कास्की समाचारदाता
कास्की, असार २० गते । गण्डकी प्रदेश सरकारले विपत् जोखिम न्यूनीकरणका लागि १० करोडको कोष बनाएको छ। प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनतालाई शान्तिसुरक्षाको प्रत्याभूति गराउनका लागि प्रदेश सरकार सँगै रहेको बताउनुभएको छ।
उहाँले विपत् जोखिम न्यूनीकरणका लागि जिल्ला तहमा पनि १०/१० लाख नघट्ने गरी विपत् कोषको रकम पठाएको जानकारी दिनुभयो। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित प्रदेश शान्तिसुरक्षा र विपत् जोखिम न्यूनीकरण रणनीतिसहितको गुरुयोजना निर्माणसम्बन्धी गोष्ठीमा उहाँले यस्तो जानकारी दिनुभएको हो। उहाँले भन्नुभयो, “विपत्का सवालमा प्रदेश सरकार गम्भीर छ, हामीले विभिन्न सुरक्षा निकायलाई विपत्का बेला प्रयोग हुने सामग्री खरिद गरेर पनि सहयोग गर्दै आएका छौँ।”
सुरक्षा निकाय प्रदेश मातहत हुँदा यस्ता काममा अझै सहज हुने उहाँले बताउनुभयो। सुरक्षाकर्मीको साधन, स्रोत, क्षमता विकासका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने मुख्यमन्त्री पाण्डेले बताउनुभयो । उहाँले गण्डकी प्रदेशका सबै जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई निर्देशन दिँदै भन्नुभयो, “हाम्रो साधन स्रोतले भ्याएसम्म प्रदेश सरकारसँगै छ, रहन्छ।”
भौगोलिक विकटताका कारण शान्तिसुरक्षा कायम गर्न र विपत् जोखिमको न्यूनीकरण, राहत, उद्धार, पुनस्र्थापना जस्ता काममा समस्या भोग्नु परेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो। शान्तिसुरक्षाको अनुभूति हुने गरी नागरिकको सेवा गर्नु राष्ट्रसेवक सबैको कर्तव्य भएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो। पोखरालगायत पर्यटकीय सहरमा रात्रिकालीन व्यवसायलाई सहज रूपमा सञ्चालन हुन दिनुपर्ने उहाँको भनाइ थियो। उहाँले चौबिसै घण्टा खोल्ने वातावरण बनाउन सुरक्षा समितिलाई सुझाव दिनुभयो।