• १२ मंसिर २०८१, बुधबार

डडेलधुरामा मोती उत्पादनको तयारी

blog

अमरगढी समाचारदाता 

डडेलधुरा, असार १८ गते । सुदूरपश्चिममा पहिलो पटक सरकारको अनुदानमा मोती उत्पादन सुरु गरिने भएको छ । डडेलधुरा जिल्लाको भित्री मधेश परशुराम नगरपालिका–४, कटालमा ८० प्रतिशत सरकार र २० प्रतिशत रकम निजी लगानीकर्ताबाट मोती उत्पादन सुरु हुन लागेको हो । सुदूरपश्चिम प्रदेश सरकारको उद्योग वाणिज्य तथा उपभोक्ता हित निर्देशनालय अन्तर्गत घरेलु तथा साना उद्योग कार्यालय डडेलधुराको सम्भाव्यता अध्ययनपश्चात् कटालमा आवश्यक पूर्वाधार निर्माणको काम थालिएको छ । 

मोती उत्पादन गर्न समुद्री जीव सिपी आवश्यक पर्छ । स्थानीय चक्र मालले मोती उत्पादनका लागि घरेलु तथा साना उद्योग कार्यालय डडेलधुरासँग सम्झौता गरेर पोखरी निर्माण गर्नुभएको छ । 

प्रकृतिको सबैभन्दा सुन्दर सिर्जना मोती अर्थात् (पर्ल) लाई मानिन्छ । मोती संसारमा एक मात्र यस्तो रत्न हो जुन जीवित प्राणीबाट उत्पादन हुन्छ । हामीले उपभोग गरिरहेको सिपी नै मोतीको मुख्य स्रोत भएको भनाइ उहाँको छ । सिपीको शल्यक्रिया गरी न्युक्लियस राखेपछि मोती उत्पादन हुने बताइन्छ । 

एक किरामा नौ वटा दाना मोती झिक्न सकिन्छ । मोती उत्पादनका लागि घरेलु तथा साना उद्योग कार्यालयले सञ्चालक मालसँग २५ लाख रुपियाँ बराबरको सम्झौता गरेको छ । 

एउटा पोखरीमा एक हजार दुई सयदेखि एक हजार तीन सयसम्म सिपी पाल्न सकिने उहाँले बताउनुभयो । सुरुवातमा तीन हजार छ सय सिपी पाल्ने योजना रहेको छ । यसका लागि उहाँले भारतमा आवश्यक तालिम लिएको जानकारी गराउनुभयो । सिपी भारतबाट ल्याई पोखरीमा प्रेस गराई एक सातामा न्युक्लियस प्रत्यारोपण गरेपछि मोती उत्पादन हुने उहाँले बताउनुभयो । यसको बजार पनि भारत नै भएको उहाँको भनाइ छ । गएको वर्ष मात्रै मोती जडित गरगहनाका लागि नेपालीबाट ४७ करोड रुपियाँ खर्च भएको एक तथ्याङ्कले देखाएको छ ।