• १३ मंसिर २०८१, बिहिबार

पहिरोले मुहान पुरेपछि आबुँखैरेनीमा खानेपानीको अभाव

blog

बलेनीको पानी थापेर खानेपानीको जोहो गर्दै गाउँवासी । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, असार २० गते । 
तनहुँको आबुँखैरेनी गाउँपालिका –४, लोप्राङ्ग गाउँका बासिन्दालाई घरमा आउने धाराको मुहान पहिरोले पुरिएपछि खानेपानीको चरम अभाव भएको छ । चार दिन अघिदेखि धारामा पानी नआएपछि अहिले पानी जोहो गर्न निकै कठिन भइरहेको स्थानीयले बताएका छन् ।

मुहान रहेको स्थान पत्ता नलाग्ने गरी शनिबार गेग्रानले पुरेकाले गाउँवासीले तीन दिनदेखि बलेनीको पानीले तिर्खा मेटाउँदै आएको वडाध्यक्ष मिलन भुजेलले बताउनुभयो ।

अध्यक्ष भुजेले भन्नुभयो, ‘‘गाउँमा वितरण गरिएको खानेपानीको मुहान पहिरोले पुरिदिएपछि बर्सातको बलेनीमा जम्मा भएको पानीले तिर्खा मेटाउन बाध्य छन् ।’’ 

हाल गाउँमा खानेपानीको हाहाकार भएको छ । छिम्केश्वरी मोटरबाटो निर्माण क्रममा बासपानीमा रहेको खानेपानीको मूल पुरिएपछि सो गाउँमा खानेपानीको हाहाकार भएको अध्यक्ष भुजेलले बताउनुभयो ।

तत्कालै काम अघि बढाउनका लागि पालिकासँग समन्वय गरी मङ्गलबार प्राविधिकहरू खटाइएको अध्यक्ष भुजेलले बताउनुभयो । गण्डकी प्रदेश सरकारले १५ लाख रुपियाँ विनियोजन गरेको र बाँकी पालिकाले खर्च व्यहोर्ने गरी काम अघि बढाइने उहाँले जानकारी दिनुभयो । १५ लाखले मर्मत काम गर्न सक्ने अवस्था नदेखिएको प्राविधिक बताएको भुजलले जानकारी दिनुभयो ।

मुहान प्रयोग गर्न सक्ने अवस्था नरहेकाले बलेनीको पानी थापेर पिउने, खाना पकाउने तथा गाईबस्तुलाई खुवाउने गरिएको  उपभोक्ता सुकबहादुर गुरुङले बताउनुभयो । ३० घरधुरी रहेको उक्त गाउँमा तत्काल तथा दीर्घकालीन रूपमा खानेपानीको समस्या समाधान गर्न माग राखेको स्थानीय शिक्षक पृथ्वी भुजेलले बताउनुभयो । भुजेलले भन्नुभयो, ‘‘आकाशबाट वर्षा भइरहेकाले पानी जोहो गर्न सजिलो भएको छ पानी परेन भने पानी लिनका लागि दुई घण्टा खर्चिनु पर्छ ।’’ समयमा पुरिएको स्थान सफा गरी ट्याङ्की निर्माण गरी पानी वितरण गर्नुपर्ने शिक्षक भुजेलको भनाइ छ ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले गेग्रान हटाएर मुहान खोज्ने तयारी भइरहेको र त्यसका लागि पालिकाबाट इन्जिनियर खटाइएको बताउनुभयो । अध्यक्ष चुमानले भन्नुभयो, ‘‘छिटो मर्मत गरी समस्या समाधान गर्न लागेका छौँ ।’’