• २० असोज २०८१, आइतबार

बाढीपहिरो पीडितलाई दोस्रो चरणको राहत

blog

सिदिङ्वा गाउँपालिकाका पहिरो प्रभावित परिवारलाई राहत सामग्री वितरण गर्दै रेडक्रस कार्यालय । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, असार १७ गते । नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ शाखाले बाढीपहिरो पीडित परिवारलाई दोस्रो चरणको राहत सामग्री वितरण गरेको छ । गत असार पहिलो साता सिदिङ्वा गाउँपालिकामा गएको बाढीपहिरोबाट पीडित भएका परिवारलाई राहत सामग्री वितरण गरेको हो ।

पहिलो चरणमा त्रिपाल, लत्ताकपडा, भाँडावर्तनजस्ता सामग्री वितरण गरेको रेडक्रस शाखाले दोस्रो चरणमा खाद्यान्नलगायतका सामग्री वितरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका पदाधिकारीसहितको टोलीले पहिरो प्रभावित क्षेत्रमा पुगेर पीडित परिवारलाई राहत सामग्री वितरण गरेको जनाएको छ । 

रेडक्रस जिल्ला शाखाका सभापति इन्द्रबहादुर गुरुङकाअनुसार बाढीपहिरो पीडित परिवारलाई चामल, दाल, खाने तेल, चिनी, चिया, नुन, मसलाजस्ता खाद्यान्न सामग्री वितरण गरिएको छ । यस्तै, भाँडा माझ्ने साबुन, हातधुने साबुनलगायतका सामग्रीसमेत पीडित परिवारलाई वितरण गरिएको सभापति गुरुङले जानकारी दिनुभयो । 

उहाँकाअनुसार सम्बन्धित गाउँपालिका र जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरेर राहत सामग्री वितरण गरिएको छ । रेडक्रस जिल्ला शाखाका कोषाध्यक्ष दिनेश अधिकारीकाअनुसार बाढीपहिरो प्रभावित परिवारलाई पायकपर्ने ठाउँसम्म राहत सामग्री लगेर वितरण गरिएको छ ।

राहत सामग्री सिदिङ्वा गाउँपालिकाका अध्यक्ष मानबहादुर राई, उपाध्यक्ष कृष्णकुमारी कडरियालगायतका जनप्रतिनिधि, अन्य सरोकारवाला समेतको उपस्थितिमा पीडित परिवारलाई वितरण गरिएको कोषाध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।  

गत असार २ गते शनिबार गएको बाढीपहिरोका कारण सिदिङ्वा गाउँपालिकामा मात्र ६९ परिवार प्रभावित बनेका थिए । सो सङ्ख्यामध्ये केही परिवार पूर्णरुपमा घरबारविहीन भएका छन् भने अधिकांश परिवार पहिरो जोखिममा परेका कारण विस्थापित भएका छन् । सोही गाउँपालिकामा बाढीपहिरोमा परी तीन जनाको ज्यान गएको छ । तीन बेपत्ता भएका छन् ।