• १३ मंसिर २०८१, बिहिबार

बुटवल–नारायणगढ सडक निर्माणमा भएन अझै सुधार

blog

होमराज रानाभाट 

कावासोती, असार २० गते । सरकारले चासो दिएको बुटवल–नारायणगढ सडक आयोजना निर्माणमा केही सुधार देखिए पनि अझै आशा गरिए अनुसार काम हुन सकेको छैन। सडक निर्माणको समय अझै धकेलिने निश्चित भएको छ। आयोजनाको प्रगति हालसम्म ३८ प्रतिशत रहेको छ। अहिले कामको गति केही बढेको आयोजनाले जनाए पनि वर्षाका कारण खासै काम हुन सकेको छैन। 

ठेक्का थपिएको एक वर्षको अवधि पनि साउन २२ सम्ममा सकिँदै छ, प्रगति भने झन्डै ३८ प्रतिशत रहेको आयोजनाका इन्जिनियर राकेश झाले बताउनुभयो। अहिलेसम्म पश्चिम खण्डमा भौतिक प्रगति २९ दशममलव ०९ प्रतिशत र वित्तीय प्रगति २० दशमलव ४१ प्रतिशत रहेको आयोजना कार्यालयले जनाएको छ। झन्डै आठ किलोमिटर सडकमा एक तहको कालोपत्रे र दुई किलोमिटर दोहोरो कालोपत्रे सकिएको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ। 

आयोजनाका अनुसार अहिलेसम्म एक तहमा पहिले छ सेन्टिमिटरको कालोपत्रे गरेपछि दोहो-याएर चार सेन्टिमिटर गरेपछि कालोपत्रे गरिएको छ। अहिले चार लेनमध्ये दुई लेनमा मात्रै काम भइरहेको छ। केही महिनायता निर्माणको प्रगति बढेको र पछिल्लो महिनामा पूर्वी खण्डको प्रगति २.४५ प्रतिशत रहेको इन्जिनियर झाले बताउनुभयो। अहिले पनि लक्ष्यभन्दा ६०–७० प्रतिशत मात्रै काम भइरहेको छ। बाँधका लागि ठुलो परिमाणमा माटो चाहिने हुँदा वन मन्त्रालय र भौतिक मन्त्रालयसँग सम्झौता भएको आयोजनाले जनाएको छ। बुटवाल–नारायणगढ सडक पूर्वी खण्डमा अहिलेसम्म वित्तीय प्रगति २० प्रतिशत पुगेको छ भने सो खण्डमा भौतिक प्रगति ३८ प्रतिशत रहेको छ। 

निर्माण कम्पनीले अहिले विभिन्न काम एकसाथ अघि बढाइरहेको आयोजनाका प्रवक्ता (इन्जिनियर) धिरज ढकालले बताउनुभयो। उहाँले भन्नुभयो, “कतै नाली, कतै कल्भर्ट, कतै कालोपत्रे, साना पुल निर्माण र ठुला पुलको जगको काम भइरहेको छ।” तीन महिनायता निर्माणको गति बढेको र कालोपत्रे भएपछि प्रगति अझै बढ्ने आयोजनाले जनाएको छ। 

काम गरिरहेको भए पनि अझै पनि पर्याप्त देखिँदैन। निर्माण कम्पनी आफैँले लिएको लक्ष्य अनुसार पनि काम नभएकाले निर्माणको गति अझै बढाउनुपर्ने देखिएको इन्जिनियर राकेश झाले बताउनुभयो। पछिल्लो पटक थपिएको अवधि आगामी साउन २२ मा सकिँदै छ र सो अवधिसम्म निर्माण सक्न कठिन हुने देखिएको आयोजनाले जनाएको छ। अहिले यो सडकका लागि एक वर्ष पुनः म्याद थपिएको आयोजनाले जनाएको छ। 

निर्माण कम्पनीसँग अहिले दुई सयभन्दा बढी उपकरण छन् भने सात सय कामदार कार्यरत छन्। त्यति हुँदाहुँदै अझै आशा गरिए अनुसार निर्माण अघि बढ्न नसकेको झाले बताउनुभयो। निर्माणस्थलमा अझै विद्युत्को पोल सार्न बाँकी छ। आयोजनाले समन्वय गरेर गर्नुपर्ने कामभन्दा अब निर्माण कम्पनी आफैँले गर्नुपर्ने काम बढी बाँकी रहेको छ। 

इन्जिनियर धीरज ढकालले दुई वर्ष पहिले वर्षाको समयमा उक्त सडक भएर यात्रा गर्न धेरै समस्या रहेको र गत वर्ष पनि एक/दुई ठाउँमा डाइभर्सन रहेकाले समस्या भए पनि आगामी वर्षाका बेलामा त्यो नदोहोरिने बताउनुभयो। 

एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा सो सडक विस्तार भइरहेको छ। सरकारले पूर्व–पश्चिम राजमार्ग एसियाली राजमार्गको मापदण्डमा विस्तारको काम अघि बढाएको हो। 

विसं २०७५ मा उक्त सडक निर्माण सुरु भएको थियो। ११४ किमी लम्बाइको सडक पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई आयोजनामार्फत काम अघि बढाइएको छ। दुवै प्याकेजको निर्माण साढे तीन वर्षमा सम्पन्न गर्ने गरी चाइना स्टेट कन्सट्रक्सन कर्पोरेसनलाई ठेक्का दिइएको थियो। गत वर्ष अवधि सकिएपछि पुनः एक वर्षका लागि थपिएको हो।