ठाकुरप्रसाद आचार्य
म्याग्दी, असार २० गते । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
चालु आर्थिक वर्षमा नगरले चार करोड २३ लाख ७० हजार आन्तरिक राजस्व सङ्कलन गर्ने अनुमान गरेकोमा असारको तेस्रो सातासम्म चार करोड ५० लाख १८ हजार ७६९ रुपियाँ सङ्कलन भएको राजस्व शाखाले जनाएको छ ।
सङ्कलित राजस्व अपेक्षितभन्दा धेरै हो । नगरपालिकाले आफ्नो एकल अधिकार क्षेत्र भित्रको कर तथा गैरकर राजस्व सङ्कलन गर्दछ । यसभित्र व्यवसायको सिफारिस दस्तुर, नक्सा पास, सरकारी सम्पत्तिको भाडा, घरबहाल कर, भूमि कर लगायतका कर समावेश छन् ।
‘‘यो वर्ष हामीले अनुमान गरेभन्दा धेरै राजस्व सङ्कलन गर्न सफल भएका छौं ।,’’ प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले भन्नुभयो, ‘‘आन्तरिक आम्दानीका रुपमा रहेको राजस्व सङ्कलनको यो सकरात्मक पक्ष हो । बजार क्षेत्रभित्रमा रहेका वडाका जनप्रतिनिधिहरुको सक्रिताका कारण चालु आर्थिक वर्षमा अनुमान गरेकोभन्दा धेरै राजस्व सङ्कलन गर्न सफल भएका हौ ।’’
यो अवधिमा आन्तरिक आम्दानीका रुपमा रहेको राजस्व सङ्कलनको अवस्था उत्साहजनक रहेको उहाँले बताउनुभयो ।
आगामी आर्थिक वर्षमा घरवहाल कर सङ्कलनलाई व्यवस्थित गरिने र नगरपालिकाले भू–उपयोग वर्गीकरण मापदण्ड स्वीकृत गरेकाले घरजग्गा कारोवार बढ्ने हुँदा राजस्व वृद्धि हुने उहाँको भनाइ छ ।