राजन रावत
हुम्ला, असार १८ गते । सोमबार बिहान परेको अविरल वर्षाका कारण आएको लेदोसहितको बाढीले तीन घरमा क्षति पुगेको छ । नाम्खा गाउँपालिका–३ खगालगाउँका तीन वटा घरमा पहिरोले ल्याएको लेदोसहितको बाढीले क्षति पुर्याएको हो ।
स्थानीय यज्ञबहादुर शाहीले आज बिहान परेको भीषण वर्षाले गर्दा बाक्लो लेदोसहितको बाढीपहिरोले खगालगाउँ निवासी पेमा छिरिङ लामा, लुन्डुप रिन्जिन लामा र छोईकी लामाको घरमा क्षति पुर्याएको बताउनुभयो ।
स्थानीय शाहीका अनुसार लेदोसहितको भल घरभित्र पसेपछि सामान, अन्नपात, भाँडाकुडा, लत्ताकपडालगायतका सामग्रीमा क्षति पुगेको हो । उहाँले क्षति पुगेका घरमध्ये लुन्डुप रिन्जिन लामाको घरको एकतर्फको पर्खाल पहिरोले भत्काएर घरभित्र लेदोसहितको पानी पसेको बताउनुभयो ।
अन्य दुई जनाको घरमा पनि भल छिरेर क्षति पुगेको छ । घरमा भल पसे पनि मानवीय तथा पशु चौपायामा क्षति भएको छैन ।
यसैगरी बाढीपहिरोले खेती योग्य जमिन र बालीलाई समेत क्षति पुगेको स्थानीयले बताएका छन् । प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बाढीले क्षति पुगेको खबर आएको र प्रहरी घटनास्थलतर्फ गएका छन् । प्रहरी पुगेपछि मात्र क्षतिको विवरण आउने प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिनुभयो ।