• १२ असोज २०८१, शनिबार

भानुकप फुटबलमा ४० टोली

blog

भानुकपका लागि तयार पारिएको मैदान । तस्बिर : गोरखापत्र

अमरराज नहर्की

तनहुँ, असार २० गते । आदिकवि भानुभक्त आचार्यको २१०औं जन्मजयन्तीका अवसरमा जिल्लामै सर्वाधिक राशीको भानुकप फुटबल प्रतियोगितामा ४० टोलीको सहभागिता रहने भएको छ । 

भानु नगरपालिका १ भन्सारस्थित भानु रङ्गशालामा हुन लागेको प्रतियोगिता खेल्न ४० टोलीले नाम दर्ता गरेको प्रतियोगिताका संयोजक सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । 

भानु नगरपालिकास्थित भन्सार युवा परिवार, भीमसेन युवा क्लब, सालबिस्ने युवा क्लबको आयोजनामा असार २९ गतेदेखि साउन ६ गतेसम्म उक्त फुटबल प्रतियोगिता प्रथम, द्वितीय र तृतीय हुने टनेलीलाई क्रमश: दुई लाख २५ हजार २ सय १०,  एक लाख १२ हजार दुई सय १०, २० हजार २ सय १० रुपियाँ साथै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।

यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोलकर्तालाई जनही २५ सय १० रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।  प्रत्येक खेलमा म्यान अफ दि म्याचलाई  आकर्षक पुरस्कारको व्यवस्था गरिएको बताइएको छ । 

यस्तै भानुजयन्तीकै अवसरमा छेलो हान्ने र बाघचाल प्रतियोगिता हुने भएको छ । छेलो प्रतियोगितामा प्रथम हुनेलाई पाँच हजार दुई सय १० र बाघचाल प्रतियोगितामा प्रथम हुनेलाई पाँच हजार दुई सय १० रुपियाँ प्रदान गरिनेछ ।