• २१ असार २०८१, शुक्रबार

एलडिसी स्तरोन्नतिको रणनीति अन्तिम चरणमा

blog

काठमाडौँ, असार १८ गते । राष्ट्रिय योजना आयोगले नेपाललाई विकासशील मुलुकमा स्तरोन्नति गर्ने सन्दर्भमा आवश्यक रणनीति निर्धारणको काम अन्तिम चरणमा पुगेको जनाएको छ । आइतबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले रणनीतिसम्बन्धी मस्यौदामाथि गरिएको छलफलका क्रममा सो कुरा बताइएको हो । 

आयोगले तयार गरेको रणनीति मस्यौदामा विकासशील मुलुकमा स्तरोन्नति भएपछि प्राप्त हुने लाभलाई अधिकतम उपभोग गर्न र विकासशील मुलुकमा स्तरोन्नति भइसकेपछि आउने चुनौतीको सामना कसरी गर्ने भन्ने विषयमा जोड दिइएको बताइएको छ । अध्यक्ष श्रेष्ठका अनुसार एलडिसी स्तरोन्ततिलाई लाभदायक बनाउने गरी रणनीति निर्धारण गरिएको छ । “मुलुकको अर्थतन्त्रको अवस्था, सम्भावना र स्तरोन्नतिपछि विभिन्न क्षेत्रमा पर्न सक्ने सकारात्मक वा नकारात्मक असरको गहन अध्ययन तथा विश्लेषण गरी रणनीतिले अन्तिम रूप पाउने छ,” उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, “यसकै आधारमा दातृ संस्था, निजी क्षेत्र, समुदायलगायतले भूमिका खेल्नुपर्ने हुन्छ ।”

संयुक्त राष्ट्रसङ्घको विकास नीति समितिले सन् २०२१ मा अति कम विकसित मुलुक (एलडिसी) बाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि नेपाललाई सन् २०२६ सम्मको तयारीको समय दिई स्तरोन्नतिको सिफारिस गरेको थियो । 

आइतबारको छलफलमा अर्थ सचिव, परराष्ट्र सचिव, शिक्षा मन्त्रालयका सचिव, उद्योग, वाणिज्य मन्त्रालयका सचिव साथै निजी क्षेत्रबाट समेत प्रतिनिधित्व थियो ।