• १३ मंसिर २०८१, बिहिबार

पाँच स्थानीय तहको बजेट पारित, ६ को बाँकी

blog

स्थानीय तहमा नीति तथा कार्यक्रम पेश हुँदै । तस्बिर : नरेन्द्र ढकाल

नरेन्द्र ढकाल

गोरखा, असार १७ गते । गोरखाका ११ वटा स्थानीय तहले नीति तथा कार्यक्रम ल्याएका छन् । असार १० गतेभित्र सबै स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट पेस गर्नुपर्ने प्रावधान छ । सोहीअनुरूप नीति तथा कार्यक्रम र बजेट ल्याए पनि कतिपयले पारित गरेका छैनन् । 

अहिलेसम्म शहीद लखन, सिरानचोक, भीमसेन थापा, बारपाक सुलिकोट र अजिरकोट गाउँपालिका गरी पाँच स्थानीय तहले नीति तथा कार्यक्रमसँगै बजेट समेत पारित गरिसकेका छन् । 

शहीद लखन गाउँपालिकाले असार ७ गते नीति तथा कार्यक्रम र बजेट ल्याएको थियो । सोही शहीद गण्डकी प्रदेशमै छिटो बजेट पारित गर्ने पहिलो गाउँपालिकाले समेत बनेको छ । उक्त गाउँपालिकाले ६३ करोड २० लाख १० हजार रुपियाँ बराबरको बजेट ल्याइएको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिनुभयो । 

सिरानचोक गाउँपालिकाले असार १० गते नै नीति तथा कार्यक्रम र बजेट पारित गरेको प्रमुख प्रशासकीय अधिकृत उमेशकुमार यादवले जानकारी दिनुभयो । ‘हामीले १० गते नै नीति तथा कार्यक्रम बजेट पास गरिसकेका छौँ’ उहाँले भन्नुभयो, ‘आगामी आर्थिक वर्षका लागि ७९ करोड ८४ लाख ५५ हजार ६०० रुपियाँ बराबरको बजेट अनुमान गरिएको छ ।’ 

अजिरकोट गाउँपालिकाले पनि १० गते नै नीति तथा कार्यक्रम र बजेट पास गरेको प्रमुख प्रशासकीय अधिकृत नवराज अवस्थीले जानकारी दिनुभयो । सो गाउँपालिकाले ४९ करोड ३४ लाख ९३ हजार रुपियाँ बराबरको बजेट ल्याएको छ । बारपाक सुलिकोट गाउँपालिका पनि १० गते नै नीति तथा कार्यक्रम बजेट पारित गरेको गाउँपालिका अध्यक्ष विष्णु भट्टले जानकारी दिनुभयो । सो गाउँपालिकाले ६० करोड ३९ लाख ६९ हजार रुपियाँ बराबरको बजेट ल्याएको उहाँको भनाइ छ ।

यसैगरी, भीमसेन थापा गाउँपालिकाले ५५ करोड ८४ लाख ३० हजार ४०० रुपियाँ बराबरको अनुमानित बजेट ल्याएको छ । असार १० गते गाउँ सभामा पेस भएका नीति तथा कार्यक्रम र बजेट पारित भएको गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जराले जानकारी दिनुभयो । 

सदरमुकामको गोरखा नगरपालिकाले १० गते नै नीति तथा कार्यक्रम विनियोजन ऐन र आर्थिक ऐन र खानेपानी तथा सरसफाइ ऐन नगर सभामा पेस गरेको थियो । आर्थिक वर्ष २०८०–८१ लागि १ अर्ब ३२ लाख ६५ हजार रुपियाँ बराबरको अनुमानित बजेट सभामा पेस गरिएको छ । ‘बजेट सभामा पेस भए पनि ब्रेकडाउनको काम सकिएको छैन सूचना अधिकारी चेतप्रसाद अम्गाईले भन्नुभयो, ‘यही ३० गतेभित्र ब्रेकडाउन गरी नगर सभाबाट पास गर्ने योजना छ ।’ 

पालुङटार नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याए पनि पास गर्न बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिनुभयो । उक्त नगरपालिकाले ८३ करोड ८७ लाख २५ हजार रुपियाँ बराबरको बजेट नगर सभामा पेस गरेको छ । ‘बजेट पेस भए पनि नगर सभामा पारित भइसकेको छैन, आवश्यक छलफल र गृहकार्य चलिरहेको छ’ उहाँले भन्नुभयो, ‘२५ गते बस्ने नगर सभामा निर्माणार्थ पेस गर्ने कार्यक्रम छ ।’

आरुघाट गाउँपालिकाले ५८ करोड १६ लाख १७ हजार ७०० रुपियाँ बजेट ल्याएको छ । ‘हामीले नीति तथा कार्यक्रम ल्याइसकेका छौँ, बजेटको काम बाँकी छ’ गाउँपालिका अध्यक्ष राजु गुरुङले भन्नुभयो, ‘२९ गते हुने गाउँ सभामा पेस हुनेछ । सायद त्यही दिन पारित पनि होला ।’ 

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले जिल्लामै पहिलो पटक असार ३ गते नीति तथा कार्यक्रम ल्याएको थियो । तर बजेट ल्याउन बाँकी रहेको गाउँपालिका अध्यक्ष निमा लामाले बताउनुभयो । २५ गते बाट सुरु हुने गाउँ सभामा बजेट पेस गर्ने कार्यक्रम रहेको उहाँको भनाइ छ । 

धार्चे गाउँपालिकाले ४८ करोड ९१ हजार ५०० रुपियाँ बराबरको बजेट ल्याएको छ । तर पास भने हुन बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले बताउनुभयो । ‘१० गते नै नीति तथा कार्यक्रम पास भइसकेको छ । आर्थिक ऐन र विनियोजन ऐन भने पास हुन बाँकी छ’ उहाँले भन्नुभयो, ‘२५ गतेभित्र त्यो पनि पास हुन्छ ।’

गण्डकी गाउँपालिकाले नीति तथा कार्यक्रमसँगै १० गते ६१ करोड ७२ लाख  अनुमानित पेस परेको थियो । तर बजेट भने पास हुन बाँकी रहेको गाउँपालिका अध्यक्ष दीपक तिमिल्सीनाले बताउनुभयो ।