• १५ मंसिर २०८१, शनिबार

सार्वजनिक खरिद ऐनमा आमूल सुधार गर्नुपर्छः मेयर महर्जन

blog

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन कार्यक्रममा सम्बोधन गर्नुहुँदै ।

गोरखापत्र अनलाइन

काठमाडौं, असार १७ गते । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सार्वजनिक खरिद ऐनमा आमूल सुधार गर्नुपर्ने आवश्यक्ता औंल्याउनुभएको छ ।  निर्माण कम्पनीलाई सफल बनाउन नसक्ने भएकाले विद्यमान सार्वजनिक खरिद ऐनमा आमूल सुधार गर्नेपर्ने उहाँको भनाइ छ । 

तराई विकास तथा सञ्चार केन्द्र नेपालको आयोजनामा ललितपुरमा आज आयोजित ‘सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भूमिका’ विषयक कार्यक्रममा मेयर महर्जनले सार्वजनिक खरिद ऐनमा सुधारगरी निर्माण कार्यले गति लिएमात्रै पूँजीगत खर्च बढ्ने र मुलुक बन्ने स्पष्ट पार्नुभयो । उहाँले कन्सट्रक्सन इन्डष्ट्रिको काममा सुधार ल्याउन अनुगमनको काममा कडाई गर्न पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्रलगायतका नियामक निकायसँग आग्रह गर्नुभयो । 

उहाँले निर्माण कम्पनीले लिएको जिम्मेवारीअनुसारको काम अघि नबढाउँदा आफूले ठेक्का नै रद्द गर्ने चेतावनी दिए पनि सुनुवाई नभएको गुनासो गर्नुभयो । मेयर महर्जनले भन्नुभयो, ‘नियामक निकाय अख्तियार, महालेखा परीक्षकको कार्यालय, राष्ट्रिय सतर्कता केन्द्रलगायतका निकायको तर्फबाट कन्स्ट्रक्सन इन्डष्ट्रिमा सुधार गर्ने पहल हुनुपर्छ ।’ 


‘पूँजीगत खर्च बढेपछि यो मुलुकको इकोनोमी चलायमान हुन्छ । अनि पो देश बन्छ’ मेयर महर्जनले भन्नुभयो, “यो कुरा मैले धेरै ठाउँमा बोलिसके । धेरै ठाउँमा भनि सके । तर पनि खासै सुधार भएको छैन ।’ निर्माण कम्पनीको काममा सुधार ल्याउन आफूले सम्बन्धित निकायमा पटक पटक आग्रह गरे पनि सोअनुसार काममा सुधार हुन नसकेको उहाँले चर्चा गर्नुभयो । कार्यक्रम सञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्द चौलागाईको अध्यक्षतामा भएको थियो ।