• १२ असार २०८१, बुधबार

महिला नेतृत्वको सिँचाइ योजना समयमै सम्पन्न

blog

सिंचाइँ कुलो निर्माण भएपछि खेत रोप्ने तयारी गर्दै किसान । तस्विर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, असार २० गते । म्याग्दीको मङ्गला गाउँपालिका –३ वरंजामा महिलाले नेतृत्व गरेको सिँचाइ योजना सम्झौता मितिभन्दा अगावै सम्पन्न भएको छ । याप्प्रे खोला तल्लो भेटिने सिँचाइ योजना सम्पन्न गर्न महिलाको नेतृत्वमा गत चैतमा उपभोक्ता समिति गठन गरिएको थियो । 

चालु आर्थिक वर्षमा खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीमार्फत विनियोजन भएको दश लाख रुपियाँ लागतमा योजना सम्पन्न भएको हो । सिँचाइ कुलोबाट ३५ घरधुरीको एकसय ४७ रोपनी खेतमा सिँचाइ सुविधा पुगेको उपभोक्ता समितिका अध्यक्ष रेखा घिमिरेले बताउनुभयो । 

सिँचाइ कुलोबाट पानी ल्याएर खेत रोप्न थालिएको उहाँले बताउनुभयो । सिँचाइको अभावमा अघिल्ला वर्षमा खेत रोप्न निकै दुःख हुनेगरेको उहाँले बताउनुभयो । ‘‘सिँचाइ कुलो निर्माण भएपछि खेत रोप्न सजीलो भएको छ । कुलो सञ्चालनमा आएपछि किसानहरू खुसी भएका छन्’’ उहाँले भन्नुभयो, “उपभोक्ता समितिका अध्यक्ष भएर काम गरेको मेरो पहिलो अनुभव हो यो ।”

‘‘योजनाको सम्झौता गर्न र श्रमदान जुटाउन कठिन होला भनेर सोचेकी थिएँ । तर सहज रूपमा काम सम्पन्न भयो । समयमै हामीले आफ्नो जिम्मेवारी सफल रूपमा सम्पन्न गरेका छौँ” उहाँले भन्नुभयो ।  

उहाँले भन्नुभयो, ‘‘चैतमा सम्झौता गरेको योजना वैशाखबाट काम थालेका थियौँ । जेठको अन्तिम हप्ता योजना सम्पन्न गर्न सफल भयौँ । योजनामा १० प्रतिशत श्रमदान गरेका छौँ । मैले नेतृत्व गरेको योजनामा पुरुषहरूले पनि साथ र सहयोग गर्नुभयो । त्यही भएर समयमै योजना सम्पन्न गर्न सफलता मिल्यो ।’’ 

उपभोक्ता समितिको कोषाध्यक्ष एकजना महिला र अन्यमा पुरुषहरू रहेको उहाँले बताउनुभयो । असार ५ गते सम्पन्न गर्नुपर्ने मिति भए पनि १५ दिन अगावै योजना सम्पन्न गरेको उपभोक्ता समितिकी अध्यक्ष घिमिरेले बताउनुभयो । उहाँका अनुसार एक सय ४७ मिटर कुलो पक्की ढलान गरिएको छ भने पाँचसय मिटर पाइप जडान गरिएको छ ।  

योजनाको उपभोक्ता समितिमा महिलाको नेतृत्व हुँदा लक्ष्यअनुसार काममा ध्यान दिई काम गर्ने भएकाले योजना सम्पन्न गर्न धेरै नै सजिलो भएको उपभोक्ता समितिका सचिव धनबहादुर पुनले बताउनुभयो । 

सिँचाइ योजना सम्पन्न भएपछि कुलोको पानीले रोपाई गर्न सहज भएको स्थानीय किसान दधीलाल कँडेलले बताउनुभयो । पहिला कच्ची कुलो भएकाले खेतमा सिँचाइ गर्न समस्या थियो उहाँले भन्नुभयो, ‘‘अहिले पक्की कुलो निर्माण भएपछि सिँचाइ गर्न सहज भएको छ । कुलोमा पानी आएसँगै समयमै खेत रोप्न थालेका छौँ ।’’

समितिमा महिलाको नेतृत्वमा योजना सञ्चालन भएकै कारणले पनि योजना एकदमै सरल र सजहरुपले प्राविधिक स्टिमेटअनुसार, गुणस्तरीय रूपमा काम सम्पन्न भएको वडा सदस्य कुलबहादुर थापामगरले बताउनुभयो । 

महिलाको नेतृत्वमा योजना सम्पन्न गर्न सहज भएको र गुणस्तरीय काम पनि भएको खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीका प्राविधिक मोतीलाल बलामीले बताउनुभयो । उहाँका अनुसार उक्त सिँचाइ योजनाका लागि गण्डकी प्रदेश सरकारबाट आगामी आर्थिक वर्षका लागि थप १० लाख रुपियाँ विनियोजन भएको छ ।