• १२ मंसिर २०८१, बुधबार

कोहलपुरमा क्षयरोगका १६२ नयाँ बिरामी भेटिए

blog

कोहलपुर नगरपालिका कार्यालय । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असार १८ गते । कोहलपुर नगरपालिकाले क्षयरोग मुक्त पालिका घोषणा अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

नगरपालिकालाई क्षयरोग मुक्त पालिका बनाउन पालिकाभित्र एक जना पनि क्षयरोगी हुन नहुने भएकाले रोगीको पहिचान र खोजी गर्ने कार्य चलिरहेको छ । 

कोहलपुर नगर स्वास्थ्य शाखाका क्षयरोग कार्यक्रम संयोजक राजु केसीका अनुसार रोगीको पहिचान, खोजी र उपचारका लागि नगरका चार ठाउँमा डट्स सेन्टर राखिएको छ । 

उहाँले कोहलपुर नगर अस्पताल, नगर स्वास्थ्य प्रवर्धन केन्द्र, आधारभूत स्वास्थ्य केन्द्र रझेना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा डट्स सेन्टर रहेको र ती सेन्टरबाट रोगीहरुले उपचार सेवा पाउँदैआएको बताउनुभयो । 

संयोजक केसीले डट्स सेन्टरबाट बिरामीलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाइने गरिएको बताउनुभयो । उहाँले कोहलपुरमा जेठ महिनासम्म १६२ जना नयाँ क्षयरोगीको पहिचान भएको बताउनुभयो । 

कोहलपुर नगरपालिकाका नगर उपप्रमुख सङ्गीता सुवेदीले अझै पनि नयाँ रोगी भेटिने क्रम जारी रहेको र धेरै जनाको पहिचान हुन बाँकी रहेकाले क्षयरोग मुक्त पालिका घोषणा अभियान सफल हुन समय लाग्ने बताउनुभयो । 

स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकल पर्सन मानबहादुर नेपालीले पालिकालाई क्षयरोग मुक्त पालिका घोषणा गर्न सबैले आफ्नो ठाउँबाट प्रयास गरिरहेको जानकारी दिनुभयो ।