• २० असोज २०८१, आइतबार

झापामा जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

blog

नेपाल–भारत सीमा मेची खोलामा हात्ती । तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल
दमक, असार १८ गते ।
झापामा दिनप्रतिदिन जङ्गली हात्तीको त्रासले स्थानीयहरु रातभर निदाउन नसक्ने अवस्था आएको छ । एकसाताको अवधिमा हात्तीको आक्रमणमा परेर जिल्लामा दुई जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते बन्नुभएको छ । हात्तीबाट ज्यान गुमाउनेमा दुबै जना जेष्ठ नागरिक रहनुभएको छ ।

जङ्गली हात्तीको आक्रमणमा परी सोमबार बिहान आँगनमा फूल टिप्न निस्कनु भएकी मेचीनगर वडा नं. १० महानन्द टोलकी ८० वर्षीया पन्नादेवी शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मागुरमाडी जङ्गलबाट निस्केको हात्तीले वृद्धालाई आक्रमण गरेको र उहाँको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताउनुभएको छ ।

मेचीनगर १० ज्वाइँ बैजनाथ शाहसँग बस्दै आउनुभएको थियो । घटना बिहान करिब ५ बजेतिर भएको हो । गाउँमा हात्ती पसेको विषयमा गाँउलेहरुलाई जानकारी गराइरहेको थिए, वडाध्यक्ष नारायण खनालले भन्नुभयो । घर आँगनमा आएर हात्तीले वृद्धाको ज्यान लिएछ, उहाँले भन्नुभयो । स्थानीयहरु हात्तीबाट सधैँ त्रसित भएर बस्नुपरेको पनि उहाँको भनाइ छ ।

यसैगरी, सोहि हात्तीको आक्रमणमा परेर अर्की एक महिला पनि गम्भीर घाइते बन्नुभएको छ । बुद्धशान्ति गाउँपालिका–  ५ स्थित धिमाल गाउँकी ३८ वर्षीया कमला धिमाल घाइते बन्नु भएको र उहाँको उपचार बिर्तासिटी अस्पतालमा भइरहेको छ । धिमाल स्थनीय चिया बगानमा काम गर्न निस्कनुभएको थियो । मेचीनगरबाट आएको सोही हात्तीले उहाँलाई आक्रमण गरेको स्थानीयको भनाइ छ ।

पछिल्लो समयमा झापामा हात्तीको त्रास बढ्दै गएको छ । गत मङ्गलबार बिहान हल्दिबारी गाउँपालिका–२ मा हात्तीको आक्रमणबाट भद्रपुर ७ बस्ने ५३ वर्षीय गिरेन कर्मकारको घटनास्थलमै मृत्यु भएको थियो । उहाँ पनि बिहान घर बाहिर निस्कनुभएको थियो ।

भारतबाट हुलका हुल हात्ती आउने गरेका छन् । मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीका अनुसार एकै साथ करिब एक सयभन्दा बढी हात्ती नेपाल प्रवेश गरेको देखेको बताउनुभयो । हात्ती आहाराका लागि आउने र आहारा नपाएपछि विध्वंस मच्चाउने गरेको उहाँको भनाइ छ । स्थनीयलाई हात्तीबाट जोगिनै मुश्किल बन्दै गएको छ ।
मेचीनगर नगरपालिकाको प्रमुख समस्याको रुपमा हात्ती नै हुन थालेको छ । यहाँको प्रमुख चुनावी नारा हात्ती नियन्त्रण नै रहेको थियो । विद्युतीय तारबार घेराबार पनि प्रभावकारी भएको देखिँदैन ।