• १२ मंसिर २०८१, बुधबार

हुम्लामा हात्तीपाइले रोगी शून्य

blog

ताँजाकोट गाउँपालिकाको जनप्रकाश माविमा हात्तीपाइले रोगको परीक्षण गरिएका विद्यार्थीहरु । तस्बिर: राजन रावत

राजन रावत 

हुम्ला, असार १८ गते । हुम्लामा हात्तीपाइले रोगका बिरामी शून्य रहेको पाइएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमको कीटजन्य रोग नियन्त्रण तालिम केन्द्रले जिल्लाभर गरेको नमुना सङ्कलनमा रोग नदेखिएको हो ।

तालिम केन्द्रका निर्देशक केशवराज पण्डितले जिल्लाका सातवटै गाउँपालिकामा पहिलो पटक हात्तीपाइले रोगको नमुना सङ्कलन गरी परीक्षण गरिएको तर रोग नदेखिएको बताउनुभयो । हिमाली जिल्लामा पनि लामखुट्टे देखिनु र गतवर्ष हुम्लामा डेङ्गुका बिरामी देखिएका थिए । 

हात्तीपाइले रोग लामखुट्टेबाट सर्ने रोग भएको र हुम्लामा पनि लामखुट्टे देखिन सुरू भएका कारण यसको नमुना परीक्षण गरिएको निर्देशक पण्डितले जानकारी दिनुभयो । यसका लागि परिचालित स्वास्थ्यकर्मीहरूको टोलीले छनाेट भएका विद्यार्थीहरुको रगत कीटमा राखेर परीक्षण गने कार्य गर्नुभएको थियो । केन्द्रका भेक्टर कन्ट्रोल अधिकृत कुमारप्रसाद पोखरेलले यसका लागि हुम्ला जिल्लाका ३७ विद्यालयका ४८० जना विद्यार्थीहरुको परीक्षण गर्नुपर्नेमा त्यो सङ्ख्या ५०८ पुगेको र स्वास्थ्यकर्मीहरूको टोलीले विद्यालयमै पुगेर नमुना सङ्कलन र परीक्षण गर्ने कार्य गर्दा कुनैमा पनि रोग नदेखिएको बताउनुभयो । 

यसमा कक्षा चारदेखि आठसम्म अध्ययन गर्ने नौदेखि १४ वर्ष उमेर समूहका विद्यार्थीहरुको नमुना परीक्षण गरिएको थियो । एउटा विद्यालयबाट १६ जनासम्म विद्यार्थीको परीक्षण गरिएको थियो गाउँपालिकाका विद्यालय अनुसार ताँजाकोटका पाँच, अदानचुलीका पाँच, सर्केगार्डका आठ, खार्पुनाथका पाँच, सिमकोटका आठ, नाम्खाका तीन र चङ्खेली गाउँपालिकाका तीन वटा विद्यालयहरू छनाेटमा परेर सङ्कलन र परीक्षण कार्य भएको हाे । परीक्षणको परिणाम स्वास्थ्यकर्मीहरूको टोलीले विद्यालयमार्फत सम्बन्धित विद्यार्थीको अभिवाभकलाई जानकारी गराउनुभएको थियो ।

हुम्लाका १३२ विद्यालयमा आठ हजार १६६ जना विद्यार्थी अध्ययन गर्दै आएका छन् । यसअघि देशका ६५ जिल्लामा यो कार्यक्रम लागु भएको भए पनि गत वर्ष डेङ्गु रोगका बिरामी देशका ७७ वटै जिल्लामा देखिएपछि यस वर्षबाट हिमाली बाह्र जिल्लामा पनि कीटजन्य रोगबाट सर्न सक्ने रोगमा हात्तीपाइले पर्ने र यसै अन्तर्गत हुम्ला जिल्लामा पनि यसको नमुना सङ्कलन गर्ने कार्य सुरु गरिएको हो ।