• १० पुस २०८१, बुधबार

दलितका लागि छुट्टै बजेटको व्यवस्था नगरेकोमा सांसद सुनारको आपत्ति

blog

राष्ट्रिय सभाका सांसद भुवनबहादुर सुनार ।

काठमाडौं, असार १८ गते । राष्ट्रिय सभाका सांसद भुवनबहादुर सुनारले सरकारले अहिलेसम्म पनि दलितहरुका लागि किटान गरेर बजेटको व्यवस्था गर्न नसकेको भन्दै आपत्ति जनाउनुभएको छ ।

सोमबार राष्ट्रिय सभा बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले २३ प्रतिशत जनसङ्ख्या रहेका दलितहरुका लागि किटानीका साथ बजेटको व्यवस्था नगरिएको भन्दै आक्रोश व्यक्त गर्नुभएको हो ।

सांसद सुनारले कर्णाली प्रदेशमा बजेटको माग गर्दै प्रर्दशन गरिरहेका दलितहरुलाई नियन्त्रणमा लिने क्रममा घाइते भएकाहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘कर्णाली प्रदेशमा ठूलो दलित समुदायको जनसङ्ख्या छ । २३ प्रतिशतभन्दा बढी जनसङ्ख्या भएको समुदायका लागि राज्यले किटान गरेर बजेट छुट्टयाउँदैन । पहुँचका आधारमा बजेट विनियोजन हुने, दुर्गम र विपन्न बस्तीहरुलाई पूरै बिर्सने अवस्था छ । कर्णाली प्रदेशमा बजेटको माग गर्दा दर्जनौ दलितहरु प्रहरी प्रशासनका कुटाइका कारण घाइते हुनुपरेको छ । उनीहरुका लागि पनि आवश्यक बजेटको व्यवस्था गर्न म सरकारसँग माग गर्दछु ।’’ सांसद सुनारले पहुँच हुनेहरुका लागि मात्रै सरकारले बजेट विनियोजन गरेको आरोप लगाउनुभयो ।