• २० असोज २०८१, आइतबार

हेवाखोलामा तेस्रो पटक डाइभर्सन गरेर यातायात खुलाइयो

blog

मेची राजमार्गको फिदिम ताप्लेजुङ खण्डमा पर्ने हेवाखोलामा डाइभर्सन गरिएका स्थानबाट वारपार गर्दै सवारीसाधन । तस्बिर: नेपाल प्रहरी

राधा लुइँटेल

फिदिम, असार १८ गते । असार २ गते राति आएको बाढीले पुल बगाएपछि आवागमन ठप्प भएको मेची राजमार्ग अन्तर्गत हेवाखोलामा आइतबार रातिदेखि यातायात र ढुवानीका साधन सुचारु भएका छन् ।

खोलामा ह्युमपाइप र पेन स्टक पाइप राखेर डाइभर्सन गर्दै यातायात र सवारी साधन सुचारु गराइएको हो । हिलिहाङ ७ र फिदिम ४ जोड्ने हेवाखोलामा यसअघि असार १२ र १३ गते २ पटक डाइभर्सन गरेर सवारी पास गराइए पनि पुनः बाढी आएपछि आवागमन ठप्प भएको थियो ।

पुल बगाएपछि हेवाखोला पारी पर्ने पाँचथरका फालेलुङ, हिलिहाङ र याङवरकसँगै सिङ्गो ताप्लेजुङ जिल्ला सडक सम्पर्क विच्छेद भएका छन् । पुल बगेको स्थानमा सडक डिभिजन इलामले बेलिब्रिज निर्माण सुरु गरे पनि प्रगति सुस्त छ । पुल बन्न अझै एक साता लाग्ने भएकाले वैकल्पिक मार्गका रूपमा डाइभर्सन गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख हरि खतिवडाले बताउनुभयो ।