गते गरिएको थियो । उक्त सम्झौता अनुसार ९८ करोड ८१ लाखको लागतमा नहर निर्माण २०७५ साल पुस ४ गतेभित्र सक्ने योजना थियो तर निर्माण व्यवसायी र आयोजनाबिच विवाद उत्पन्न भएपछि २०७४ साल चैत २८ देखि निर्माण पूर्ण रूपमा रोकिएको थियो ।