• १८ मङ्सिर २०८२, बिहिबार

संखुवासभा अस्पताललाई अत्याधुनिक इन्क्युबेटर हस्तान्तरण

blog

नर्सिङ ट्रस्ट यूकेकि अध्यक्ष हामब्लिनले जिल्ला अस्पतालका टिमलाई उपकरण हस्तान्तरण गर्नुहुँदै । तस्बिरः सुजन बज्राचार्य

सुजन बज्राचार्य
संखुवासभा, मङ्सिर १८ गते ।
संखुवासभा जिल्ला अस्पताललाई नर्सिङ ट्रस्ट यूकेले दुईवटा अत्याधुनिक इन्क्युबेटर उपलब्ध गराएको छ । समयअवधि पूरा नहुँदै जन्मिने नवजात शिशुको उपचारमा अत्यावश्यक मानिने इन्क्युबेटर प्राप्त भएपछि अस्पतालको नवजात सेवा क्षमता अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

बुधबार आयोजित औपचारिक समारोहमा ट्रस्टकी अध्यक्ष सुसन हामब्लिनले जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष सुमन शाक्य र अस्पताल प्रमुख डा. सन्तोष देवलाई इन्क्युबेटर हस्तान्तरण गर्नुभएको हो । ट्रस्टले संखुवासभालाई दुई थान र मुगु जिल्लालाई एक थान इन्क्युबेटर उपलब्ध गराएको हो ।

जिल्ला अस्पतालमा वर्षेनी करिब दुई हजार महिला सुत्केरी हुने गर्छन् । समयअवधि पूरा नहुँदै जन्मिने शिशुको उपचारमा इन्क्युबेटर अत्यन्त आवश्यक मानिन्छ । तापक्रम, चिस्यान र अक्सिजन नियन्त्रणसहित सुरक्षित वातावरण उपलब्ध गराउने यस इन्क्युबेटरकै अभावमा जोखिमपूर्ण अवस्थामा जन्मिने धेरै शिशुको उपचारमा चुनौती हुँदै आएको थियो । इन्क्युबेटर सञ्चालनमा आएपछि नवजात शिशु उपचार सेवा अझ प्रभावकारी र सहज हुने अस्पताल प्रमुख डा. सन्तोष देवले बताउनुभयो । आवश्यक जनशक्ति र पूर्वाधार व्यवस्थापन मिलाएर उपकरण छिट्टै सञ्चालनमा ल्याइने उहाँले जानकारी दिनुभयो ।

स्थानीय तह, दातृ संस्था र अस्पतालको सहयोगले संखुवासभामा नवजात शिशुको स्वास्थ्य सेवा अझ राम्रो र सहज रूपमा उपलब्ध हुने अपेक्षा गरिएको छ ।