• १२ मंसिर २०८१, बुधबार

गुरुको गरिमा

blog

शैक्षिक जगत्मा गुरुको सङ्ख्या र गुरुत्वको सीमा बाँध्न कठिन छ। सच्चा मानव बन्नका लागि जीवनकालमा एक व्यक्तिले थुप्रै गुरुबाट शिक्षा आर्जन गर्छ। व्यक्तित्व विकासका लागि मात्र नभई समाज तथा राष्ट्र विकासका लागि समेत ज्ञानसँगै सिपमुखी शिक्षाका लागि गुरुको योगदान सर्वोपरि हुन्छ। आधुनिक शिक्षण सिकाइ प्रक्रियाका अनेक प्रारूप र प्रविधि देखा परे पनि सम्मुखमा रहेर सहज र सरल तरिकाबाट सिकाउने गुरुको तुलना अरूसँग हुन सक्दैन। आधुनिक टेक्नोलोजीबाट प्राप्त ज्ञान सिपलाई सहज, सरल रूपमा बुझ्नसमेत कतिपय अवस्थामा गुरुको सहारा लिनुपर्ने हुन्छ। मानव जीवनको कुनै पनि कालखण्डमा गुरुको गरिमा अवमूल्यन हुन सक्दैन। गुरुलाई मैनबत्तीसँग पनि तुलना गरिन्छ। आफू जलेर अरूलाई उज्यालो छर्ने गुरु निष्ठावान् र त्यागका प्रतिमूर्ति नै हुन्। शिष्यको सफलतामा रमाउने गुरुको आदर्श गुणको सम्मान र स्मरण गर्दै प्रत्येक वर्ष झैँ हालसम्म पनि हामी देशभर र विदेशमा समेत धूमधामसँग गुरुपूर्णिमा मनाउँदै छौँ। 

यतिबेला गुरु चेलाको आदर्श भत्कँदै गएको आभास हुँदै छ। गुरुपूर्णिमाको महत्वलाई अझ ज्वलन्त बनाउन र आधुनिक शिक्षा व्यवस्थालाई व्यवस्थित र बलियो बनाउन सरकारको सकारात्मक सोचाइ, व्यवहार र उत्कृष्ट रणनीतिको खाँचो छ। आज प्रविधि विकासले भूगोलका कुना कुनालाई सहजै ल्याइदिएको छ। इन्टरनेटको माध्यमबाट घरैमा बसी बसी अनेक कुरा सिक्ने अवसर उपलब्ध छ। हरेक कुरा बुझ्न, सिक्न र जान्न गुरु नै चाहिन्छ भन्ने छैन भन्ने भावना बढे पनि समाजमा गुरुको आफ्नो गौरवशाली स्थान कसैले ओगट्न सक्दैन। ज्ञान सिपका भोका हरेक शिष्यका लागि गुरुको गरिमा र गुरुत्वको महिमा कहिल्यै घट्ने पनि छैन। 

विडम्बना, शिक्षामा निजीकरण र व्यवसायीकरण मौलाएसँगै विगतका गुरुहरूको लोभलाग्दो गरिमा वर्तमान शिक्षा प्रणालीमा धमिलिन पुगेको छ। गुरु आफ्नै शिष्यहरूबाट उपेक्षित, पीडित र निन्दित हुनु परेका तिक्त घटना यत्रतत्र देखिन्छन्। गुरुको निन्दा गर्ने, गुरुको अपमान तथा तिरस्कार गर्ने मानिसको कदापि कल्याण हुँदैन। विश्वविद्यालयमा शिक्षक कुटिने र विद्यालयमा शिक्षक अपमानित हुने जस्ता बारम्बार दोहोरिने घटनाले गुरुको गरिमा धमिल्याएको छ। त्यसो त आजको समयमा ज्ञानार्जनको माध्यम गुरु मात्र नभई अनेक विधि र प्रविधिको विकास र प्रयोग प्रचलनमा आइरहेका कारण गुरु शिष्यबिचको निकट सम्बन्धमा केही दरार पसेको पो हो कि! आज गुरु शिष्य दुवैबिच एक अर्काप्रति शङ्का र भयको उत्तिकै प्रश्न उब्जिएका देखिन्छन्। गुरु शिष्यलाई दोष लगाउने र शिष्य गुरुलाई अटेर गर्दै र मर्यादा मिच्दै बाटो बिराउँदा गुरु र शिष्यको सम्बन्ध चिसिँदै र पिसिँदै गएको छ। विद्यालयदेखि विश्वविद्यालय तहसम्मका गुरु गौरव गर्नलायक कामबाट अलग्गिँदै गएका गुनासा पनि बढिरहेका छन्। 

शिक्षा क्षेत्रमा चुलिँदै गएका विकृति, विसङ्गति र बदमासीले गुरुप्रति शिष्यका औँला  ठडिएको छ। शिष्यमा अनुशासन र अध्ययनशीलता अझ बढी प्रश्नचिह्नको भुमरीमा जकडिएको छ। आजका शिक्षार्थी अनुशासित र मिलनसार होइन उच्छृङ्खल र एकलकाटे बन्दै गएका छन्। गुरुसँग केही सिकौँ र आफूलाई सुधारौँ  भन्ने महान चिन्तनबाट विद्यार्थी टाढिँदै छन्। शिक्षकसँगसँगै रहेर ज्ञानसिप ग्रहण गर्ने रुचि र चासो आजका विद्यार्थीमा खस्किँदै छ। गुरु शिष्य सम्बन्ध प्रगाध बनाइराख्ने शिक्षा प्रणालीकै अभाव भएकै कारण शिक्षामा गुणस्तर खस्कँदै गएको हो। विद्यार्थीको रुचि र क्षमता पहिचान गर्दै सिकाउने शिक्षक र शिक्षकलाई मार्गदर्शकका रूपमा पछ्याउने विद्यार्थी संस्कारको अभाव खट्केको छ। 

असल र सक्षम नागरिक उत्पादन गर्ने हाम्रा सम्मानित गुरु राज्यका नजरमा कहाँ छन् ? आजको आधुनिक शिक्षा व्यवस्थामा बन्दनीय गुरु निन्दनीय बन्दै जानुमा मुख्य दोष कस्को ? समग्र गुरुका लागि सामान्य जीवन धान्ने तलब सुविधा र पेसागत सुरक्षा सम्मान उपलब्ध गराउनै पर्ने आवश्यकतामा सरकार गम्भीर हुनु पर्छ। आज मन्त्रीदेखि माग्नेसम्मको रोजाइमा पर्ने निजी शैक्षिक संस्थाका गुरु अति न्यून तलब तथा सेवा सुविधामा काम गरिरहेका छन्। आज शिक्षा व्यक्तित्व विकास गर्ने माध्यम मात्र होइन जनजीविकाको मुख्य कडी नै बन्न पुगेको अवस्थामा गुरुचाहिँ कुन धरातलमा घिस्रिरहेका छन् भन्नेबारे सरकारको ध्यान जानु पर्छ।

एक्काइसौँ शताब्दीको प्रतिस्पर्धात्मक शिक्षा व्यवस्थाका आजका विद्यार्थीलाई जस्तोसुकै कठिनाइसँग जुधेर सहज जीवनयापनको कला सिकाउने गुरु हामी सबैका साझा सम्पत्ति होइनन् र ? विद्यालय, विश्वविद्यालयमा शिक्षण गर्ने व्यक्ति मात्र नभई लोककल्याणकारी ज्ञान प्रदान गर्ने जो कोही व्यक्ति गुरु नै कहलाउँछन्। प्रकृतिलाई पनि मानिसको गुरु मानिन्छ किनभने प्रकृतिबाट पनि मानिसले अथाह ज्ञान आर्जन गरिरहेको हुन्छ। 

गुरुकुल शिक्षाबाट प्रारम्भ भएको गुरुशिष्य सम्बन्ध आधुनिक शिक्षा व्यवस्थामा अझ प्रगाढ हुनु पर्छ। गुरुको ज्ञान सिपले एउटा विद्यार्थीको जीवन मात्र परिवर्तन नगरी गाउँ, समाज र राष्ट्रकै उत्थानमा सर्वोपरि भूमिका खेलेको हुन्छ। शिक्षा आदानप्रदानका लागि गुरु शिष्य नै कुनै निश्चित संस्थामा धाउनुपर्ने व्यवस्थाका रूपमा विद्यालय तथा विश्वविद्यालय शिक्षाको सुरुवात भएको पाइन्छ। ज्ञान तथा सिप आर्जनका लागि विद्यालय, विश्वविद्यालयको स्थापनासँगै प्राचीन र वर्तमान शिक्षा व्यवस्थामा व्यापक परिवर्तन भइसकेको छ। हाल जीवन र जगत बुझ्ने विद्यासँगै जीविका चलाउने सिप र प्रविधिमुखी शिक्षाको महत्व अझ बढ्दै गएको छ। देश निर्माणका लागि समेत ज्ञानमुखीसँगै सिपमुखी शिक्षाको आवश्यकता अझ खट्किएको छ। व्यक्तिलाई आदर्श र सर्वज्ञ बनाउँदै विश्व श्रमबजारमा विक्न सक्ने शिक्षा प्राथमिकतामा पर्न गएको छ। 

शिक्षामन्त्री फेरिएपिच्छे बन्ने शिक्षा योजनाका खाका र त्यसबाट शिक्षा क्षेत्रमा निम्तने अस्थिर र अराजक विगतकै चरित्रबाट अब सरकार माथि उठेर दक्ष कर्मठ, र कर्तव्यनिष्ठ शिक्षकको समर्पित योगदानबाट शिक्षालाई व्यक्तित्व विकास र राष्ट्रिय समृद्धिको मूल आधार बनाउनु पर्छ। राजनीतीकरण, व्यापारीकरण र मनोमानिकरणको जराबाट मौलाउँदै गरेको वर्तमान शिक्षा व्यवस्थालाई विस्थापन गर्दै आधुनिक शिक्षा व्यवस्थालाई उचाइमा पु¥याउने गरी शिक्षकले पेसाप्रति समर्पित भई सिकाउने र विद्यार्थीले लगनशील भएर सिक्ने खालको नयाँ शिक्षा व्यवस्था र त्यसभित्र गुरु शिष्य सम्बन्ध प्रगाध बनाउने शैक्षिक व्यवस्थापन र रणनीति अवलम्बन गर्नु राज्यको परम दायित्व हो।

गुरुपूजन परम्परा पुर्वीय संस्कृतिको मौलिक विशेषता हो। गुरुपूर्णिमा अर्थात् वेदव्यास जयन्तीका दिन हातमा फुलका गुच्छा र मिठाई बोकेर आफ्ना गुरु भेट्न जाने व्यक्तिको लस्कर देख्न सकिन्छ। सांस्कृतिक सामाजिक महत्व बोकेको गुरुपूर्णिमा पर्व व्यक्तिलाई आदर्श र देशलाई उज्ज्वल र समुन्नत बनाउने शैक्षिक अभियानसँग जोडिएकाले राष्ट्रिय पर्वकै रूपमा यसले मान्यता पाउनु स्वाभाविक हो। प्रत्येक व्यक्तिको जीवनरूपी रथ अघि बढाउन गुरुबाट प्राप्त ज्ञान सिपको अधिक महत्व हुन्छ। मानव जीवनलाई जीवन्त तुल्याउने अथाह शक्ति गुरुमा हुन्छ र त गुरुको महिमा व्यापक छ। 

जगत् र जीवनबारे बुझ्ने अनन्य क्षमता हुन्छ गुरुमा। अन्धकार र अज्ञानता नाश गरी मानवलाई उज्यालो पथमा डो¥याउने र कर्तव्यविमुख र दिग्भ्रमित भएकाका जीवन रथलाई सहज रूपमा अगाडि हाँक्ने सारथि नै हुन् गुरु । गुरु सभ्य शालीन समाजका सर्जक र प्रवर्तक पनि हुन्। व्यक्तिका भ्रम निवारण गर्ने र जिज्ञासा मेटाउने अथाह शक्ति हुन्छ गुरुमा। गुरुको ज्ञान मनन् र निर्देश पालनबाट नै सभ्य र सुसंस्कृत समाजको उदय हुन्छ भने व्यक्ति र राष्ट्रलाई नै सफल सम्पन्न बनाउने अनन्य तागत हुन्छ गुरुमा। आज हामी जो जहाँ छौँ त्यस गौरवमय धरातलमा उभ्याउने उही आदरणीय गुरुप्रति हामी आभारी छौँ। यस पावन घडीमा गुरुको आदर सम्मानमा कोही कसैले कत्ति पनि कन्जुस्याइँ नगरौँ। देश विदेशका समस्त गुरुजनमा गुरुपूर्णिमाको हार्दिक नमन तथा शुभकामना। 

लेखक शिक्षण पेसामा आबद्ध हुनुहुन्छ। 

   

Author

पविता मुडभरी पुडासैनी