• २० असोज २०८१, आइतबार

भूमिहीन सुकुम्वासीलाई निस्सा वितरण

blog

निस्सा प्राप्त गर्नुहुँदै सुनकोशी गाउँपालिका– ४ की बेलमाया राई । तस्बिर : शेरबहादुर राई

शेरबहादुर राई
ओखलढुङ्गा, असार १८ गते ।
भूमिहीन सुकुम्वासीलाई लालपूर्जा वितरण गर्नका लागि निस्सा दिन  थालिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति ओखलढुङ्गाले जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर भूमिहीन र सुकुम्वासीलाई निस्सा वितरण गर्न थालेको हो । जिल्लामै पहिलो पटक सुनकोशी गाउँपालिका– १ का राजु लुइँटेल र विनोद मगर, वडा नम्बर ४ का बेलमाया राई, ९ का बलबहादुर मोक्तान र १० का डेककुमारी घिमिरेले निस्सा प्राप्त गर्नुभएको छ ।

ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारी, सुनकोशी गाउँपालिका अध्यक्ष कमल तामाङ र जिल्ला भूमि आयोगका अध्यक्ष पुरुषोत्तम लुइँटेलले सुुकुम्वासीलाई निस्सा हस्तान्तरण गर्नुभएको छ । जिल्लाका ८ स्थानीय तहमध्ये सुनकोशी गाउँपालिकाबाट भूमिहीन र सुकुम्वासीलाई निस्सा वितरण सुरु गरिएकोे आयोगका जिल्ला अध्यक्ष पुरुषोत्तम लुइँटेलले बताउनुभयो ।

विभिन्न कागजपत्र र तीनपुस्ते विवरण भर्न छुट भई निस्सा नपाएका लाभग्राहीहरुलाई पनि प्रक्रिया पूरा गरेर निस्सा वितरण गरिने अध्यष लुइँटेलको भनाइ छ । निस्सा वितरण गर्दै सुनकोशी गाउँपालिका अध्यक्ष कमल तामाङले लामो समयसम्म जग्गा नपाएका सुकुम्वासी नागरिकले निस्सा प्राप्त गरेसँगै अब लालपुर्जा पाउने बाटो खुलेको बताउनुभयो ।

लालपुर्जा प्राप्तिका लागि स्थानीय तहले आवश्यक सहजीकरण गर्ने अध्यक्ष तामाङले प्रतिबद्धता जनाउनुभएको छ । प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीहरुको समस्या समाधान गर्न सरकार लागिपरेको बताउनुभयो ।  जिल्लामा यकिन विवरण तयार गरेर निष्पक्ष भएर कोही नछुट्ने गरी आयोगले काम गर्नुपर्ने उहाँको भनाइ छ ।

निस्सा प्राप्त गरेकाले अब लालपुर्जा पाउने आशा गरेका छन् । निस्सा पाएका लाभग्राहीहरुको अब थप अनुगमन गरेर जग्गा वितरणका लागि नाँपजाँच गर्ने कार्य अगाडि बढेपछि छिट्टै लालपूर्जा वितरण हुने आयोगले जनाएको छ । जिल्लामा एक सयभन्दा बढीको सङ्ख्यामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीहरु रहेको आयोगको तथ्याङ्क छ ।