तानसेन समाचारदाता
तानसेन, मङ्सिर १८ गते । लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना अन्तर्गत पाल्पाको पश्चिम भेग जाने सडकको निर्माण सुरु भएको छ । पाल्पाको हार्थोक–छहरा सडकखण्डको झन्डै छ किलोमिटर सडक यस वर्षदेखि निर्माण सुरु भएको हो । लुम्बिनी प्रदेश सरकारले छ वर्षअघि पाल्पाको रामपुरदेखि सल्यानको कपुरकोटसम्म पुग्ने २९० किमी सडक निर्माण गर्ने घोषणा गरेको थियो । सोही योजना अनुसार चार वर्षदेखि पाल्पाको पूर्वी भेगको रामपुर–आर्यभन्ज्याङ सडकखण्डमा काम भइरहेको छ ।
यातायात पूर्वाधार निर्देशनालय रुपन्देहीका सूचना अधिकारी अरुण गुप्ताले पाल्पाकै पश्चिम क्षेत्रमा भने यो वर्षदेखि काम सुरु भएको जानकारी दिनुभयो । उहाँले यस वर्ष पाँच किलोमिटर ८८० मिटर सडक निर्माण गर्न ठेक्का भई काम सुरु भएको बताउनुभयो । सडक निर्माणका लागि १६ करोड ३१ लाख १९ हजारमा एमएस राजेश्वरी–रमानिया–आर एन्ड आर जेभी गुल्मीसँग २०८२ असोज ७ गते ठेक्का सम्झौता भएको छ ।
२०८४ साल असोज २६ गतेभित्र काम सक्ने गरी गौरवको आयोजनाको सम्झौता भएको निर्देशनालयले जनाएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि रामपुर कपुरकोट आयोजनाको हार्थोक–छहरा खण्डका लागि पाँच करोड पाँच लाख बजेट विनियोजन गरेको छ । निर्माण व्यवसायीले अहिले सडक चौडा गर्ने, रिटेनिङ पर्खाल बनाउने, जग निर्माण गर्ने काम गरिरहेको छ । रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले लामो समयदेखि जीर्ण रहेको यो सडक बनेपछि पाल्पाको पश्चिम भेग, अर्घाखाँची र गुल्मीसम्मको यात्रा सहज हुने बताउनुभयो । लामो समयदेखि जीर्ण रहेको यो सडक बनेपछि यस भेगका नागरिकले सहज रूपमा यात्रा गर्न पाउने अध्यक्ष कार्कीको विश्वास छ ।
डेढ दशकअघि तत्कालीन जिल्ला विकास समितिले सदरमुकाम तानसेनदेखि पश्चिम भेग जाने यो सडकखण्डमा तीन मिटर चौडा ओटासिल प्रविधिबाट कालोपत्रे गरेको थियो । यस्तै पाल्पाको पूर्वी भेग जाने आर्यभन्ज्याङ–रामपुर सडकमा समेत ओटासिल गरेको थियो । यही सडकलाई प्रदेश सरकारले छ वर्षअघि स्तरोन्नति गर्दै सडक निर्माण गर्ने घोषणा गरेको थियो । यो सडकले लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरू जोड्दै गण्डकी प्रदेश र कर्णाली प्रदेशसम्म यातायात पहुँच विस्तार गर्ने छ । १० वर्षभित्र काम सक्ने गरी योजना बने पनि बजेट अभावका कारण अधिकांश भागमा काम हुनै बाँकी रहेको छ ।
रामपुर–कपुरकोट सडक अन्तर्गत पाल्पा, अर्घाखाँची, प्युठान, रोल्पा र सल्यान गरी २९० किलोमिटर सडक निर्माण गर्ने योजना छ । त्यसमध्ये सबैभन्दा बढी १०५ किलोमिटर सडक पाल्पा क्षेत्रमा निर्माण गर्ने योजना रहेको रुपन्देहीस्थित निर्देशनालयले जनाएको छ । यो सडक निर्माण गर्न २० अर्ब बजेट लाग्ने अनुमान गरिएको छ ।