• ६ जेठ २०८१, आइतबार

समाजवादी मोर्चाको स्थायित्व

blog

गठबन्धन नेपाली राजनीतिको एउटा अनिवार्य आवश्यकता हो। नेपालमा अहिलेको राजनीति प्रणाली अनुसार कुनै एक दलद्वारा पूर्ण बहुमत हासिल गरेर सत्ता सञ्चालन गर्न सक्ने सम्भावना निकै कम छ। साथै, नेपालमा विषम समाज छ र सरकार सञ्चालनमा साना दल उदाउँदै छन्। प्रजातन्त्रको प्रादुर्भाव भएपछि पनि कम समयमा नै सरकार परिवर्तन हुने क्रम जारी रह्यो। स्वार्थ केन्द्रित राजनीतिले शासनमा प्रतिकूल प्रभाव पा-यो र विकास सुशासनमा अपेक्षा गरिएको परिणाम हासिल हुन सकेन। 

भारतमा सन् २०१४ मा भारतीय जनता पार्टीले पूर्ण बहुमत ल्यायो। लगभग ३० वर्षपछि एकै दलको बहुमत आएको हो। राजनीतिक विश्लेषकहरूले दक्षिण एसियामा गठबन्धनको युग समाप्त भएको घोषणासमेत गरे तर बहुमत प्राप्त भए पछि पनि साना र कतिपय प्रान्तीय दलहरूको प्रभाव कायमै रह्यो। गठबन्धन समाप्त भएन बरु गठबन्धन नयाँ नयाँ स्वरूपहरू निर्माण भयो। 

सकारात्मक पहल 

नेपाललगायत दक्षिण एसियाका प्रायः मुलुकमा विभिन्न दल मिलेर राजनीतिक सत्ता सञ्चालनका लागि मोर्चा वा गठबन्धन बनाएका छन् तर नेपालमा दलहरूले चुनावको समयमा गठबन्धन गरे पनि वैचारिक धरातलमा नै उभिएर एक छुट्टै मोर्चा बनाई लामो समय टिकेको उदाहरण पाइँदैन। नेपालका कम्युनिस्टले बनाएको मोर्चामा त अस्वाभाविक विखण्डनसमेत आउने गरेको छ। यसै सन्दर्भमा हालै कम्युनिस्ट पार्टीहरूको वर्चस्व भएको  समाजवादी मोर्चा गठन भएको छ। मोर्चाका नेताहरूले अहिले आबद्ध राजनीतिक दल मात्र नभई अन्य दललाई समेत समाजवादी मोर्चामा आबद्ध गर्ने जनाएका छन्। यो ज्यादै सकारात्मक अभिव्यक्ति हो तर पनि विगतमा नेपालका दलहरूको इतिहास हेर्दा आशङ्का उब्जिन सक्ने आधारहरू प्रशस्त देखिन्छ। अहिले बनेको मोर्चाको प्रकृति पनि यस्तै हो कि भनेर कतिपय मानिस सशङ्कित भएका छन् र समाजवादी मोर्चाको भविष्यको बारेमा मिश्रित प्रतिक्रिया सार्वजनिक भएको छ तर सत्ता सञ्चालन र दीर्घकालीन राजनीतिक स्थायित्वका लागि राजनीतिक दलहरू एकै ठाउँमा आउन पर्ने आवश्यकता भने नेपालमा टड्कारो देखिएको छ। 


राजनीतिक अस्थिरता

नेपालमा लामो समयदेखि पूर्णकालीन सरकार बनेको इतिहास देखिँदैन। विश्लेषकहरूले पूर्ण अवधि सरकार चल्न नसक्नुमा राजनीतिक अस्थिरतालाई एउटा प्रमुख कारण मानेका छन्। राजनीतिक अस्थिरता एउटा महत्त्वपूर्ण अवधारणा हो तर यसको सटिक अर्थ स्पष्ट छैन तैपनि बारम्बार भइरहेको राजनीतिक परिवर्तनले नेपालमा राजनीति अस्थिरता समाप्त भएको छ भन्ने स्पष्ट आधार देखिँदैन। बारम्बार सरकारमा भइरहने परिवर्तनले शासनमा स्थिरता हुन सक्दैन। सरकारमा स्थिरता नहुनु भनेको राजनीतिक अस्थिरता हो र यसले कालान्तरमा प्रतिकूल प्रभाव पार्न सक्छ।

आर्थिक गिरावट, जातीय सङ्घर्ष हुँदा लोकतन्त्रको आगमन पछि पनि शक्ति सङ्घर्ष भइ नै रह्यो। विगतमा नेताहरूले आफ्नो क्षमताले भ्याएसम्म राजनीतिक स्थायित्वका लागि प्रयास नगरेको भने होइन। पटक पटक दलबिच कहिले दलकै एकीकरण त कहिले चुनावको समयमा गठबन्धन भई  रह्यो। सत्ता सञ्चालनका लागि गठबन्धन भए पनि राजनीतिक स्थिरता कायम रहन सकेन र पटक पटक कम समयमा नै सरकार परिवर्तन भइरह्यो। यसरी गठबन्धन लामो समय कायम हुन नसक्नुका अनेक कारण छन्।  

विगतमा नेपालमा राजनीतिक मोर्चा वा गठबन्धनको स्थायित्वको नहुनुमा राजनीतिक कारण मात्र नभई सामाजिक र मनोवैज्ञानिक कारण पनि छ। केही सामाजिक र आर्थिक स्थितिद्वारा निराश उत्पन्न हुने गरेको पनि थियो। फलस्वरूप केही नेताहरूले सङ्घीयताका नाममा देश विखण्डनको समेत नारा लगाए तर त्यसलाई नेपाली जनताले निष्व्रिmय बनाइदिए। 

अनुकूल सामाजिक परिवेश नहुँदा मानिसहरूमा हतास मनस्थितिको सिर्जना हुन्छ। आधुनिकीकरणको प्रव्रिmयाबाट उत्पन्न अनुकूल सामाजिक परिस्थिति, खराब ‘स्कुलिङ’, दोषयुक्त शैक्षिक प्रणाली, जीवनको अनुभव र जिउनका लागि शिक्षाको अप्रासङ्गिकता, सामाजिक गतिशीलता र संस्कृतीकरणको प्रभावका कारण जनतामा चरम निराशा उत्पन्न भयो भने नेतृत्व तहलाई कहिलेकाहीँ अप्रासङ्गिक राजनीतिक निर्णय लिनका लागि सामाजिक दबाब बढ्ने गर्छ। नागरिकमा निराशाको भावना प्रबल भयो भने मोर्चा फुट्न सक्ने आधार बन्न सक्छ। यसका साथै मोर्चामा भएका केही नेताहरूको महìवाकाङ्क्षाले मोर्चामा विखण्डनको स्थिति जन्मन पनि सक्छ। एक स्थिर मोर्चाका लागि मोर्चाको विशेषताको बारेमा स्पष्ट हुनु पर्छ। नाजायज किसिमको मागको सम्बोधन गर्न वा सत्ता प्राप्तिका लागि मात्र मोर्चा बन्यो भने त्यस्तो मोर्चाको नाम जे भए पनि त्यसको स्थायित्व हुँदैन। अझ राजनीतिक अस्थिरता बढने गर्छ। 

अपेक्षाको घडी 

अहिले गठन भएको मोर्चाबाट राजनीतिक स्थिरताको हुन सक्छ भन्ने आशा गर्न सकिन्छ तर यसको मतलव यो शङ्कारहित छ भन्न खोजिएको होइन। सैद्धान्तिक आधारमा समान उद्देश्य भएका राजनीतिक दल कुनै एक मोर्चामा आबद्ध भए भने मोर्चाको स्थायित्व हुन सक्छ र त्यसले राजनीतिक स्थिरता ल्याउन सक्छ। यसका निम्ति मोर्चाको रूपात्मक विश्लेषण गर्न जरुरी छ भने मोर्चामा आबद्ध नेताहरूको राजनीतिक दक्षताको विश्लेषण पनि गर्न जरुरी हुन्छ। त्यो भनेको राज्य प्रबन्धन र शासनको डिजाइन हो। खाली हाम्रो मोर्चा गठन भयो अब स्थिरता आउँछ भनेर भन्दा नागरिकहरूले पत्याउन सक्ने वातावरण सिर्जना हुन सक्दैन। यस कारण अहिले गठन भएको मोर्चालाई  समाजवादी मान्यताभन्दा पनि राजनीतिक स्थिरताको दृष्टिकोणले हेर्न आवश्यक छ। राजनीतिक स्थिरता भनेको राजनीतिक खतराको अनुपस्थिति, राजनीतिक र संवैधानिक विषयमा अपरिवर्तनीयता, र राजनीतिक शक्तिको सन्तुलन महत्त्वपूर्ण हुन्छ। त्यसका लागि मोर्चा पहिला आफैँ स्थिर बन्न सक्नु पर्छ। 

यहाँनेर बुझ्नु पर्ने कुरा के छ भने राजनीतिक दलको मोर्चा भनेको निकटताको पर्याय होइन जो सोच्ने गरिएको छ। अहिले मोर्चामा आबद्ध दलहरू निकट भए भनेर मात्र निष्कर्ष निकालियो भने त्यो सर्वथा गलत हुन्छ। मोर्चा भनेको निकटता हुँदै होइन। मोर्चा गठन हुँदैमा राजनेतालाई सत्ता संरचनामा राजनीतिक नियन्त्रणभन्दा बाहिर विकसित हुने अनुमति दिन मिल्दैन। यस्तो ठान्नु हुँदैन। वैधानिक प्रणाली तोड मरोड गर्ने र राजनीतिकका केही शीर्ष खेलाडी या अभिनेताको गतिविधिलाई लोकप्रिय बनाउने आधार मोर्चालाई बनाइयो भने त्यसले समग्र देशलाई हित गर्दैन। एक प्रणालीव्यापी सम्पत्तिको रूपमा अखण्ड राजनीतिक प्रणाली स्थिरताका लागि एक अभिन्न आधार हो भनेर बुझ्नु पर्छ मोर्चालाई। मोर्चा गठन गर्नुको उद्देश्य गतिशीलतालाई बढावा दिनका लागि हो।  

सङ्क्षेपमा मोर्चा गठनलाई समाजमा संसाधनको वितरणमा केवल राजनीतिक प्रणालीको संस्थागत उपप्रणाली मात्रै सीमित गर्न नभई कार्यात्मक, नियामक र वैचारिक उपप्रणाली पनि हो भनेर बुझ्नु पर्छ। ध्यान दिनुपर्ने कुरा के छ भने कार्यात्मक नियामक र वैचारिक प्रणालीको स्पष्टता नभई विकासको प्रक्रिया निर्धारित गर्नै सकिन्न र त्यसले समाजमा संसाधनको वितरणमा केही भूमिका खेल्न सक्दैन। मोर्चामा कति सदस्य जोडिए त्यो महत्त्वपूर्ण विषय नहुन सक्छ र मोर्चामा सङ्ख्याको घटीबढी भइरहन सक्छ। 

मोर्चाको स्थिरता एक आदर्शमा टिकेको हुन्छ। जहाँ व्यक्ति तथा आबद्ध दलहरू डर वा स्वहितका लागि काम नगरी नैतिकताको आधारमा मोर्चाको आदेश तथा नियमको पालना गर्छन्। यसो भयो भने मोर्चा स्थिर हुन सक्छ। सुव्यवस्थित मोर्चाको एक अधिक परिष्कृत मोडेल विशेषको हुन सक्छ। एक एजेन्टमा आधारित मोडेल पनि हुन सक्छ। यस्तो मोडेल भनेको राजनीतिक स्थिरताका लागि बनाइएको मोर्चा जो तीन अवधारणाको आधारमा विकसित गरिएको हुन्छ संसारभर। स्थायित्व, सन्तुलन र प्रतिरक्षा। एउटा समाजवादी मोडेलको मोर्चा भनेको एउटा यस्तो सुव्यवस्थित समाजको निर्माण जहाँ कम अल्पकालीन परिवर्तनशीलताको साथ आफ्नो नागरिकहरूका लागि उच्च स्तरको सामाजिक विश्वास र सहकार्य देखाउन सक्षम होस्। एक सुव्यवस्थित समाजले समाजवादी अवधारणालाई जीवन्त बनाउँछ। राजनीतिक अस्थिरताको विरोध गर्छ। एक स्थिर आदर्श समाज बनाउनका लागि गैर आदर्श पूर्वसर्त परिभाषित गर्न जरुरी छ। 

नाम मात्रै समाजवादी भएर हुँदैन, मोर्चा गतिशील हुन पनि जरुरी छ। यसको ‘भर्टिकल र होरिजेन्टल’ फैलावट आवश्यक हुन्छ। उद्देश्य र अवधारणाको आधारमा मोर्चालाई फराकिलो बनाउन सक्नु पर्छ। समाजवादीको मूल्य र मर्मलाई पनि आत्मसात् गर्नु पर्छ। यति बुँदे सहमति भयो भनेर शीर्ष नेताहरूले हस्ताक्षर गर्दैमा मोर्चाको स्थायित्व हुन सक्दैन। माथि उल्लेख गरिएको तीन वटा अवधारणामा स्पष्टता साथै नैतिक मापदण्ड स्पष्ट व्याख्या जरुरी हुन्छ। साथै,  कुनै व्यक्ति विशेष मन नपर्दैमा मोर्चामा कसलाई संलग्न गर्ने कसैलाई संलग्न नगर्ने जस्ता प्रश्न उठ्नु हुँदैन। 

लेखक विश्लेषक हुनुहुन्छ ।   

Author

प्रदिप्नराज पन्त