अमरराज नहर्की
तनहुँ, चैत २५ गते । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको सुरक्षा र सेवामा आफ्नो ऊर्जाशील समय खर्चिएका भूतपूर्व सैनिकहरूको अनुभव र योगदान सङ्गठनका लागि सधैँ अमूल्य रहने बताउनुभएको छ ।
तनहुँको खैरेनीटारस्थित श्री नं. ३ बाहिनी अड्डामा बुधबार आयोजित ‘भूतपूर्व सैनिक सम्मेलन–२०८२’ लाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
‘एक पटकको सैनिक, सधैँको सैनिक’ भन्ने मूल मर्मका साथ आयोजित समारोहमा प्रधानसेनापति सिग्देलले भन्नुभयो, “तपाईँहरूले वर्दीमा रहँदा प्रदर्शन गरेको अनुशासन र कर्तव्य परायणताले नै आज नेपाली सेनाको साख उच्च रहेको छ । अवकाशप्राप्त जीवनमा पनि तपाईँहरूले समाजमा निर्वाह गरिरहनुभएको भूमिका र राष्ट्र सेवाको भावनाको सङ्गठन उच्च कदर गर्दछ ।” उहाँले सैनिक कल्याणकारी कोषमार्फत सञ्चालित स्वास्थ्य, शिक्षा र स्वरोजगारका सुविधाहरूलाई अझ परिष्कृत र समयसापेक्ष बनाउन सेना प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
सम्मेलनका क्रममा प्रधानसेनापतिले तनहुँ, म्याग्दी, मुस्ताङ, पर्वत, बागलुङ, लमजुङ, मनाङ, स्याङ्जा, गोरखा र कास्की जिल्लाका भूतपूर्व सैनिक तथा वीर नारीहरूसँग प्रत्यक्ष संवाद गरी उनीहरूका समस्या र अपेक्षाबारे जानकारी लिनुभएको थियो । समारोहमा ज्येष्ठ पूर्व सैनिक, एकल महिला र सेनामा चार वा सोभन्दा बढी सन्तान पठाउने आमा–बुवालाई विशेष सम्मान गरिएको थियो । साथै, शारीरिक रूपमा अशक्त भएकाहरूलाई ह्विल चियर तथा वैशाखी वितरण र लघु उद्यम व्यवसायीलाई प्रोत्साहन पुरस्कार प्रदान गरियो ।
यस्तै, नेपाली सेनाले देशका अन्य विभिन्न क्षेत्रमा पनि सम्मेलनको तयारी गरेको छ । सोही अभियान अन्तर्गत आगामी वैशाख ३ गते मध्य पूर्वी पृतना हेडक्वार्टर बर्दिबासमा महोत्तरी, सर्लाही र धनुषाका हिताधिकारीका लागि सम्मेलन आयोजना हुँदैछ । यस्तै, वैशाख ४ गते खड्गदल गण रामेछापमा रामेछाप, सिन्धुली र दोलखाका भूतपूर्व सैनिकहरूको भेला हुने सेनाले जनाएको छ ।
यसअघि चैत २२ गते बुटवलमा मध्य पश्चिम पृतना अन्तर्गतको सम्मेलन सम्पन्न भइसकेको छ। यी सम्मेलनहरूले बहालवाला र अवकाशप्राप्त सैनिकहरूबिचको भावनात्मक सम्बन्धलाई अझ प्रगाढ बनाउन सम्मेलन गरिएको सेनाले जनाएको छ ।