पशुपतिनाथको मन्दिर धार्मिक, पुरातात्त्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थान हो। पैगोडा शैलीको आकर्षक मन्दिर खुला सांस्कृतिक सङ्ग्रहालय जस्तै देखिन्छ। जन्मेदेखि मृत्युपर्यन्त हुने सनातनी मान्यता दैनिक सयौँको सङ्ख्यामा भइरहेका हुन्छन्। शैव, शाक्त, वैष्णव, बौद्ध, जैन सौर, गाणपत, नाथ सिख आदि प्रमुख सम्प्रदायका भक्तजनका लागि पशुपति क्षेत्र सदैव आस्था र श्रद्धाको केन्द्र बनेको छ। आज पशुपतिनाथ धार्मिक र पौराणिक विषयको अध्ययन, आस्था कायम राख्दै महत्वपूर्ण केन्द्रको रूपमा विकास भएको छ।
पूर्वीय दर्शन, संस्कार र मान्यतामा भगवान् शिवजीको प्रतीकको रूपमा पशुपतिनाथलाई लिने गरिन्छ। पशुपतिनाथ पवित्र स्थलको रूपमा स्थापित मन्दिर हो। पौराणिका किंवदन्ती धेरै सुनिन्छन्। लिच्छवि राजा शिवदेवको पालामा भगवान शिव ब्राह्मणका रूपमा प्रत्यक्ष दर्शन र आशीर्वाद प्राप्त शङ्काराचार्यको पशुपतिनाथमा उपस्थिति भएसँगै यस क्षेत्रको निर्माणले गति लिएको पाइन्छ। अहिलेको पशुपतिनाथको मन्दिर भुपतिन्द्र मल्लको पालामा बनेको हामीले पाठ्यक्रममै पढेको विषय हो। पौराणिक हिसाबले यो भगवान् शिव स्थलका रूपमा स्थापित छ। पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत युनेस्को विश्व सम्पदा सूचीमा सन् १९७९ मा परेको हो।
राज्य संरचनाको विकास र परिवर्तनसँगै यस क्षेत्रको संरचनामा पनि थुप्रै परिमार्जन र विकास भएको पाइन्छ। सम्पदाको जगेर्नासँगै पुराना मूर्ति र कलाको चोरीलगायत बेतिथि भएका घटना पनि छन्। विसं २०३८/०३९ तिरको चोरीलगायत घटनापछि २०४३ सालमा यस क्षेत्रको विकासलाई व्यवस्थित गर्न पशुपति विकास कोष स्थापना गरी सञ्चालन हुँदै आएको छ। पशुपतिनाथको मन्दिर परिसर, नित्यपूजा, तथा भक्तजनको व्यवस्थापन गर्ने, पशुपतिनाथ गुठी र अमालकोट कचहरीसँग सम्बद्व जग्गा प्रशासन सञ्चालन गर्ने, पशुपतिनाथ मन्दिर तथा गुठी जग्गाको आय व्यवस्थापन गर्ने, पशुपति क्षेत्रमा पालिएका मृग, नन्दी, परेवा, बाँदर तथा अन्य जनावरको स्वास्थ्य तथा भोजनको उचित व्यवस्थापनको काम कोषले गर्दै आएको छ। पशुपतिनाथ मन्दिरमा महाशिवरात्रि पर्व, बालाचतुर्दशी पर्व, अक्षय तृतीया पर्व, हरितालिका तिज पर्व तथा अन्य विशेष पर्व सञ्चालन व्यवस्थापन गर्ने, पशुपति क्षेत्र वरिपरि सञ्चालन हुने विभिन्न जात्रापर्व सञ्चालन व्यवस्थापन गर्ने, पशुपति क्षेत्रलाई अन्तर्राष्ट्रिय एवं राष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य आध्यात्मिक पर्यटन प्रवर्धनको जिम्मेवारी पनि कोषको काँधमा छ। पशुपति क्षेत्रको सुरक्षा व्यवस्थापनको संयोजन गर्ने, पशुपतिनाथको महात्म्य एवं शैव सम्प्रदायको अध्ययन, अनुसन्धानसहित वैदिक एवं तान्त्रिक पूजा विधिको लेखन प्रकाशन एवं प्रसारण गर्ने दायित्व र जिम्मेवारी पशुपति विकास कोषको छ। यसको मुख्य आयस्रोत पशुपति क्षेत्रमा पर्यटन शुल्क, अक्षयकोष ब्याज आम्दानी, कुतवाली, सेवा शुल्क, चन्दा, पसलबाट उठ्ने बहाल, जग्गाको भोगाधिकारबाट प्राप्त आम्दानी, विशेष पूजाबाट हुने आम्दानी, धर्मशाला, पार्किङ शुल्कबाट हुने आम्दानी, पूजापाठको निम्ति उपलब्ध गराइएको भेटी र दानदक्षिणा, किरियापुत्री सेवा, शवदाहन सेवा, शवदाहन सामानको शुल्क आदि हुन्।
कोषको अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री रहने व्यवस्था छ भने योजना आयोग, पुजारी, प्रशासक, विभिन्न मन्त्रालयका सचिव, उपमहानगर प्रमुखलगायत नौ जना अध्यक्षबाट मनोनित पधाधिकारी र सदस्यसचिव रहने व्यवस्था छ। स्थापना कालदेखि पशुपतिनाथको मन्दिरमा योगदान गर्ने सरकार, व्यक्ति, सङ्घ संस्था धेरै छन्। धार्मिक तथा सांस्कृतिक पर्यटकीय क्षेत्रको विकासका लागि सबैको योगदान र सहयोग सदैव आवश्यक छ। संस्कृति, सभ्यता र धार्मिक मान्यताको संरक्षण, परिमार्जन र विकास आवश्यक छ। यही मान्यतामा कोषले काम गर्दै आएको छ।
नेपालमा धर्म निरपेक्ष कायम गरिएपछि यसको मूल मर्मलाई तोडमरोड गर्दै व्याख्या गर्ने काम भयो। राज्य सबै नागरिकको प्रतिनिधि संस्था हो। धर्म व्यक्तिको आस्था हो। राज्यले जबर्जस्त व्यक्तिको आस्थामा अङ्कुश लगाउन मिल्दैन। धर्म अङ्गीकार गर्ने व्यक्तिको स्वतन्त्रता हो भन्ने मान्यता नै धर्मनिरपेक्षताको मूल मर्म हो। कसैले यसको फाइदा उठाउँदै नागरिकलाई धर्म परिवर्तन गराउन लोभ, डर, अन्धविश्वास बाँड्दै हिँड्न थाले। मरेका मान्छे बचाउने, रोग निको पार्ने, धनी बनाउने जस्ता प्रलोभनमा धर्म परिवर्तन गराउँदै हिँड्ने एउटा प्रवृत्ति देखा प¥यो, जसले धार्मिक आस्था र सन्तुलनमा विकृति ल्याइदियो। एउटा अतिमा जकडिएको नेपाली समाज फेरि जानीनजानी अर्को अतिमा गएको भान हुन थाल्यो।
त्यसरी नै धर्म निरपेक्षताको सही व्याख्या र कार्यान्वयन गर्नुको साटो धार्मिक अराजकता माच्चाउने कार्यशैली पनि समस्याकै रूपमा देखा प¥यो। ठोरी र रामको प्रसङ्ग, दस वटा रथ भएको दशरथको काठमाडौँ चितवन रथ यात्रा पशुपतिमा जलहरी जस्ता धार्मिक अतिवादकै नमुना हुन्। संविधानमा धर्म निरपेक्ष लेखिँदा सनातनी हिन्दु धर्मावलम्बीको मनमा चिसो पसेको साँचो हो। नेपालमा ८१.१९ प्रतिशत (राष्ट्रिय जनगणना २०७८) हिन्दुको जनसङ्ख्या रहेको छ। त्यसैले हिन्दुको भावनामा खेलेर भोट बटुल्न सकिन्छ र आफ्नो कुत्सित मनसाय पूरा गर्न सकिन्छ भनेर राजनीतिक अराजकता देखाउने काम तत्कालीन सत्ता सञ्चालकबाट भयो। आस्था र मान्यता स्थापित गर्नुको साटो आस्था र मान्यातामाथि खेल्ने मनसायका साथ पशुपतिमा जलहरी लगाइएको यथार्थ पत्ता लगाउन कुनै अनुसन्धान परियोजना चलाइरहनु पर्दैन। गलत नियतले गरिएको धार्मिक बिखण्डनवादी सोच पशुपतिनाथको जलहरीसम्म आइपुग्दा छताछुल्ल भएको छ। व्यक्ति धार्मिक विश्वासको फाइदा उठाएर आस र त्रास देखाउँदै धर्म परिवर्तन गराउँदै हिँड्ने प्रवृत्ति धर्मका नाममा तथानाम बोल्दै र गर्दै हिँड्ने रूपमा फरक भए पनि सारमा समान छन्, किनकि दुवैले जनतको धार्मिक विश्वासको फाइदा लिएर आफ्नो स्वार्थको रोटी सेकाउन खोजेका छन्।
यसमा राजनीतिक अराजकताको बलियो प्रणाम त अझ के देखिन्छ भने जलहरीमा अमूलक व्यक्तिको नाम लेख्न लगाइयो। पशुपतिको जलहरी पक्कै पनि सामान्य शिलालेख होइन, जहाँ त्यति सजिलै कसैको नाम लेखियोस्। पशुपतिमा जलहरी धार्मिक आस्था र सम्मान बढाउन राखिन्थ्यो भने के त्यसमा कुनै व्यक्तिको नाम लेखिन्थ्यो त ? यो काम पशुपतिनाथमा आउने करोडौँ भक्तजनको आस्थाका लागि होइन, तत्कालीन शासकको सनकपूर्ण प्रचारका लागि त्यो काम गरिएको थियो भन्ने प्रस्टै देखिन्छ। यसले धार्मिक स्थलमा शासकीय हस्तक्षेप भएको छ, भक्तजनको आस्थामा चोट पु¥याएको छ। कुनै व्यक्तिले आफ्नै सम्पत्तिबाट दान गरेको भए पनि धार्मिक दानमा दाताले आफ्नो पहिचान उल्लेख गर्दैनन् भने राज्यकै ढुकुटीबाट लगाइएको जलहरीमा व्यक्तिको नाम लेख्ने तत्कालीन शासक मात्र होइन, त्यस्तो अनावश्यक हस्तक्षेप स्वीकार गर्ने पशुपति क्षेत्र विकास कोषप्रति पनि अवश्य प्रश्न उठेको छ।
पशुपतिमा सुनको जलहरी राख्ने पशुपति क्षेत्र विकास कोषको मनसाय भएको निर्णय कहीँ कतै देखिँदैन। बरु तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सस्तो लोकप्रियता र धार्मिक आवरणमा राजनीतिक स्वार्थ पूरा गर्ने ध्याउन्नबाट यो कार्यव्रmम अघि बढाइएको सजिलै बुझ्न सकिन्छ। जलहरी राखेको छोटै समयमा त्यसमाथि अनियमितताको आशङ्का गर्नुपर्ने, फेरि निकाल्ने र राख्ने आदि कामले पक्कै पनि धार्मिक स्थलको महìव बढाएको छैन बरु विवादित बनाउने काम गरेको छ। कुनै शासकको सनकमा यति महìवपूर्ण धार्मिक स्थलमा राज्यको ढुकुटी दानको रूपमा सुम्पने र त्यसमार्फत पवित्रस्थललाई नै विवादित बनाउने काम राजनीतिक अराजकताको परिणाम नै हो। हिजोको सवाल मात्र होइन, आज र भोलिका कुनै पनि शासकले यस प्रकारका अराजक हर्कत नदोहो-याऊन् भनेर जनस्तरबाट खबरदारी जरुरी छ।
लेखक (नेकपा माओवादी केन्द्र)का युवा नेता हुनुहुन्छ।