समय परिवर्तनशील छ। महिला, पुरुष र अन्य (एलजिविटिक्यू) सबै बराबर भन्ने विश्वव्यापी विकासको लहरले कुनै पनि मुलुक अछुतो रहन सक्दैन। यसको प्रभाव नीति निर्माण तहदेखि प्रशासनिक, आर्थिक, सामाजिक हरेक क्षेत्रमा परेको छ तर महिला हक अधिकारका विषय कर्यान्वयनका तहमा पुग्न सकेको छैन। महिलालाई सृष्टिकी जननी, घरकी साक्षात लक्ष्मी, अन्यायको अन्त्यका लागि शत्रुको विनाश गरी न्याय स्थापित गर्र्ने शक्तिस्वरूपा काली, दुर्गा भवानीलगायत विविध उपमाले परिचित गराइन्छ। दुष्टहरूको संहार गर्नेका लागि पछि नपर्ने आफ्नो भयङ्कर रूप धारण गरी क्षणभरमा असत्यलाई पराजय गराउने साहसी, हिम्मतवाली शक्तिस्वरूपाको प्रतीक मानिन्छ। हरेक कठिन परिस्थितिसँग मुकाविला गर्दै आफ्नो परिवार, बालबच्चाको खुसीका लागि मरिमेट्ने ममताकी खानी भनिन्छ। हिजो महिलालाई घर र परिवारको रेखदेख गर्ने गृहलक्ष्मीको उपमा दिइन्थ्यो। हाल ती जिम्मेवारीसँगै प्रशासक, राजनीतिज्ञ, डाक्टर, कर्मचारीलगायत विविध पेसामा आ–आफ्ना थप जिम्मेवारी दिनका लागि सशक्तीकरण गरिँदै लगिएको छ। यस्तो उपमा पाएकी महिलाले जन्मपछि सारा जीवन अरूकै खुसीका लागि समर्पित गर्छिन्। सानै उमेरदेखि तुलनात्मक रूपमा हाम्रो ग्रामीण भेगमा पढाइसँगै घरको सानातिना कामधन्दा सुरु हुन्छ।
आजभोलि कामकाजी महिलाका लागि जिम्मेवारीको भारी निकै बोझिलो बन्दै गएको छ। विकासका हरेक क्रियाकलाप होस् वा प्रशासनिक, राजनीतिक, र सामाजिकलगायत क्षेत्रमा महिला र पुरुषका भूमिका बराबरी हुनु पर्दछ। अर्थपूर्ण सहभागिताका लागि समानता, समता, सशक्तीकरण र आरक्षणका माध्यमबाट पछिल्लो समय हरेक क्षेत्रमा महिलाहरू अग्रसर हुँदै आएको पाइन्छ। राष्ट्रपति, प्रधानन्यायाधीश, डाक्टर, इन्जिनियर पाइलट, प्रशासनिक पदलगायत हरेक क्षेत्रमा महिला सक्रिय रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएका छन्।
कामकाजी महिलालाई एकातिर कार्यालयको जिम्मेवारी र अर्कातिर घरको जिम्मेवारी पनि निर्वाह गर्नु परेको छ। सबैतिर दृष्टि दिनुपर्ने हुन्छ। बच्चा जन्माउनु हुर्काउनु, आफ्नो श्रीमान्को ख्याल राख्नु, आफन्त तथा इष्टमित्रलाई रिजाउनु, घरव्यवहार समाल्नुलगायत जिम्मेवारी हुन्छन्। कहिलेकाहीँ आफन्तहरूलाई फोन गर्न नभ्याएमा, बेलामौकामा बोलाएर नखुवाएमा, समय समयमा कोसेली बोकी भेट्न नगएमा ‘फलानीले त कसैले नभएको जागिर खाएकी, कम्ता ठुली भएकी छे’ भन्ने उपमासमेत मिल्छ। छोरा, छोरी, उमेर ढलेका सासूससुराको पालनपोषण गर्न ‘केयर टेकर’ बन्नु पर्ने भूमिका झनै महत्वपूर्ण हुन्छ तर घरेलु महिलाको दाँजोमा कामकाजी महिलाको भूमिका अझ बढी कठिन र व्यस्त बन्दै गएको छ।
कामकाजी महिलाले बिहान सबेरै उठेर घरको सरसफाइ गर्नु, पूजाआजा गर्नु, चिया बनाउनु, छोराछोरीका लागि दिउँसोको खाजा बनाउनु, खाना पकाउनु, हतारहतार छोराछोरीलाई स्कुल पठाउनु पर्दछ। घरमा रहेका सासूससुराका लागि पनि दिउँसोको खाजाको बन्दोबस्त गरी सबैलाई खुवाएर आफू हतारमा एक गाँस टिपेर सकी नसकी भाँडा सफा गरी कार्यालय जानका लागि तयार हुनु पर्दछ। बिहान ८ बजे घरबाट निस्केर छोराछारीलाई विद्यालय छाडी १० बजे कार्यालय पुग्नु पर्छ। काठमाडौँको हकमा पाइलैपिच्छेको जामले बाटोभरि तनाव सुरु हुन्छ। हाजिर गर्न समयमा कार्यालय पुगिन्छ, पुगिँदैन भन्ने पिरालो मनमा रहिरहन्छ। हाजिर छुटेका दिन त दिनभरि मनमा आज समयमा पुगिएन पाँचै मिनेटले हाजिर छुट्यो भन्ने हुन्छ। कार्यालय समयमा पुगी हाजिर गर्न पाउँदा त्यो दिन युद्ध जितेकै जस्तो खुसी मिल्छ। कार्यालयमा दिनभरि कर्तव्यनिष्ठ कर्मचारीले त एकछिन पनि फुर्सद पाउँदैनन्। ‘हिँड्ने गोरुको पुच्छर निमठ्ने’ भने झैँ हुन्छ। कामचोर कर्मचारी सधैँ ‘एक्स’ सिद्धान्तबाट प्रेरित भएका हुन्छन्। हाकिमको अघिपछि गर्ने, ‘एस मेन’ बन्ने अनि सेवासुविधा र अवसर कुम्ल्याउने हुन्छन्।
दिनभरिको कार्यालयको व्यस्ततापछि बेलुका निस्कँदा बाटाभरि घरको कामको समय तालिका बन्छ। घरमा केके सामान सकिएको छ ? गर्नु पर्ने काम र जिम्मेवारीले बाटो हेरिरहेको हुन्छ। तरकारी, फलफूल, भान्छादेखि शौचालयसम्मका सामानहरू, बच्चाको लिटो, बाआमाको दिउँसोको खाजालगायत विभिन्न सामान किन्दै घर पुगिन्छ। कामबाट थाकेर घर आउँदा काममा सघाउने कोही हुँदैन। हाम्रो नेपाली समाजले यदाकदाबाहेक अझै पनि बुहारी, श्रीमतीको बाटो नै हेर्ने संस्कार हुन्छ। दिनभरको कामले थाकेको शरीरमा तनाव उत्पन्न हुन्छ तर पनि हतार हतार ‘ड्रेस’ फेरी भान्छामा बेलुकाको कर्ममा तल्लीन हुनु पर्दछ। सँगैसँगै कार्यालयबाट घर पुगेका श्रीमान् ‘फ्रेस’ भएर हातमा रिमोट लिएर आराम गर्दै टीभी हेर्न थाल्छन् भने श्रीमती हतार हतार भान्छाको काममा व्यस्त हुन्छिन्। घरको धन्दा सक्दा बेलुकाको १० बज्छ। अनि बल्ल उनी आफ्ना लागि समय निकाल्छिन्। कति रहर, चाहना रुचि हुन्छन्। सामाजिक सञ्जाल, सिर्जनात्मकता, आफन्तसँगको फोनमा कुराकानी विचरा सुत्ने समय रातको ११ बज्छ। भोलि फेरि यही दिनाचर्या सुरु हुन्छ।
कामकाजी महिलाको दोहोरो भूमिकाले उनीहरूको जीवन जटिल र चुनौतीपूर्ण बनाएको छ। घरको काम पुरुषले गर्नु हुँदैन भन्ने पितृसत्तात्मक सोच अझै पनि मन, मस्तिष्कमा गडेर बसेको छ। जतिसुकै महिला पुरुष सँगसँगै भने पनि व्यवहारमा पुरानै सोच, मान्यता र संस्कारको गन्ध मिसिएको छ। महिलाले आफ्नो रुचि, चाहना, पेसा, साहित्य, घरपरिवार इष्टमित्र सबैलाई मिलाएर लैजान चाहेर पनि सक्दिनन्। यसरी कामकाजी महिलाको एक तिहाइ जीवन चटारोमै बित्दछ। एक सर्वेक्षणका अनुसार २० देखि ४० वर्षसम्मका महिलालाई अत्यन्तै व्यस्त जीवनशैलीले स्वास्थ्यमा समस्या पर्ने देखिन्छ। आराम नहुँदा तनाव हुने, खुसी हराउने, मनोसामाजिक समस्या उत्पन्न हुने पनि देखिएको छ।
यस कारण घरपरिवारले कामकाजी महिलालाई साथ सहयोग गर्नु जरुरी देखिन्छ। महिलालाई सम्मान गरी उनीहरूभित्र लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गराउन सबैले बेलैमा ध्यान दिनु पर्दछ। महिला, पुरुष र अन्य बराबरी भन्ने विषयलाई व्यवहारमा उतार्नु जरुरी छ। सबै मिलेर घरको काम विभाजन गरौँ। कामकाजी महिलाको जीवनलाई सहज बनाऔँ। महिलाको तनावरहित जीवनका लागि सहयोग गरौँ। ‘हामी सबै बराबरी’ भन्ने नारालाई सार्थक पारौँ। यही नै समयको माग हो। यसका लागि आजैदेखि पितृसत्तात्मक सोचको अन्त्य गरौँ।
लेखक राष्ट्रिय मानव अधिकार आयोगमा कार्यरत हुनुहुन्छ।