काठमाडौँ, असार १८ गते । “जो शिक्षक प्रसन्न चित्त रहन्छन् तिनका शिष्यहरू पनि प्रसन्न रहने गर्दछन् । हाँसीखुसी साथ नयाँ नयाँ कुरा सिक्तै जान्छन् । जो शिक्षक उदास मन गरेर पढाउँदछन् तिनीहरूका शिष्यहरू पनि ध्यानपूर्वक मन लगाएर पढ्दैनन् । शिक्षकको हृदय धार्मिक भावले, सुन्दर विचारले भरिइरहेको हुनुपर्दछ ।”
एक सय पाँच वर्षअघि अर्थात् १९७४ साल फागुन २८ गतेको गोरखापत्रमा ‘शिक्षकको गुण’ शीर्षकमा एउटा लेख छापिएको लेखको यस भनाइले शिक्षक र विद्यार्थीबिचको सम्बन्ध र सिकाइको अभ्यासलाई दर्साउँछ ।
यसमा भनिए जस्तै वर्तमानमा शिक्षकलाई प्रसन्न चित्त अवस्थामा फेला पार्न सकिन्छ ? भन्ने जिज्ञासामा शिक्षकहरूको सहज जवाफ हुने गर्छ, “सकिँदैन ।” कारणबारे शिक्षकहरूको तर्क हुने गर्दछ, “शिक्षकका समस्यै समस्या छन्, राज्यले सम्बोधन नगर्दासम्म प्रसन्न चित्त कठिन हुन्छ ।” नेपाल शिक्षक महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीले समस्याका १७ थरी फेहरिस्त सुनाउँदै भन्नुभयो, “शिक्षकका एकै खालका सेवा सुविधा छैन । स्थायित्व छैन । बढुवा छैन । ग्रेडमा विभेद छ । कक्षाकोठाभित्र पर्याप्त दरबन्दी छैन । महिनावारी तलब उपलब्ध गराइँदैन । यस पेसामा उत्साह र अभिप्रेरणा नभएपछि क्रमशः आकर्षण घट्दो छ । यस्तै रहेमा अब्बल जनशक्ति शिक्षण पेसामा प्रवेश नगर्ने अवस्था रहन्छ ।”
विशेष गरी २०४६ सालको प्रजातन्त्रपछि शिक्षकहरूले दलको झन्डा बोकेर हिँड्न थालेपछि शिक्षकको मर्यादा र प्रतिष्ठामा समाजले औँला ठड्याउन थालेको हो । यसले गर्दा शिक्षकप्रतिको सम्मान र बुझाइमा समाजको दृष्टिकोण फरक हुँदै गयो । तर शिक्षाविद् प्राडा मनप्रसाद वाग्लेले एकाध शिक्षकलाई उदाहरण दिएर यसलाई सामान्यीकरण गर्न नमिल्ने तर्क गर्नुभयो । “राजनीतिमा लागे वा खराब भए भनेर सामान्यीकरण गर्न मिल्दैन । समग्रमा शिक्षकहरू खराब छैनन्,” उहाँले बचाउ गर्दै भन्नुभयो ।
विगतमा शिक्षकको पारिश्रमिक त्यति सन्तोषजनक थिएन । २०११ सालको नेपाल राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनमा पनि यसबारेमा उल्लेख थियो, “शिक्षकको अवस्था पनि विशेष अनुकूल छैन । उसले आफ्नो थोरै आम्दानीको पूर्ति गर्न अरू काम गर्नु पर्छ ।
अरू साथीहरूको तुलनामा उसको रहनसहनको स्तर उच्च छैन र आफ्नो जमातमा ऊ विरलै बढ्ता इज्जतदार मानिन्छ। प्रायः जनता शिक्षकको कामलाई रुचाउँदैनन्। अक्सर गरी उसले अरू कुनै रोजगार पाउन नसकेर शिक्षणको काम लिएको हुन्छ। सारांशमा शिक्षकको स्थिति कत्ति पनि आकर्षक छैन।”
विद्यालयमा अहिले १७ थरीका शिक्षक कार्यरत छन्। स्थायी, राहत, अस्थायी, बालकक्षा, प्रदेश अनुदान, पालिका अनुदान, विशेष शिक्षा, प्राविधिक धारलगायतका शिक्षकको व्यवस्थापन गरिएको छ। अझै पनि चौमासिक रूपमा शिक्षकले पारिश्रमिक थाप्नुपर्ने अवस्था छ। भर्खर मात्र काठमाडौँ महानगरपालिकाले मासिक तलब दिने घोषणा गरेको छ। शिक्षकका संस्थाहरूले बर्सेनि आन्दोलन गर्छन्, माग पूरा गरिदिने भन्दै शिक्षा निकायले वार्ता गर्छ तर माग जस्ताको तस्तै हुने प्रवृत्ति छ।
काठमाडौँको शीतला माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मण श्रेष्ठले शिक्षकमा अध्ययनशीलताको कमी, पाठ्यक्रम र पाठ्यपुस्तकमा भएका खाडल पत्ता लगाउन नसक्ने, पाठ्यपुस्तक घोकाउन व्यस्त हुने, शैक्षिक गुणस्तरबारे चासो नदिनेलगायतका समस्या रहेको बताउनुभयो।
“शिक्षण पेसालाई प्रमुख पेसा बनाउनेभन्दा फट्के किनाराको साक्षीका रूपमा मात्र राख्ने र शिक्षण कार्यलाई भन्दा घरायसी वा अपरिभाषित काममा ध्यान बढी दिएको देखिन्छ,” उहाँले थप्नुभयो, “शैक्षिक विकृति र विसङ्गतिबारे शिक्षक मौन छन्। विद्यार्थीका लागि वास्तविक गुरु बन्न अध्ययनलाई प्रमुख प्राथमिकता दिनुपर्छ। आफ्नो कामलाई पहिलो प्राथमिकता दिनुपर्छ।”
शिक्षाविद् डा. वाग्लेले शिक्षकलाई हुर्काउने संस्कृतिमा समस्या देखिएको तर्क गर्नुभयो। “शिक्षक जुन परिपेक्ष्यमा बाँचेका छन्, त्यसमा बाँच्न कठिन छ। त्यसैले गुरुलाई सम्मान गर्ने वातावरण समाजले बनाइदिनु पर्छ,” उहाँले भन्नुभयो।
पोखराको राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक प्रकाश रिजालले शिक्षकहरू आधारभूत न्यूनतम पूर्वाधारबिना नै कक्षाकोठामा जानुपर्ने बाध्यता रहेको गुनासो गर्दै भन्नुभयो, “सूचना प्रविधिलाई सिकाइ प्रव्रिmयासँग जोड्न राज्यले भन्छ तर सूचना प्रविधिको पहुँच छैन। १७ थरीका शिक्षक छन्। यस्तो अवस्थामा भोका गुरुलाई अपमान र समस्या मात्र छ। वास्तवमा उनीहरू सबैखालको गरिमा चाहन्छन्।”
जनउद्धार मावि काठमाडौँका शिक्षक अप्सरा घिमिरे आचार्यले शिक्षण पेसा सबैभन्दा सम्मानित र मर्यादित हुनुपर्नेमा उपेक्षित पेसाका रूपमा लिइँदा आत्मसम्मानमा चोट पुगेको अनुभव हुने गरेको बताउनुभयो। “काम गर्ने र नगर्ने शिक्षकलाई एउटै टोकरीमा राखेर मूल्याङ्कन गरिँदा पढाउँदैनन् भन्ने आरोप लाग्ने गरेको छ। यसले मनोबल खस्काएको छ। सेवा सुविधा कम हुँदा जीवन निर्वाह हुन नसक्दा एकै ठाउँमा कटिबद्ध हुन नसक्ने अवस्था छ,” उहाँले भन्नुभयो । यसैबिच सोमबार देशव्यापी रूपमा गुरूपूर्णिमा मनाइँदैछ। अषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा, आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धा व्यक्त गर्दै मनाइन्छ।