• १८ मङ्सिर २०८२, बिहिबार

नोभेम्बरमा २५५ जनालाई एक्यापको स्वास्थ्य सेवा

blog

एक्याप मनाङको स्वास्थ शाखामा स्वास्थ्य परीक्षण गराउँदै एक विदेशी पर्यटक । तस्बिर : यदुप्रसाद भट्ट

यदुप्रसाद भट्ट
मनाङ, मङ्सिर १८ गते ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत इलाका संरक्षण कार्यालय मनाङद्वारा सञ्चालित स्वास्थ्य सेवा शाखाले नोभेम्बर २०२५ महिनाभरमा विभिन्न स्वास्थ्य सेवामार्फत २५५ जनालाई सेवा प्रदान गरेको छ । प्राप्त विवरणअनुसार सेवाग्राहीमध्ये १२५ पुरुष तथा १३० महिला रहेका छन् । स्थानीय समुदायसँगै स्वदेशी तथा विदेशी नागरिकहरू उक्त सेवाबाट लाभान्वित भएका छन् ।

स्वास्थ्य सेवा शाखाले नियमित स्वास्थ्य परीक्षण, उपचार, परामर्श तथा आकस्मिक स्वास्थ्य सहायतालगायतका सेवा प्रदान गर्दै आएको छ । हिमाली भेगमा स्वास्थ्य सेवा पहुँच सीमित रहेको अवस्थालाई दृष्टिगत गर्दै शाखाद्वारा प्रदान गरिएका सेवाले स्थानीयवासी र मनाङ घुम्न आउने पर्यटकहरूलाई विशेष सुविधा पुगेको एक्याप मनाङले जनाएको छ ।

उक्त अवधिमा १५ जना व्यक्तिले उच्च भू–उचाइ लेक लाग्नेसम्बन्धी समस्या लिएर सेवा प्राप्त गरेका छन् । मनाङ क्षेत्र उच्च उचाइमा अवस्थित भएकाले शारीरिक असहजता, श्वासप्रश्वासमा कठिनाइ, चक्कर, टाउको दुःखाइ तथा शरीर सुन्निने जस्ता समस्या देखिने भएकाले कार्यालयले समयमै स्वास्थ्य परामर्श लिन आग्रह गर्दै आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका कार्यालय प्रमुख ढकबहादुर भुजेलले बताउनुभयो ।

स्वास्थ्य शाखाले उच्च उचाइमा स्वास्थ्य जोखिम न्यूनीकरणसम्बन्धी जानकारी प्रदान गर्दै पर्यटक तथा स्थानीयवासीलाई आवश्यक सतर्कता अपनाउनसमेत अनुरोध गरेको छ । साथै, कार्यालयले सुरक्षित पर्यटन प्रवर्धनमा सहयोग पुग्ने उद्देश्यले स्वास्थ्य सेवा तथा जनचेतनामूलक गतिविधिहरूलाई निरन्तरता दिइरहेको जनाएको छ ।